
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशको हुने भएको छ। तर, द्विपक्षीय कुटनीतिक भ्रमणका रुपमा भने होइन।
खासमा बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बंगलादेश नेसन्यासिष्ट पार्टी (बीएनपी) पार्टीकी अध्यक्ष वेगम खालिदा जियाको अन्त्येष्टी कार्यक्रममा सहभागिताका लागि परराष्ट्रमन्त्री शर्माको बंगलादेशमा भ्रमण हुन लागेको हो।
नेपाली सेनाका अवकासप्राप्त रथी शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार (११ पुष) परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्। चुनाव आउन साढे दुई महिनामात्र बाँकी रहँदा लामो समयदेखि खालि रहेको परराष्ट्रमन्त्रीको जिम्मेवारीमा शर्माको नियुक्ति भएको थियो।
शर्मा परराष्ट्रमन्त्रीका रुपमा कार्यभार सम्हालेको एक सातापनि नपुग्दै मंगलाबार विहान पूर्व प्रधानमन्त्री जियाको बंगलादेशको राजधानी ढाकास्थित इभरकेयर अस्पतालमा निधन भएको थियो।
बंगलादेशको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी बेगम जिया लामो समयदेखि विमार अवस्थामा थिइन्।
आफ्नो पूर्व प्रधानमन्त्री एवं पहिलो महिला प्रधानमन्त्रीको निधनमा बंगलादेशको सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ भने बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिँदैछ।
परराष्ट्रमन्त्री शर्माले नेपालको तर्फबाट पूर्व प्रधानमन्त्री जियाप्रति श्रद्धान्जली र सम्मान प्रकट गर्नेछन्।
‘परराष्ट्रमन्त्री शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बीएनपीकी अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टी कार्यक्रममा सहभागिताका लागि आज ढाका प्रस्थान गर्दै हुनुहुन्छ’ परराष्ट्र मन्त्रालयका प्रवक्ताले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘त्यहाँ उहाँले नेपाल सरकार र नेपाली जनताको तर्फबाट स्व. जियाप्रति सम्मान प्रकट गर्नुहुनेछ।’
विज्ञप्तीबका अनुसार परराष्ट्रमन्त्री शर्माका साथमा मन्त्रालयका वरिष्ठ अधिकारीपनि हुनेछन्। मन्त्री शर्मा विहीबार (१७ पुष) स्वदेश फर्कनेपनि मन्त्रालयले उल्लेख गरेको छ।