चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव मात्र होइन, संयुक्त राष्ट्रसंघ (यूएन) स्थापना भएको ८०औं वर्ष पनि हो।
यस्तो निर्णायक समयमा, दोस्रो विश्वयुद्धको पीडादायी अनुभव र फासिवादविरुद्ध प्राप्त कठिन विजयलाई स्मरण गर्नु केवल सही ऐतिहासिक दृष्टिकोणलाई पुनः पुष्टि गर्नु मात्र नभई मानवताका लागि शान्तिपूर्ण, समृद्ध भविष्य निर्माण गर्न आवश्यक ज्ञान र शक्ति संकलन गर्नु पनि हो।
फ्रेडरिक एङ्गेल्सले भनेझैं, इतिहास मानव जातिका लागि सबैथोक हो। इतिहासको ईमानदार मूल्यांकनले नै न्यायको आधारलाई आधार प्रदान गर्छ। दोस्रो विश्वयुद्धमा प्राप्त विजयको नतिजालाई सुरक्षित राख्नु र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्नु न्यायको पक्षमा उभिनु र मानवताको साझा नैतिक जिम्मेवारी पूरा गर्नु हो।
विश्व फासिवादविरोधी युद्ध सीमा, जाति र विचारधाराभन्दा माथि उठेको विश्वव्यापी सङ्घर्ष थियो। २६ मित्रराष्ट्रहरूले गरेको जापानी आक्रमणविरुद्ध प्रतिरोधका लागि एकताको आह्वानदेखि आक्रमणकारी तथा विस्तारवादी शक्तिहरूविरुद्ध लड्ने संयुक्त घोषणासम्म न्यायको रक्षाका लागि हातेमालो गरेका थिए। असाधारण बलिदानमार्फत उनीहरूले शान्तिको पक्षमा अडिग रहन योगदान गरेका थिए।
पूर्वी मोर्चाको प्रमुख युद्धभूमि चीन नै थियो। १९३१ देखि जापानी आक्रमणको प्रत्यक्ष सामना गर्ने पहिलो राष्ट्र चीन नै हो। १४ वर्ष लामो निरन्तर सङ्घर्षमा ३ करोड ५० लाखभन्दा बढी चिनियाँ सैनिक तथा सर्वसाधारण मारिए वा घाइते भए। जापानी सैन्यवादीहरूको मुख्य शक्तिलाई रोकेर र कमजोर बनाउँदै चीनले विश्व फासिवादविरोधी युद्धको विजयमा अमिट ऐतिहासिक योगदान दिएको थियो।
युद्धपश्चातको विश्व व्यवस्था यही विजयबाट जन्मिएको हो। फासिवादविरोधी गठबन्धनको संस्थापक सदस्यका रूपमा चीनले संयुक्त राष्ट्रसंघको स्थापना र घोषणापत्रको मस्यौदामा सक्रिय सहभागिता जनायो। संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखिएको अन्तर्राष्ट्रिय प्रणाली त्यही विजयको प्रत्यक्ष सम्पदा हो, जसले युद्धपश्चात शान्ति सुनिश्चित गर्यो र विश्वव्यापी विकास तथा प्रगतिलाई अगाडि बढायो।
फासिवादविरोधी युद्धको विजय न्यायिक शक्तिको ठूलो विजय थियो। यसले प्रमाणित गर्यो कि अन्धकारमाथि जहिल्यै उज्यालोले विजय प्राप्त गर्छ, अन्ततः न्यायले नै दुष्टमाथि विजय प्राप्त गर्छ।
तर पछिल्ला आठ दशकमा ऐतिहासिक संशोधनवाद बारम्बार देखा परेको छ। गलत कथा फैलाउने, सत्य-असत्यको सीमालाई धमिल्याउने, र युद्धपश्चातको अन्तर्राष्ट्रिय व्यवस्थाको नैतिक आधारलाई कमजोर बनाउने प्रयासहरूले विश्व शान्तिलाई साँच्चिकै खतरामा पारेका छन्।
