किन मनाउनुपर्छ, जापानी आक्रमणविरुद्द विजयको ८० औं वार्षिकोत्सव?

चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नु भएको छ, ‘इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो।’

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहीँ देखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो।

त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ मा जापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान् र फङ् ह द्वीपसमूह माथि कब्जा जमायो। सन् १९०० मा अरु विदेशी आक्रमणकारीहरुसँगै पेइचिङ्गमा आक्रमण गरे।

१९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भू-भागमाथि अतिक्रमण गर्यो। १९१४ मा छिङ्गताओ शहरमा आक्रमण गरी कब्जा जमायो। सन् १९१५ मा चीनको अधिकार हनन हुने ‘एक्काइस दावी’ प्रस्तुत गर्यो। १९३१ मा चिनियाँ सेना र जापानी सेनाबीच द्वन्द्व हुने सेप्टेम्बर १८ को घटना गराएर चीनको सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रमा आक्रमण गरी कब्जा जमायो।

सन् १९३५ मा मध्य-उत्तर चीन घटना र १९३७ जुलाई ७ मा यु यान् फिङ काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुलमाथि आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो।

उनीहरुले पुरै चीनलाई उपनिवेश बनाए। त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्वशक्ति बन्ने सपना देखेका थिए। यी शृङ्खलाबद्ध असभ्य-जङ्गली कार्यहरुले गर्दा चिनियाँ जनतामाथि अभूतपुर्व सङ्कट आइलाग्यो। त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो।

देश र जाति जीवन मरणको दोसाँधमा पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोध युद्धलाई दिशानिर्देश गर्यो।

सम्झौता, विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो।

त्यसबेला सोभियत संघ, अमेरिका, कोरिया, भियतनाम, क्यानाडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अष्ट्रिया, रोमानिया, बुल्गेरिया आदि देशका फासिस्ट विरोधी योद्धाहरुले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित भई चीनलाई अति बहुमूल्य समर्थन र सहयोग दिए।

नेपाली वीरहरु पनि त्यो बेला युरोप, उत्तर अफ्रिका र दक्षिण–पूर्वी एसियाका युद्धस्थलहरुमा सहयोगी सेनाहरुसँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए।

केही दिनअघि मात्र नेपालस्थित ब्रिटिश राजदुतावासले जापानी सेनाले सहयोगी सेना समक्ष आत्मसमर्पण गरेपछि जापन माथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ। पोखरामा ब्रिटिश गोर्खाली सेनाले परेडको पनि आयोजना गरेको थियो।

दोस्रो विश्व युद्धको समयमा ब्रिटिश सेनामा नेपाली–गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग एकसाथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु।

यो सत्य र विश्वशान्तिका निम्ति नेपालले पुर्याएको अद्वितीय योगदान हो। साथै चिनियाँ र नेपाली जनताले आलो रगतको माध्यमबाट जोडेको अनमोल मैत्री पनि हो।

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले चिनियाँ जनताले विश्वका जनतासँगै फासिष्ट शक्तिलाई पूर्णरुपले परास्त परे, जापानी सैन्यवादी आक्रमणकारीहरु लाई पूर्णरुपले पराजित गरे। चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरु विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो।

अन्ततः अन्धकारमाथि उज्यालोको, प्रतिगमन माथि प्रगतिको विजय भयो। आफ्नो लाश बाट ‘ग्रेट वाल’ निर्माण गर्नपनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो।

यो कहालिलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ?

कुनै जातिको अस्तित्व र उन्नतिको आधार भनेको सङ्घर्षको स्पिरिट हो। जापानी आक्रमण विरुद्धको युद्धका क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको भावना विकास भयो। चिनियाँ जनताले विश्व समक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेदारी रहेको हुन्छ भन्ने राष्ट्रवाद मृत्युलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्न परेपनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परेपनि नहट्ने जति दुख सहनु परे पनि नछोड्ने विजय प्रतिको आत्मविश्वास प्रस्तुत गरे।

फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनता सबै जुक्ति सोचे , तर कहिले पनि आत्मसमर्पण गर्ने सोचेनन्।

