उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन्।

ह्वाइट हाउसमा गणतन्त्र कोरियाका राष्ट्रपति ली जे-म्युंगसँगको सोमबार (२५ अगष्ट) को भेटवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष भेटघाटको इच्छा व्यक्त गरेका हुन्।

‘किमसँग मेरो सम्बन्ध निकै राम्रो छ, म फेरि उनीसँग भेटघाटका लागि आतुर छु’ दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘म किमसँग निकै राम्रोसँग मिल्छुपनि। उत्तर कोरियामा उनको देशमा ठूलो सम्भावना छ, अद्भुत सम्भावना।’

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले किमसँग ऐतिहासिक भेटवार्ता गरेका थिए। २०१८ को जुनमा सिंगापुरमा पहिलो पटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच शिखर भेटवार्ता भएको थियो।

उनीहरु बीच फेरि २०१९ फेब्रुअरीमा भियतनामको हनोई र २०१९ जुनमा उत्तर-दक्षिण कोरियाको सीमावर्ती गाउँ पानमुन्जोममा उनीहरूले पुनः भेट गरेका थिए।

ली जे-म्युंग र डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपनि लीबीचको यो भेटवार्ता भने पहिलो हा्े। राष्ट्रपति ट्रम्पले भेटअघि सामाजिक सञ्जालमार्फत् दक्षिण कोरियाली राजनीतिबारे टिप्पणी गर्दै मा ‘शुद्धिकरण वा क्रान्ति’ भएको टिप्पणी गरेका थिए।

उनको यो टिप्पणीलाई अस्पष्ट प्रकृतिको असन्तोषमा रुपमा लिइएको ।

तर, यो टिप्पणीले ‘सहयोगीहरूबीच गलत बुझाइ सिर्जना गरेको’ बताएर ट्रम्पले आफै हटाए।

गत जुलाईमा दुबै मलुकबीच व्यापार सम्झौता भएको थियो। सो सम्झौतामार्फत् दक्षिण कोरियाले आफ्नो निर्यातलाई अमेरिकाको कठोर भन्सार शुल्कबाट जोगाउन सकेको थियो।

तर, आणविक ऊर्जा, सैन्य खर्च र ३५० अर्ब अमेरिकी डलर बराबरको दक्षिण कोरियाली लगानीसम्बन्धी विस्तृत कार्यान्वयनका बारेमा भने दुई मुलुकबीच अझै विवाद जारी छ। खासमा दक्षिण कोरियाली अर्थतन्त्र ठूलो मात्रामा अमेरिकामै निर्भर छ।

भेटका क्रममा राष्ट्रपति लीले अमेरिकाले शान्ति स्थापनामा गरेको प्रयास र ह्वाइट हाउसको सजावटको प्रशंसा गरेका थिए। उनले भनेका थिए, ‘मैले राष्ट्रपति ट्रम्पको १९८७ मा प्रकाशित पुस्तक ‘ट्रम्प : द आर्ट अफ डिल’ पढेर वार्ताको तयारी गर्ने गरेको छु।’

राष्ट्रपति लीले ट्रम्पसँग उत्तर कोरियासँग संवादलाई निरन्तरता दिनपनि प्रोत्साहित गरेका छन्।

दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना हटाइने सम्भावनाबारे पत्रकारहरुले ट्रम्पसँग जिज्ञाशा राखेका थिए।

‘यसबारेमा म अहिले केही भन्न चाहन्नँ’ ट्रम्पको जवाफ थिए, ‘तर जहाँ ठूलो किल्ला रहेको छ, त्यो किल्ला रहेको जमिन अमेरिकाले आफ्नो स्वामित्वमा लिन सक्छ।’

ट्रम्पको यो जवाफलाई जानकारहरुले दक्षिण कोरियामा अवस्थित अमेरिकी सेनाको ठूलो ग्यारेसन रहेको जमिन अमेरिकाले लिनसक्ने सम्भावनाका रुपमा अनुमान गरेका छन्।

यसअघि ट्रम्पले दक्षिण कोरियालाई ‘मनी मेसिन ’ अर्थात् ‘धन कमाउने मेसिन’ को आरोप लगाएका थिए। उनको भनाईको आसय आफ्नो आर्थिक स्वार्थका लागि दक्षिण कोरियाले अमेरिकाको सैन्य सुरक्षाको दुरुपयोग गरिरहेको छ भन्ने थियो।