जेरुसेलम/ गाजा युद्ध लगातार जारी छ। तर यस्तो देखिँदैछ कि इजरायल अन्तर्राष्ट्रिय रुपमा अलग–थलग हुने अवस्थातर्फ अघि बढिरहेको छ।
के इजरायल दक्षिण अफ्रिकाु को रंगभेदकालीन अवस्थाजस्तै दिशातर्फ बढिरहेको हो?
त्यो बेला दक्षिण अफ्रिका राजनीतिक दबाबसँगै आर्थिक, खेलकुद र सांस्कृतिक बहिष्कारका कारण दक्षिण अफ्रिकाले आफ्नो रंगभेदी नीति त्याग्न बाध्य भएको थियो।
अन्तर्राष्ट्रिय आपराधिक अदालतको वारेन्ट
अन्तर्राष्ट्रिय अपराध अदालत (आइसीसी) द्वारा जारी वारेन्टका कारण नेतन्याहू अब बिनाडर यात्रा गर्न सक्ने मुलुकहरूको संख्या निकै कम भइसकेको छ।
संयुक्त राष्ट्रसंघका सदस्य रहेका बेलायत, फ्रान्स, अष्ट्रेलिया, बेल्जियम र क्यानाडासहितका धेरै देशहरूले घोषणा गरेका छन् कि उनीहरू अर्को हप्ता प्यालेष्टाइनलाई एक स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने योजना बनाइरहेका छन्।
खाडी मुलुक कतारमा गत मङ्गलबार इजरायली आक्रमणबाट हमास नेताहरू मारिएपछि दोहामा भेला भएका नेताहरूले यसबारे छलफल गरेका छन्।
यीमध्ये केही मुलुकहरूले इजरायलसँग सम्बन्ध रहेका मुलुकहरूलाई यसबारे पुनर्विचार गर्न अपील गरेका छन्।
तर गाजाबाट भोकमरीका दर्दनाक तस्वीरहरू बाहिर आएसँगै र इजरायली सेनाले गाजा शहरमाथि आक्रमणको तयारी गरिरहेका बेला युरोपका थप मुलुकहरु आफ्नो प्रत्यक्ष असन्तुष्टि प्रकट गरेका छन्। अब उनीहरु केवल वक्तव्यमा सीमित छैनन्।
बेल्जियमको कदम
सेप्टेम्बरको सुरुवातमा बेल्जियमले इजरायलमाथि प्रतिबन्धहरूको श्रृंखला घोषणा गर्यो। त्यसमध्ये वेस्ट बैंकका अवैध यहुदी वस्तीबाट आयातमा रोक, इजरायली कम्पनीहरूसँग सरकारी खरिद नीतिको पुनरावलोकन, प्यालेष्टिनी वस्तीहरुमा बसोबास गर्ने बेल्जियम नागरिकलाई कन्सुलर सहयोगमा रोक लगायत छन्।
त्यसबाहेक बेल्जियमले इजरायलका दुई कट्टरपन्थी मन्त्रीहरु इतामार बेन–ग्विर र बेजेलेल स्मोट्रिचका साथै वेस्ट बैंकमा प्यालेष्टिनीहरुमाथि हिंसात्मक व्यवहार गर्ने यहूदीहरूलाई ‘अवाञ्छित व्यक्ति’ घोषित गरेको छ।

बेलायत र फ्रान्ससहित केही मुलुकहरूले यसअघि नै यस्तै कदम चालिसकेका छन्।
तर गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले वेस्ट बैंकमा हिंसात्मक व्यवहार गर्ने यहूदीहरूमाथि लगाएका प्रतिबन्धह डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएपछि पहिलो दिन नै हटाएका थिए।
बेल्जियमको कदमको एक हप्तापछि नै स्पेनले पनि आफ्नो तर्फबाट केही कदमहरु घोषणा गरेको छ। तिनमा हाल कायम रहेको हतियार प्रतिबन्धलाई वास्तविक रपमा कानुनी रूप दिने, आयात आंशिक प्रतिबन्ध, गाजाको नरसंहार वा युद्ध अपराधमा संलग्न व्यक्तिलाई स्पेन प्रवेशमा रोक, इजरायलका लागि हतियार बोकेर जाने जहाज र विमानलाई स्पेनका बन्दरगाह र हवाई क्षेत्रमा प्रवेशमा रोक लगायत छन्।
इजरायलका विदेशमन्त्री गिडोन सारले स्पेनमाथि यहूदीविरोधी नीतिहरू अघि बढाएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘हतियार व्यापारमाथिको प्रतिबन्धले इजरायलभन्दा बढी क्षति स्पेनलाई पुर्याउनेछ।’
