सिन्जियाङ-उइगुर स्वायत्त प्रदेश स्थापना भएको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा राजधानी उरुम्चीमा विहीबार आयोजित भव्य समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहभागिता जनाएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी मंगलबार (७ असोज) मा केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिन्जिजियाङ पुगेका थिए। सन् २०१२ मा आयोजित सीपीसीको १८औँ राष्ट्रिय महाधिवेशनयता यो उनको चौथो सिन्जियाङ भ्रमण हो।
यसरी मनाइयो वार्षिकोत्सव
सत्तरीऔँ वार्षिकोत्सव कार्यक्रम बिहान करिब १०ः३० बजे सुरु भएको थियो। कार्यक्रममा सीपीसी केन्द्रीय समिति, राष्ट्रिय जनप्रतिनिधि कांग्रेस स्थायी समिति, राज्य परिषद्, चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समिति र केन्द्रीय सैन्य आयोगको संयुक्त बधाई सन्देश पढेर सुनाएको थियो।
सन् १९५५ को अक्टोबर १ मा सिन्जियाङ उइगुर स्वायत्त प्रदेशको औपचारिक स्थापना भएको थियो। यो आज उत्तर–पश्चिम चीनमा विभिन्न जातजातिका २६ मिलियन (दुई करोड ६० लाख) भन्दा बढी जनसंख्यासहितको क्षेत्र बनेको छ। यसलाई यस क्षेत्रको विकासमा एक ऐतिहासिक कोसेढुंगा (माइलस्टोन) र सीपीसीको जातीय मामिलासम्बन्धी नीतिहरूको सफल कार्यान्वयनको प्रमाणका रुपमा लिइन्छ।
समारोहलाई सम्बोधन गर्दै सीपीपीसीसी अध्यक्ष तथा केन्द्रीय प्रतिनिधिमण्डल प्रमुख वाङ हुनिङले विगत सात दशकमा सिन्जियाङले हासिल गरेका उपलब्धिहरू पार्टीको नेतृत्व, समाजवादी व्यवस्थाको बलियोपन र चिनियाँ विशेषतायुक्त जातीय मामिलाको सही दृष्टिकोणको जीवन्त उदाहरण भएको बताए।
‘सिन्जियाङले बाँकी चीनसँगै गरिबीविरुद्धको युद्ध जितेको छ र सर्वाङ्गीण रुपमा मध्यम समृद्ध समाज निर्माण सम्पन्न गरेको छ’ वाङले भने, ‘सिन्जियाङमा जातीय एकता अझ मजबुत भएको छ र चिनियाँ राष्ट्रप्रतिको सामूहिक पहिचानको भावना पनि सबल भएको छ।’
सिन्जिजियाङले चिनियाँ आधुनिकीकरणमा आफ्नै अध्याय लेख्दै गएको बताउँदै वाङले पार्टीको समग्र नेतृत्वलाई निरन्तर सबल बनाउन, सामाजिक स्थिरता कायम गर्न, चिनियाँ राष्ट्रको एकता सुरक्षित गर्न, जनकल्याणलाई केन्द्रमा राखेर उच्च गुणस्तरको विकास प्रवर्द्धन गर्न, सुधारलाई गहन बनाउन र खुलापनलाई विस्तार गर्ने आह्वान गरे।
सिन्जियाङको स्थिरता र एकता सजिलै प्राप्त नभएको बताउँदै उनले यसलाई मूल्यवान सम्पत्ति मानेर जोगाउन पनि आव्हाान गरे।
यस क्षेत्रको शान्ति, एकता र स्थिरतालाई अझ मजबुत बनाउन, सामाजिक शासनलाई सबल र नवीन बनाउन, र दीर्घकालीन शान्ति तथा सुरक्षाको लागि बलियो पर्खाल निर्माण गर्नपनि उनले आव्हान गरे।
अविस्मरणीय अनुभव
बाचु काउन्टी (कासगर) की एक बाल स्कूलकी प्रिन्सिपल अमिरागुल अब्दुले सो कार्यक्रमका क्रममा आफ्नो अनुभव सुनाइन्।
उनले सम्झिन्, पहिलो पटक काम गर्दा सो बालस्कूल माटो र इटाले बनेको भवनमा सीमित थियो। स्कूलमा सुविधा अत्यन्त सामान्य थिए र यहाँ पढ्ने धेरै बालबालिकाहरु खेतमै खेल्न बाध्य थिए।
‘तर, आज सिन्जियाङका ग्रामीण क्षेत्रमा सबै पूर्व-प्राथमिक उमेरका बालबालिकाले तीन वर्षको निःशुल्क शिक्षा पाउँछन्’ उनी भन्छिन्, ‘गाउँमा बालस्कूलका भवनहरु नै सबैभन्दा सुन्दर छन्।’
उनको भनाई,मा परिवर्तन केवल पूर्वाधारमा मात्र सीमित छैन। विगत केही समययता सिन्जियाङ सहयोग कार्यक्रममार्फत् यहाँका बालबालिका भिडियोमार्फत् हजारौं किलोमिटर टाढाका साथीहरूसँग भिडियोमार्फत जोडिएका छन्, यसमार्फत् उनीहरूले गाउने, नाच्ने र क्यालिग्राफी अभ्यास गर्ने गरेका छन्।
यसले चिनियाँ राष्ट्रप्रतिको सामूहिक चेतना उनीहरूको मुटुभित्रै रोपिँदै गएको उनले बताइन्।
उरुम्चीका बस चालक गु सियाङफेङले आफ्नो ३० वर्षभन्दा बढीको पेशागत यात्रामा शहरको द्रुत विकास आफ्नै आँखाले देखेको बताए।
‘पहिले शहरका सडकहरू प्रायः ग्राभेल गरिएकामात्र हुन्थे, पानी परेपछि हिलोमा परिणत हुन्थ्यो, तर आजकल ती उबडखाबड हिलाम्मे बाटाहरू समतल र बलिया राजमार्गमा परिणत भएका छन्’ उनले भने, ‘पुराना बसहरूलाई हरित ऊर्जा ९नयाँ ऊर्जा० सवारीले प्रतिस्थापन गरेका छन्, यसले जनताको आवतजावतलाई निकै सहज बनाएको छ।’
उनले थपे, ‘आगामी दिनमा पनि म निरन्तर स्टेयरिङ समातिरहनेछु, हरेक किलोमिटर सुरक्षित यात्रा गर्नेछु’ उनले भने, ‘प्रत्येक यात्रुलाई मनदेखि सेवा गर्नेछु र आधुनिक समाजवादी सिन्जियाङ निर्माणमा मेरो सम्पूर्ण शक्ति योगदान गर्नेछु।’
राष्ट्रपति सी बेइजिङ प्रस्थान
राष्ट्रपति सी चिनफिङ बिहीबार ७०औँ वार्षिकोत्सव समारोहमा सहभागितापछि उरुम्चीबाट बेइजिङ फर्किएका छन्।
उनको निर्देशनअनुसार, वाङ हुनिङको नेतृत्वमा केन्द्रीय प्रतिनिधिमण्डलले आइतबारसम्म सिन्जियाङका विभिन्न स्थानको भ्रमण गर्नेछ र यहाँका सबै जातजाति र विभिन्न क्षेत्रका जनतासँग भेटघाट गर्नुका साथै शुभकामना आदानप्रदान गर्नेछ।