चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार (१५ माघ) बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग भेट गरे। बेइजिङमा भएको यो भेट आठ वर्षपछि कुनै बेलायती प्रधानमन्त्रीले चीन भ्रमण गरेको यो पहिलो अवसर हो।
भेटका क्रममा दुबै नेताले दीर्घकालीन, स्थिर तथा व्यापक रणनीतिक साझेदारी निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए।
राष्ट्रपति सीले इतिहासलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याउँदै दुबै मुलुक मतभेदभन्दा माथि उठ्नु पर्ने र पारस्परिक सम्मान कायम राख्नुपर्ने बताए।
दुबै मुलुकका जनता र विश्वलाई फाइदा हुनेगरी सहकार्यको आशाजनक सम्भावनालाई उल्लेखनीय उपलब्धिमा रूपान्तरण गर्न उनले यस्तो आव्हान गरेका थिए।
बैठकको सुरुवातमा प्रधानमन्त्री स्टार्मरले यस्तो खालको उच्चस्तरीय आदान–प्रदानमा लामो अन्तरालपछि भएको स्वीकार गरे।
खासमा आफ्नो मुलुक अनावश्यक रुपले अमेरिकाको पछि लागेकाले चीनसँगको सम्बन्धलाई यसअघि त्यति प्राथमिकता नदिइएको कुराको स्वीकारोक्ति थियो, प्रधानमन्त्री स्टार्मरको यो भनाई।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जसरी विश्वभर अनावस्यक दबाब सिर्जना गरेका छन्, त्यहीकारण युरोपेली-अमेरिकी मुलुकहरु ब्युँझन थालेका छन् र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउन केन्द्रित भएका छन्। अघिल्लो हप्ता क्यानाडाका राष्ट्रपति मार्क कार्नी र यसपटक बेलायती प्रधानमन्त्री स्टार्मरको चीन भ्रमण यसैक्रममा भएको हो।
‘बेलायती प्रधानमन्त्रीले चीन भ्रमण नगरेको निकै लामो समय भइसकेको थियो’ बेइजिङ आइपुगेपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो चीन भ्रमणलाई व्यावहारिक दृष्टिकोणका साथ व्याख्या गर्दै भने, ‘चीनसँग संलग्न हुनु हाम्रो राष्ट्रिय हितमा छ। बेलायतीहरुका लागि चीनमा धेरै ठूला र राम्रा अवसरहरू छन्।’
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य तथा प्रमुख विश्व अर्थतन्त्रका रूपमा चीन र बेलायतले आर्थिक बृद्धि प्रबर्द्धन, सामाजिक विकास समर्थन तथा विश्व स्थायित्वमा योगदान पुर्याउने साझा महत्त्वपूर्ण हितहरू साझेदारी गर्दै आएका छन्।
अनिश्चित विश्वमा सहकार्यको खोज
विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री स्टार्मरको चीन भ्रमण युरोपमा देखिएको फराकिलो अनिश्चितताको प्रतिबिम्ब हो। बढ्दो विश्व–अनिश्चितताबीच देशहरू चीनसँग व्यावहारिक संलग्नता खोजिरहेका छन्।
पछिल्लो समय युरोपेली मुलुकहरु– फ्रान्स, आयरल्याण्ड र फिनल्याण्डका नेताहरूले समेत चीनको भ्रमण सम्पन्न गरेका छन्।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को एक सर्वेक्षणअनुसार, ८५.२ प्रतिशत उत्तरदाताहरूले ‘यस्ता भ्रमणहरूले समान र व्यवस्थित बहुध्रुवीयता तथा समावेशी र लाभदायक विश्वव्यापीकरणप्रति व्यापक सहमति प्रदर्शन गर्छन्’ भन्ने विश्वास व्यक्त गरेका छन्।
बेइजिङ फरेन स्टडिज युनिभर्सिटी अन्तर्गत युके स्टटिज सेन्टरका निर्देशक वाङ झानपेङका भनाईमा, ट्रम्प प्रशासनको अप्रत्याशित नीति, एकपक्षीयता तथा आक्रामक कदमहरूले युरोपका लागि निकै ठूलो चुनौतीहरू सिर्जना गरेका छन्।
उनका अनुसार, युरोपेली नेताबाट भएका यी भ्रमणहरूले चीनको विकास युरोपका लागि न चुनौती हो, न त खतरा भन्ने मान्यताको संकेत गर्छ।
उनी भन्छन्, ‘स्टार्मरको भ्रमणले अरू युरोपेली मुलुकहरुलाई पनि एउटा पक्ष छान्नुपर्ने द्विविधा बाहिर निस्कन र अझ सन्तुलित बहुध्रुवीय विश्व व्यवस्थालाई समर्थन गर्न प्रेरित गर्न सक्छ।’