जापानमा ऐतिहासिक अस्वीकारको चिन्ताजनक पुनरुत्थान अझै कायम छ। युद्ध अपराधीहरूलाई ‘यासुकुनी मन्दिर‘ मा सम्मानपूर्वक राखेर सैन्यवादको महिमामण्डित गर्ने प्रयास अझै भइरहेको छ।
विद्यालयका पाठ्यपुस्तकहरूलाई विकृत पारेर नान्जिङ नरसंहार र ‘कम्फर्ट वुमन’ जबरजस्ती भर्ती लगायतका तथ्यलाई कमजोर वा अस्वीकार गरिँदैछ।
जापानलाई ‘युद्धको पीडित’ का रूपमा प्रस्तुत गर्ने उसले गरेको आक्रमणलाई ‘एशियाको मुक्ति’ भनेर चित्रण गर्ने कथनले युद्धलाई स्वेत बनाउने प्रयासमात्रै गर्छ। यस्ता विकृतिहरूले जापानले गरेको आक्रमणलाई अस्वीकार गर्छन्, ऐतिहासिक सत्यलाई तोडमोड गर्छन् र जिम्मेवारीबाट पन्छिन खोज्छन्। यस्तो कार्यले जापानी आक्रमणबाट पीडित राष्ट्रका जनतालाई गहिरो घाउ पुर्याएको छ।
पछिल्ला वर्षहरुमा युद्धपछिको विश्व व्यवस्थालाई कमजोर बनाउने शक्तिहरू उत्प्रेरित भएका छन्। केही मुलुकहरूले प्रभुत्व र एकपक्षीयताका नाममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिँदै आएका छन्। ‘यूएन चार्टर’ का उद्देश्य र सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई कुल्चिँदै विश्व आर्थिक तथा व्यापारिक स्थिरतालाई अस्थिर बनाइरहेका छन्।
यस्ता कार्यहरू इतिहासले प्रदान गरेका शिक्षामाथि खतरनाक बेवास्ता र मानवताको साझा भविष्यप्रति गम्भीर गैरजिम्मेवारीका उदाहरण हुन्।
इतिहासलाई फेरि लेख्न सकिँदैन, सत्यलाई विकृत गर्नु हुँदैन। दोस्रो विश्वयुद्धको इतिहासलाई तोडमोड गर्नु भनेको मानव सभ्यताप्रतिको विश्वासघात हो, मानव प्रगतिमाथि अवरोध खडा गर्नु हो।
‘द गार्डियन’ ले उल्लेख गरेझैं, मानव जातिले आफ्ना अन्धकारमय अध्यायहरूबाट पाठ सिक्नुपर्छ। यदि यस्ता विकृतिहरू नियन्त्रणबाहिर गएभने इतिहासले आफैंलाई दोहोर्याउने जोखिम हुन्छ।
इतिहासको पाठ स्पष्ट छ, ऐतिहासिक सत्यप्रति दृढ प्रतिबद्धता, दोस्रो विश्वयुद्धको सही बुझार्इ र ऐतिहासिक न्यायको सशक्त संरक्षणमार्फत् मात्र मानव जाति अगाडि बढ्न सक्छ।
दोस्रो विश्वयुद्धको विजयले स्थायी सिद्धान्तहरू स्थापित गरेको थियो, जसले अझै विश्व मामिलालाई मार्गदर्शन गरिरहेको छ। मित्रराष्ट्र र संयुक्त राष्ट्रसंघका संस्थापक सदस्यका रूपमा चीन सधैं ऐतिहासिक सत्यको दृढ पक्षपाती, वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको अटल संरक्षक र वास्तविक बहुपक्षीयताको प्रबल समर्थक रहँदै आएको छ।
चीन सबै राष्ट्रहरूसँग हातेमालो गर्दै इतिहासबाट ज्ञान संकलन गरी मानवताको साझा भविष्य निर्माण गर्न र अझ न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न तयार छ।