जापानमा राष्ट्रपति पौडेलका तीन महत्वपूर्ण भेटवार्ताको सूची, दुई कार्यक्रममा सहभागिता

परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको औपचारिक घोषणा गरेको छ।

भ्रमण सुरु हुनुभन्दा दुई दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणको औपचारिक घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेल आइतबार (१८ माघ) देखि जापानको चार दिने भ्रमणमा जाँदैछन्। आइतबार जापान प्रस्थान गर्ने उनी बुधबार (२१ माघ) मा स्वदेश फर्कनेछन्।

काठमाडौँबाट प्रस्थान गरेको भोलिपल्टमात्र उनी जापानको राजधानी टोकियो पुग्नेछन्।

टोकियोमा उच्चस्तरीय भेट
परराष्ट्र सचिव राईका अनुसार नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेलको जापान भ्रमण हुन लागेको हो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्नेछन्।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सोही दिन नै राष्ट्रपति पौडेलसँग जापानी प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्नेछिन्।

यसबाहेक भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्नेछन्।

जापानमा हुने कार्यक्रम
टोकियो पुगेकै दिन १९ माघमा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्।

त्यसक्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउने छन्। जापानस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलका साथ धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहने परराष्ट्र सचिव राईले जानकारी दिएका छन्।