जापानसँगको युद्धका क्रममा चिनियाँ जनमुक्ति सेना चीनको हेवेई प्राप्तको ग्रेटवालमा, सन् १९३८ । फोटो : एजेन्सी

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ- आक्रमणमा परेकाहरुले आत्मसमर्पण गरेपनि आक्रमणकरीहरुले नरसंहार गर्न सक्दैनन्, युद्धका निम्ति साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनेर चामत्कारिक रुपमा सफल हुने एकमात्र उपाय हो।

देश धनी जनता बलियो हुनु नै देशको सुरक्षाको भौतिक आधार हो। राष्ट्रपति सी चिनफिङले भन्नु भएको छ, ‘पछाडि पर्नेहरुले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ।’

फासिष्ट युद्धवादले विना हिच्किचाहट छिमेकी देशहरुमा आक्रमण गर्ने साहस गर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुको भन्दा सुदृढ भएर नै हो। आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिको अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र तिनको शक्तिको आधारमा अरु देशहरुले तिनीहरुसँग व्यापार गर्ने कुराको वकालत गरेको पाइन्छ। यसबाट ‘युद्धको भूत’ अझै पनि विश्वबाट हराइ सकेको छैन भन्ने प्रमाणित हुन्छ।

चिनियाँ जातिले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्वबारे गहिरोगरी बुझेको छ। आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्दछ। चीनको हरेक पुस्ताले मेहनत गरी महान् उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन्।

मैले बारम्बार भन्ने गरेको छु- नेपालले अहिले सामना गरिरहेका विकास सम्बन्धि हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ , चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनैपनि समय आत्मविश्वासले भरिपूर्ण हुनेछ।

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीहरुले चीनको नान्चिङ्गमा आक्रमण गरी ६ हप्ता भन्दा लामो अवधि आगजनी , बलात्कार, लुटपाट, नरसंहार जस्ता अत्याचार गरे। त्यसमा परी कम्तिमा ३ लाख चिनियाँ जनताको ज्यान गयो। नान्चिङ्ग नरसंहारको त्यो दुखद इतिहासलाई पृष्ठभूमि बनाएर हालसालै निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘नान्चिङ्ग फोटो स्टुडियो’ प्रदर्शन भइरहेको उक्त चलचित्र हेरेपछि दर्शकहरुले दुख र रिस सहन सकेनन्, धेरै दर्शकहरुले आँसु बगाए। यस प्रकारको पीडाले मानिसहरुलाई सास फेर्न समेत गाह्रो भएको अनुभव गराउँछ।

चिनियाँ जातिले जापानी आक्रमणको दुख र सङ्कट झेलिसकेको हुँदा शान्ति कत्ति महत्त्वपूर्ण छ, समानताका आधारमा अरुको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ। चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरु कुनै देशमाथि लाद्ने छैन, कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन, विस्तारवादी नीति अपनाउने छैन, प्रभावक्षेत्र बनाउन खोज्ने छैन। चिनियाँ शैलोको आधुनिकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो।

उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्ने छ भन्ने गलत सोचाइबाट यो पूर्णरुपले मुक्त छ। यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो।

हामी नेपाल लगायत विश्वका सम्पूर्ण देशहरुसँग संयुक्त रुपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौँ, विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौँ।

फ्रेन्च इतिहासकार अन्टोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा उल्लेख गरेका छन्, ‘इतिहासका अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना घटे र के कारणले घटे, त्यसवारे बुझ्नका निम्ति हो।’

इतिहासलाई बिर्सनेले अवस्य पनि पहिलेकै गल्ती दोहोर्याउने छ। इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि।

यस वर्ष हामीले ‘चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिष्ट विरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव’ धुमधामका साथ मनाउदैछौँ। यसबाट हाम्रो शान्तिप्रतिको तीब्र इच्छा प्रकट भएको छ। हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य–मान्यता निर्माणका लागि सहयोग गर्नेछौँ। यो अवश्यपनि एक पवित्र एवं महान् कार्य हो।

हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाहरुले अवश्यपनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा, संयुक्त रुपमा मानवजातिको साझा भविष्यको निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मा र मिशन पूरा गर्नेछन्।