प्रम ओली र उपराष्ट्रपति सुआनबीच दुई देशको आपसी सम्बन्ध प्रगाढ बनाउन छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।

भेटवार्तामा उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल गरेका छन्।

उपराष्ट्रपति सुआनले प्रधानमन्त्री ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेकी थिइन्।

सो भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदान गर्ने र सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले उल्लेख गरेको छ।

प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शनिबार (७ भदौ) देखि नेपाल भ्रमणमा छिन्। स्मरणीय छ, यो वर्ष नेपाल–भियतनामबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षगाँठ हो।