बेलायतका पूर्व व्यापार तथा उद्योग सचिव भिन्स केबलपनि पनि यस्तै दृष्टिकोण राख्छन्।
सीजीटीएनसँगको कुराकानीमा उनले भने, ‘ट्रम्प प्रशासनको अविस्वसनीय व्यवहारका कारण बेलायत मात्र होइन, धेरै पश्चिमी मुलुकहरु आफ्ना सम्बन्धलाई फरक तरिकाले सन्तुलित गर्न बाध्य पारेको छ।’
स्टार्मरसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनपिङले अन्तर्राष्ट्रिय व्यवस्थामा लामो समयदेखि गम्भीर असर परिरहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय कानुन सबै मुलुकहरू (विशेषगरी प्रमुख शक्ति) ले त्यसको पालना गरेमा मात्र प्रभावकारी हुने उनको भनाई थियो।
‘बहुपक्षीयता र स्वतन्त्र व्यापारका समर्थकका रूपमा चीन र बेलायतले साँचो बहुपक्षीयताको संयुक्त रूपमा वकालत र अभ्यास गर्नुपर्छ’ राष्ट्रपति सीले भने, ‘साथै, अझ बढी निष्पक्ष र न्यायसंगत विश्व–शासन प्रणाली र व्यवस्थित बहुध्रुवीय विश्व निर्माण गर्नुपर्छ र समावेशी विश्वव्यापीकरण प्रवर्द्धन गर्नुपर्छ।’
बेलायती प्रधानमन्त्री स्टार्मरले पनि चीन अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण मुलुक भएको बताउँदै जलवायु परिवर्तन लगायतका महत्वपूर्ण विषयहरुमा चीनसँग सहकार्य गर्न बेलायत इच्छुक रहेको उल्लेख गरे, ताकि विश्व स्थायित्व कायम राख्न सहयोग पुर्याउन सकियोस्।
स्थायित्वलाई आर्थिक फाइदामा रूपान्तरण
बैठकका क्रममा राष्टपति सीले चीन–बेलायत आर्थिक तथा व्यापार सहकार्यको सार पारस्परिक लाभ र दुबै पक्षको जित भएको उल्लेख गरे।
शिक्षा, स्वास्थ्य, वित्त र सेवा क्षेत्रमा सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता (एआई), जैविक विज्ञान, नवीकरणीय ऊर्जा तथा न्यून–कार्बन प्रविधिमा संयुक्त अनुसन्धान र औद्योगिक प्रयोगमा सहकार्य बढाउनुपर्ने बताएका उनले चिनियाँ उद्यमीहरूका लागि निष्पक्ष र भेदभावरहित व्यवसायिक वातावरण उपलब्ध गराउन आह्वान गरे।
आर्थिक विषय चीन–बेलायत द्विपक्षीय सम्बन्धको मुख्य आधार रहँदै आएको छ। चीन लामो समयदेखि बेलायतका पाँच शीर्ष व्यापार साझेदारमध्ये एक मुलुक हो। उनीहरुबीच निरन्तर रुपमा वार्षिक व्यापार सय अर्ब डलरको स्तरमा रहँदै आएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, सन् २०२५ मा दुई मुलुकबीचको मालसामान व्यापारको आकार १०३.७ अर्ब अमेरिकी डलर थियो, सेवा व्यापारपनि ३० अर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ। दुबै मुलुकतर्फ लगानी कुल झण्डै ६८ अर्ब डलर पुगेको छ।
बेलायती सरकारी तथ्यांकअनुसार, चीन अहिले बेलायतको तेस्रो ठूलो व्यापार साझेदार बनेको छ, जसले करिब ३ लाख ७० हजारको रोजगारीमा टेवा पुर्याएको छ।
‘सीजीटीएन’ को सर्वेक्षणअनुसार, ८५.८ प्रतिशत उत्तरदाताहरूले चीनको विशाल बजार बेलायती व्यवसायका लागि ठूलो अवसर भएको विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री स्टार्मर व्यापार तथा सांस्कृतिक क्षेत्रका ६० भन्दा बढी प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन आएका छन्। यसले व्यावहारिक आर्थिक हितहरूलाई उजागर गर्ने प्रष्ट पार्छ।
भ्रमणका क्रममा बोल्दै प्रधानमन्त्री स्टार्मरले बेलायत उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिन तथा व्यापार, लगानी, वित्त र वातावरण संरक्षण क्षेत्रमा सहकार्यलाई अझ व्यापक बनाउन तयार रहेको बताए। साथै, आर्थिक वृद्धिलाई समर्थन गर्नु र दुवै देशका जनतालाई ठोस फाइदा पुर्याउनु यो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे।
यो समाचार विश्लेषण हामीले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) बाट अनुवाद गरेका हौँ– सम्पादक)