पोर्चुगलको राजधानी लिस्बनमा स्थापित नेपाली राजदूतावास भवनको विहीबार औपचारिक उद्घाटन भएको छ।
परराष्ट्रसचिव अमृतबहादुर राई र पोर्चुगलकी परराष्ट्र तथा सहकार्य राज्यमन्त्री आना इसावेल जेभियरले संयुक्त रुपमा दूतावास भवन उद्घाटन गरेका हुन्।
उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव राईले पोर्चुगल सरकारद्वारा दूतावासको स्थापना प्रक्रियामा प्रदान गरिएको निन्तर सहयोग र सहजीकरणप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार, राज्यमन्त्री डा. आना इसाबेल जेभियरले पोर्चुगलमा नेपाल दूतावासलाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै दूतावासको सञ्चालनका लागि पोर्चुगल सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएकी थिइन्।
लिस्बनस्थित कूटनीतिक नियोगका डिन मोस्ट रेभरेन्ड अपोस्टोलिक नुनसियोले दूतावासलाई लिस्बनमा कूटनीतिक नियोगको नयाँ सदस्यका रूपमा स्वागत गरेका थिए।

पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले शिष्ट अतिथिहरूलाई स्वागत गर्दै दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सेतुको भूमिका निर्वाह गर्ने बताएका थिए।
उक्त समारोहमा पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, पोर्चुगल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू, कूटनीतिक नियोगका सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

लिस्बनस्थित नेपाली दूतावासले १६ अप्रिल २०२५ देखि आफ्नो औपचारिक कार्य सञ्चालन प्रारम्भ गरेको हो।