प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सीसँगको भेट तियान्जिनमा, उपराष्ट्रपति हानसँग बेइजिंगमा

प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ महानगर तियान्जिनमा चिनियाँ राष्ट्रपति सी चिनफिंगसँग भेटवार्ता हुने भएको छ। आगामी अगस्ट ३०-सेप्टेम्बर ३ (१४-१८ भदौ) मा चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्टपति सीसँग ओलीको भेटवार्ता हुन लागेको हो।

चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले बुधबार (११ भदौ) मा विज्ञप्ती जारी गरी औपचारिक जानकारी गराएको छ।

प्रधानमन्त्री ओली तियान्जिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जान लागेका हुन्। एससीओ शिखर सम्मेलन १५-१६ भदौ (३१ अगस्ट-१ सेम्टेम्बर) मा हुँदैछ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले १ सेप्टेम्बर (१६ भदौ) मा ‘एससीओ’ शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यस अवसरमा उनले सहभागी विश्व नेताहरूसँग भेटवार्ता गर्नेछन्।

त्यसक्रममा राष्ट्रपति सी चिनफिङसँग समेत प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ। त्यसपछि बेइजिंग जाने प्रधानमन्त्री ओलीले २ सेप्टेम्बरमा उपराष्ट्रपति हान झेङसँग भेट्नेछन्।

उनी सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध‘ को ८०औं विजय दिवस समारोहमा पनि सहभागी हुनेछ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा श्रीमति राधिका शाक्यका अलावा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री प्रसाद पाण्डे सहभागी हुनेछन्।

यसैगरी कांग्रेस उपसभापतिसमेत रहेका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा तथा उच्चपदस्थ सरकारी अधिकारीहरू पनि भ्रमण दलमा समावेश छन्।

प्रधानमन्त्री ओली ३ सेप्टेम्बर (१८ भदौ) मा स्वदेश फर्कने परराष्ट मन्त्रालयले जनाएको छ।