इस्रायलका लागि चिन्ताजनक संकेत
प्यालेष्टिनीहरुको समर्थनमा प्रदर्शनहरू युरोपका विभिन्न शहरमा भइरहेका छन्। यी घटनाहरु इजरायलका लागि चिन्ताजनक संकेत हुन्।यी मुलुकहरूले गाजामा युद्ध रोक्न आग्रह गरेका छन्।
बेलायत, फ्रान्स र जर्मनीसँगै अमेरिकाले पनि इजरायलका लागि कूटनीतिक समर्थनमा पहिले नै कमी ल्याइसकेको छ। तर बेन्जामिन नेतन्याहुको सरकार र उनको गठबन्धनका नेताहरूले यसलाई अस्वीकार गर्दै आएका छन्।
युरोपेली संघका परराष्ट्र मन्त्रीहरूले यसै साताको सुरुवातमा इजयरालसँगको ‘विशेष सम्बन्ध’ लाई पुनरावलोकन गर्नेमा सहमति जनाइसकेका छन्। युरोपेली संघभित्रका केही मुलुकहरूले भने इजरायलविरुद्ध अझ कडा कदम चाल्नुपर्ने माग गरिरहेका छन्।

‘गाजामा भइरहेको घटनाले हाम्रो मूल्य–मान्यतालाई नै प्रश्नमा पारेको छ’ फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले भनेका छन्, ‘अब हामी यसलाई सामान्यजस्तो ठानेर अघि बढ्न सक्दैनौं।’
अरब र मुस्लिम देशहरूको भूमिका
इजरायलका लागि अर्को चिन्ताजनक पक्ष भनेको अरब र मुस्लिम मुलुकहरूबीच बढ्दो सहकार्य हो।
गत महिना इजिप्टको कायरोमा भएको एक सम्मेलनमा साउदी अरब, इजिप्ट, जोर्डन, टर्की, इरान र पाकिस्तानका नेताहरूको एकै ठाउँमा जमघट भयो।
जमघटमा नेताहरूले गाजामा भएको इजरायली आक्रमणलाई ‘मानवता विरुद्धको अपराध’ भन्दै त्यसको अन्त्य तत्काल हुनुपर्ने माग गरे।
कतार र टर्कीले प्यालेष्टिनीहरुको राजनीतिक प्रतिनिधित्व गर्ने प्रयासलाई सक्रिय समर्थन गरिरहेका छन्।
साउदी अरबले अझै इजरायलसँगको सम्बन्ध सामान्य बनाउने प्रयासलाई पूर्ण रूपमा स्थगित गरेको छैन। तर वर्तमान अवस्थामा यस्तो सम्भावना अब धेरै कम देखिन्छ।
अमेरिकासँगको सम्बन्ध
ट्रम्पले गत वर्ष सत्ता सम्हालेपछि इजरायललाई सार्वजनिक रूपमा सहयोग गर्ने संकेत दिएका थिए। तर गाजामा इजरायली सेनाको कारवाही र मानवीय संकटका कारण अमेरिकी कांग्रेस भित्र पनि असन्तुष्टि बढ्दै गएको छ।
यसबीच बेन्जामिन नेतन्याहूको सरकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि सम्बन्धमा तिक्तता बढ्दै गएको छ।
अमेरिकाको डेमोक्रेटिक पार्टीका धेरै सांसदहरूले प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनुपर्ने आवाज उठाइरहेका छन्।
अलग-थलग इजरायल
यी सबै घटनाक्रमले के संकेत गर्छ? के इजरायल अब साँच्चै रंगभेदकालिन दक्षिण अफ्रिकाको जस्तै अवस्थामा पुग्दैछ? के उसलाई अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक, आर्थिक र सांस्कृतिक रूपमा अलगावमा पार्दैछ?
वा नेतान्याहु र उनका दक्षिणपन्थी सहयोगीहरू सबै दबाबलाई बेवास्ता गर्दै आफ्नो लक्ष्यमा अडिग रहन सक्लान्,
अहिलेसम्मको अवस्थाले कम्तीमा एउटा कुरा स्पष्ट पारेको छ। त्यो हो, गाजाको युद्धले इजरायललाई अन्तर्राष्ट्रिय समुदायभित्र पहिले भन्दा बढी आलोचना, बहिष्कार र दबाबको सामना गर्न बाध्य बनाएको छ।