ज्योतिषको हवाला दिँदै शेरबहादुर देउवाले गर्ने एउटा दावीप्रति राजनीतिमा चासो राख्ने अधिकांस नेपालीहरु विश्वास गर्थे। त्यो थियो, देउवा आफ्नो जीवनकालमा ८ पटक प्रधानमन्त्री बन्नेछन्।
आफूलाई ज्योतिषीले आठ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै २०७९ मा सम्पन्न निर्वाचनका क्रममा कतिपय चुनावी सभाहरुमा गृहजिल्ला डडेलधुराका सभामा देउवाले यो भविष्यवाणी पुरा हुने दावी गरेका थिए।
आम निर्वाचन २०७९ पछि प्रधानमन्त्री बन्ने अवसर पाएका भए देउवाको सत्तारोहण छैटौँ पटक हुने थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भए।
ओली–प्रचण्डको दाउपेचका कारण आठ पटक छैटौँ पटक प्रधानमन्त्री बन्ने चाहनापनि पुरा भएन। अब त आठ पटक प्रधानमन्त्री बन्ने त्यो योजना कहिल्यै पुरा नहुने भएको छ।
प्रधानमन्त्री बन्नु त परै जाओस्, डडेलधुराबाट नेपाली कांग्रेसको टिकट प्राप्त गर्नसमेत देउवा असमर्थ भएका छन्।
देउवाको परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाट नेपाली कांग्रेसले युवा नेता नैनसिँह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। महर नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन्।
महरलाई उम्मेदवार बनाउने यो निर्णयसँगै ८० वर्षीय देउवाको संसदीय र सत्ता राजनीतिको अन्त्य भएको छ।
यसको सुरुवात तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा २७–३० पुषमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनपछि भएको हो।
विशेष महाधिवेशनका कारण देउवाले सुरुमा पार्टी नेतृत्व गुमाए, अहिले संसदीय निर्वाचनका लागि टिकट।
विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापा र महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको थियो। पूर्व महामन्त्री शर्मा उपसभापति चयन भए।
विशेष महाधिवेशनले गगनलाई सभापति चयन गरेपछि देउवा पक्षले निर्वाचन आयोग गुहार्यो। तर, त्यसलेपनि विशेष महाधिवेशनलाई मान्यता प्रदान गर्यो।
अर्थात्, देउवा नेतृत्वको पुरानो कार्यसमिति होइन, विशेष महाधिवेशनबाट चुनिएर आएको गगन नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गर्यो।
यस अनुसार निर्वाचनमा टिकट वितरण विशेष महाधिवेशनबाटै चुनिएको कार्यसमिति र नेतृत्वले गर्ने भयो।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चलिरहेका बेला गगन–विश्वप्रकाश पक्षले सहमतिका लागि देउवाले अब डडेलधुराबाट चुनाव नलड्ने निर्णय गर्नुपर्ने माग गरेको थियो।
देउवा त्यो मागमा सहमत नभएपछि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्यो। गगन–विश्वप्रकाशसहितको नयाँ नेतृत्वले डडेलधुराबाट देउवाको साटो महरलाई उम्मेदवार बनाउने निर्णय लियो।
महरलाई उम्मेदवार बनाउने निर्णयसँगै देउवाको सचिवालयले मंगलबार (६ माघ) आगामी निर्वाचनमा उनी (देउवा) उम्मेदवार नबन्ने निर्णय गरेको जनाएको छ।
र, यो सँगै नेपालको संसदीय प्रतिस्पर्धाको इतिहासमा देउवाले बनाएको एउटा इतिहास अब स्थगित भएको छ।
देउवामात्र यस्ता नेता हुन्, जसले २०४८ यता भएका सात वटा आम निर्वाचनमा आठ पटक जित निकालेका छन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी सात पटकका निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए।
२०६४ मा भएको पहिलो संसदीय निर्वाचनमा देउवा कन्चनपुर–४ बाट पनि विजयी भएका थिए। यस हिसावले सात वटा निर्वाचनमा उनको विजय संख्या ८ थियो।
आठ पटक प्रधानमन्त्री बन्ने सपना पुरा नभएपनि २०४८ को आम निर्वाचन यताको ३४ वर्षको अवधिमा आठ चुनाव जितेर उनले नेपालको बहुदलीय संसदीय राजनीतिमा नयाँ रेकर्ड स्थापित गरेका छन्।