जापान पुगे राष्ट्रपति पौडेल, भोलि जापानका सम्राट र प्रधानमन्त्रीसँग भेटवार्ता

चारदिने औपचारिक भ्रमणका सिलसिलामा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार विहान जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्।

नेपाल–जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागिताका लागि राष्ट्रपति पौडेलको जापान भ्रमण भएको हो।

विमानस्थलमा राष्ट्रपति पौडेललाई जापानी विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा मंगलबार (२० माघ) राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन्।

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैगरी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग भेटघाट गर्नेछने। जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएको थियो। कूटनीतिकसम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।