रुसले युक्रेनको राजधानी किभमाथि हालसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। आइतबार ९२२ भदौ० रुसले गरेको रात्रीकालीन हवाई आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ भने राजधानी किभमा रहेका मुख्य सरकारी भवनमा आगलागी भएको छ।
मृत्यु हुनेमा एकजना बालक र महिला छन्। बालकको शव भग्नावशेषबाट निकालिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्।
‘राजधानी किभमा पहिलो पटक सरकारी भवन शत्रुको प्रहारबाट क्षतिग्रस्त भएको छ, आक्रमणले भवनको छाना र माथिल्लो तलालाई असर पुर्याएको छ’ युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राम सन्देशमार्फत् भनेकी छन्, ‘उद्धारकर्मीहरूले आगो निभाइरहेका छन्।’
पेचर्स्की जिल्लामा रहेको सरकारी भवनको माथिल्लो तलामा आगलागी भएको र बाक्लो धुवाँ नीलो आकाशमा उडिरहेको आफ्ना सम्वाददाताहरुले आइतबार विहानै देखेको रोयटर्सले उल्लेख गरेको छ।
युक्रेनको वायुसेनाले टेलिग्राममार्फत् जानकारी दिँदै भनेको छ कि रूसले रातभर ८०५ ड्रोन र १३ मिसाइल प्रक्षेपण गरेको थियो। युक्रेनी रक्षा इकाईहरूले ७५१ ड्रोन र चारवटा मिसाइल खसाल्न सफल भएको दावी गरेका छन्।
यो संख्या २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेपछि भएको सबैभन्दा ठूलो ड्रोन आक्रमण हो।
किभका सैनिक प्रशासन प्रमुख तिमुर तकाचेंकोले बताएअनुसार, दार्नित्स्की जिल्लामा क्षतिग्रस्त भएको चारतले भवनको भग्नावशेषबाट एक शिशुको शव निकालिएको छ। उक्त क्षेत्रको पूर्वी दिनिप्रो नदीको किनारमा बसोबास गर्ने एक युवतीको पनि मृत्यु भएको उनले उल्लेख गरेका छन्।
आपतकालीन सेवाका अधिकारीहरूका अनुसार, आक्रमणका कारण सहरभर आगलागी भएको छ र त्यसक्रममा १८ जना घाइते भएका छन्।
मस्कोले आक्रमणबारे तत्काल प्रतिक्रिया दिएको छैन।
यसअघि कीभका मेयर भिताली क्लिच्कोले दार्नित्स्की जिल्लामा एक बृद्ध महिलाको बमबाट जोगिन निर्माण गरिएको आश्रयस्थलमा मृत्यु भएको र घाइतेमध्ये एक गर्भवती महिला पनि रहेको बताएका थिए।
सरकारी अधिकारीहरूले भनेका छन् कि सोही जिल्लामा चारतले आवासीय भवनका दुई तलामा आगलागी हुँदा त्यसको संरचना आंहिक रुपमा क्षतिग्रस्त भएको छ।
पश्चिमी क्षेत्रमा रहेको स्भियातोशिन्स्की जिल्लास्थित नौतले आवासीय भवनका केही तलाहरूपनि आंशिक रुपमा ध्वस्त भएका छन्।
रुसले प्रहार गरेका ड्रोनका अवशेषका कारण १६तले एक अपार्टमेन्ट भवनमा आगलागी भएको थियो। त्यसबाहेक थप दुई नौतले भवनमा पनि क्षति पुर्याएको मेयरले उल्लेख गरेका छन्।
यो आक्रमणपछि युक्रेनकी प्रधानमन्त्री स्विरिडेन्कोले पुन विश्व समुदायसमक्ष युक्रेनका लागि थप हतियार उपलब्ध गराउन र विश्व समुदायलाई रूसी आक्रमणको प्रतिवाद गर्न आह्वान गरेकी छन्।
सरकारको आपतकालीन सेवाले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेको छ, जसमा केही अपार्टमेन्ट भवनहरूबाट धुवाँको मुस्लो उडिरहेको, भवनका कतिपय तलाहरू खसेको र र अगाडिका पर्खाल भत्किएको देखिन्छ।
कीभका सैनिक प्रमुख तकाचेंकोले टेलिग्राममार्फत भनेका छन् कि, रूसले जानाजान नागरिक संरचनाहरूलाई लक्षित गरिरहेको छ।
युक्रेनको मध्य शहर क्रेमेन्चुकमा पनि दर्जनौं विस्फोट भएको थियो, जसले कतिपय क्षेत्रमा बिजुली काटिएको छ भने दिनिप्रो नदीमाथिको पुल क्षतिग्रस्त भएको मेयर भिताली मालेत्स्कीले बताएका छन्।
मध्य युक्रेनकै क्रिभी रिह शहरमा पनि रूसी आक्रमण भएको छ। यातायात र शहरी पूर्वाधारलाई लक्षित गरेर गरिएको सैनिक प्रशासन प्रमुख अलेक्जान्द्र भिल्कुलले बताएका छन्।
त्यहाँ भने कसैको मृत्यु वा घाइते भएको खबर छैन।
दक्षिणी शहर ओडेसामा नागरिक पूर्वाधार र आवासीय भवन क्षतिग्रस्त भएका छन्। त्यसक्रममा केही अपार्टमेन्ट भवनमा आगलागी भएको क्षेत्रीय गभर्नर ओलेह किपरले जनाएका छन्।
पश्चिमी युक्रेनमा रुसी हवाई आक्रमणको खतरा बढेपछि पोल्याण्डले आफ्ना र सहयोगी राष्ट्रका विमान परिचालन गरी सुरक्षाको व्यवस्था मिलाएको पोलिश सेनाको परिचालन कमाण्डले उल्लेख गरेको छ।