प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण (१४–१८ भदौ) का क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहित झण्डै आधा दर्जन विदेशी शीर्ष नेताहरुसँग भेटवार्ता हुने भएको छ।
चीनको तियान्जिनमा १५–१६ भदौमा हुने सांघाई कोअपरेशन संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमण भएको हो, जसका लागि उनी शनिबार (१४ भदौ) विहान त्यसतर्फ प्रस्थान गरिसकेका छन्।
तियान्जिनमै रहँदा प्रधानमन्त्री ओलीेले चिनियाँ राष्ट्रपति सी चिनफिंगसँग भेटवार्ता गर्नेछन्। १७ भदौमा बेइजिंग प्रस्थान गर्ने ओलीले त्यसैदिन (२ सेप्टेम्बर) मा चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्।
रुसी राष्ट्रपति पुटिनसँगपनि ओलीको भेटवार्ता हुने भएको छ। पुटिनपनि एससीओ शिखर सम्मेलनमा सहभागिताका लागि चीन जाँदैछन्। तर, ओली–पुटिनबीच भेटवार्ता तियान्जिन वा बेइजिंगमध्ये कहाँ हुन्छ, त्यो यकिन छैन।
एससीओ शिखर सम्मेलनपछि पुटिन र ओली दुबै ३ सेप्टेरम्बरमा बेइजिंगमा आयोजना गरिएको ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध‘’ मा विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुँदैछन्।
सो कार्यक्रमका लागि ओली र पुटिन दुबै बेइजिंग जाने भएकाले दुईबीच भेट बेइजिंगमै पनि हुनसक्छ। अथवा तियान्जिनमै रहँदापनि भेटवार्ताको अवसर मिल्न सक्छ।
नाम उल्लेख गर्न नचाहने परराष्ट्र मन्त्रालयका एक अधिकारीका भनाईमा, रुसी पक्षले राष्ट्रपति पुटिन प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न तयार रहेको जानकारी गराइसकेको छ।
‘पश्चिमाहरुले अहिले रुसलाई अलगावमा पार्ने नीति लिएका छन्, त्यसैले राष्ट्रपति पुटिन एससीओ शिखर सम्मेलनलाई विदेश सम्बन्धलाई फराकिलो पार्न उपयोग गर्ने योजनामा छन्’ ती अधिकारीले भने, ‘त्यसैले, प्रधानमन्त्रीको ओलीको पुटिनसँग सहजै भेट हुने वातावरण बनेको हो।’
यसैगरी कम्बोडियाका राजा नरोद्दम सिहामोनी, भियतनामका राष्ट्रपति लुओङ कुङ, लाओसका राष्ट्रपति थोङलुन सिसौलिथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजुसँगपनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुँदैछ।