प्रतिनिधिसभाका २६५ सिटका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभा तर्फ सदस्य पदको निर्वाचनमा प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुने भएको छ। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले बताएको छ।

उम्मेदवारी दर्ता गर्न जाँदा कुनै किसिमको तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आयोगले आग्रहसमेत गरेको छ।

उम्मेदवारी दर्ताको समयमा भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ। संविधान अनुसार प्रतिनिधिसभामा कूल २ सय ७५ सदस्य हुन्छन्। त्यसमध्ये समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष प्रणालीमार्फत् १ सय ६५ जना निर्वाचित हुनेछन्।

२३–२४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठित अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ भने निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरुपनि भइसकेको छ। निर्वाचनमा भाग लिने अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन्।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ। एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन्।

पार्टीको तर्फबाट उम्मेदवारीको टिकट पाएका उम्मेदवारहरुले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र अन्य केही कागजातसमेत लिएर आउन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

यसअघि प्रतिनिधिसभाको निर्वाचन २०७९ मंसिरमा भएको थियो। २३–२४ को जेनजी आन्दोलनका कारण २७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।