अमेरिकी आक्रमणको जोखिम बढेसँगै नेपालीहरुलाई छिटो इरान छाड्न परराष्ट्र मन्त्रालयको सल्लाह

इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई छिटो भन्दा छिटो सो मुलुक छाड्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

इरानमाथि अमेरिकी आक्रमणको जोखिम बढेसँगै मन्त्रालयले आइतबार यात्रा सम्बन्धी सल्लाह (ट्राभल एडभाइजरी) सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयले १३ जनवरी (२९ पुष) मा पनि इरानमा रहेका नेपालीहरुका लागि यात्रा परामर्श जारी गरेको थियो।

तीन हप्ता पुग्दा–नपुग्दै परराष्ट्र मन्त्रालयले पुनः इरान नजान र कोही नेपाली त्यहानँ भए छिटो इरान छाड्न सल्लाह दिएको हो।

खतरा बढेसँगै ‘निर्देशनात्मक’ सल्लाह
मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘इरानमा पछिल्लो समय जे–जस्ता घटना विकसित भइरहेका छन्, यसमध्ये पछिल्ला घटनाक्रमको सन्दर्भमा परिस्थिति सामान्य नहुञ्जेलसम्म इरान भ्रमण गर्ने योजना छ भने त्यो योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयको सल्लाह दिइन्छ।’

यदि कुनै नेपाली नागरिक इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका छन् भने ती नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यम प्रयोग गरी यथाशीघ्र देश छाड्नपनि मन्त्रालयले अनुरोध गरेको छ।

इरानस्थित नेपाली नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा देश छाड्न सक्ने गरी यात्रा सम्बन्धी कागजातहरू (राहदानी र परिचयपत्र) तयारी अवस्थामा राख्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

अमेरिकी आक्रमणको जोखिम बढेसँगै मन्त्रालयले गत १३ जनवरी (२९ पुष) यात्रा परामर्श (ट्राभल एडभाइजरी) जारी गरेको थियो। यसपटकको विज्ञप्तीमा त्यो यात्रा परामर्श अवलोकन गर्नसमेत मन्त्रालयले सल्लाह दिएको छ।

दुई विज्ञप्तीमा फरक
त्यसो त, दुबै विज्ञप्ती इरानमाथि अमेरिकी आक्रमणको जोखिम बढेसँगै जारी भएका हुन्। तर, यसपटक जारी विज्ञप्तीबाट साँच्चिकै अमेरिकी इरानमाथि अमेरिकी आक्रमण हुनै लागेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।

जस्तो, २९ पुषको विज्ञप्तीमा अहिलेजस्तो चाँडोभन्दा चाँडो सो मुलुक छाड्ने ‘जरुरी सल्लाह’ मन्त्रालयले दिएको थिएन। मात्र सुरक्षात्मक उपाय अपनाएर बस्न मन्त्रालयले सल्लाह दिएको थियो।

पहिलेको विज्ञप्तीमा भनिएको थियो, ‘हाल इरानमा बसोबास गरिरहेका तथा कार्यरत नेपाली नागरिकहरूलाई इरान सरकारका सम्बन्धित निकायहरूद्वारा जारी गरिएको सुरक्षा परामर्श पालना गर्न, घरभित्रै बस्न, सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सल्लाह दिइन्छ।’

यद्यपी, त्यो विज्ञप्तीमा पनि यदि कुनै नेपालीले इरान भ्रमण गर्ने योजना बनाइरहेका छन् भने त्यहाँको अवस्था सामान्य नहुञ्जेलसम्म आफ्नो यात्रा योजना स्थगित गर्न अनुरोध गरिएको थियो।

मन्त्रालयले आपतकालीन अवस्थामा सम्पर्क नम्बर नै उल्लेख गरेर काठमाडौँस्थित परराष्ट्र मन्त्रालय र दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न अनुरोध समेत गरेको छ।