बुधबार चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्ता भयो। यो वार्ताले विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरूले विश्वव्यापी स्थिरता र विकासका लागि वहन गर्ने साझा जिम्मेवारीलाई पुनः पुष्टि गरेको छ।
दुबै मुलुकले आफ्नो आन्तरिक तथा कूटनीतिक एजेन्डामा महत्वपूर्ण विषयहरू सामना गरिरहेको वर्ष हो यो। यस्तो स्थितिमा यो संवादले प्रतिकूल परिस्थितिका बाबजुद द्विपक्षीय सम्बन्धको विशाल जहाजलाई स्थिर र अग्रगामी दिशातर्फ अघि बढाउन इच्छुक रहेको स्पष्ट संकेत दिएको छ।
सीले टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पसँग भनेका थिए, ‘दुबै पक्षले क्रमिकरुपमा आपसी विश्वास निर्माण गर्नुपर्छ, सहअस्तित्वका लागि सही मार्ग पहिचान गर्नुपर्छ र सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुबै मुलुकका लागि लाभदायक सहकार्यतर्फ अघि बढ्ने वर्षका रुपमा चिनाउनु पर्छ।’
पछिल्लो एक वर्षमा सी र ट्रम्पबीच सहज संवाद कायम रहँदै आएको छ। उनीहरूबीच दक्षिण कोरियाको बुसानमा भएको बैठक सफलतापूर्वक सम्पन्न भएको थियो। त्यो बैठकले चीन–अमेरिका सम्बन्धलाई सही किसिमले दिशानिर्देश गर्न मद्दत पुर्याएको थियो। त्यसलाई दुबै मुलुकका जनताका साथै अन्तर्राष्ट्रिय समुदायबाट व्यापक रुपमा स्वागत गरिएको थियो।
यसरी विकसित राजनीतिक विश्वासले अन्तर्राष्ट्रिय अवस्था अझै जटिल र तरल रहेको यस घडीमा महत्वपूर्ण आधार प्रदान गरेको छ।
यस सन्दर्भमा बुधबारको फोनवार्ता केवल औपचारिक प्रक्रिया मात्र होइन, बरु सकारात्मक गतिलाई सुदृढ पार्ने र मतभेदहरूले दुई मुलुकबीचको सम्बन्धलाई लिकबाट बाहिर नपुर्याओस् भन्ने सुनिश्चितताका लागि गरिएको एक महत्वपूर्ण कदम हो।
पक्कैपनि दुबै मुलुकबीच मतभेद र आ–आफ्ना चासो छन्। तर यसले पारस्परिक लाभदायी सहकार्यमा बाधा पुर्याउन हुँदैन। फोन वार्ताका क्रममा राष्ट्रपति सीका भनाइहरूले व्यवहारिक मार्गचित्र प्रस्तुत गरेका छन्। ती हुन्, पहिलेका साझा समझदारीहरूको पालना गर्ने, संवाद र सञ्चारलाई सुदृढ बनाउने, मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्ने, र व्यावहारिक सहकार्य विस्तार गर्ने।
यस दृष्टिकोणले रातारात नाटकीय उपलब्धि खोज्नुको साटो क्रमिक कदमहरूद्वारा सन्चित प्रगतिमा जोड दिन्छ। सीका शब्दमा, ‘सानो भए पनि राम्रो काम गर्नु सधैं सही हुन्छ र सानो भए पनि खराब कामपनि सधैं गलत हुन्छ।’
आजको युगमा अझ सानोतिनो गलत कामले पनि छिट्टै ठूलो संकट निम्त्याउन सक्ने भएकाले राष्ट्रपति सीको यो भनाई विशेष रूपमा अर्थपूर्ण छ।
गलत लेखाजोखाबाट बच्ने हो भने स्पष्ट ‘रेडलाइन’ कोर्नु जरुरी छ। राष्ट्रपति सीले ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्वपूर्ण मुद्दा भएको पुनः दोहोर्याए। निश्चय नै यो नयाँ वक्तव्य होइन। तर फोन वार्तामा यसको समावेश हुनु चीन–अमेरिका सम्बन्धमा दीगो स्थिरता कायम गर्ने सन्दर्भमा यो मुद्दाको गम्भीर र सावधानीपूर्वक व्यवस्थापन अनिवार्य रहेको कुराको स्मरणपनि हो।
त्यसैले ताइवानलाई हतियार बिक्रीबारे अमेरिकाले विवेकपूर्ण दृष्टिकोण अपनाउनुपर्छ भन्ने सीको आह्वान चेतावनी मात्र होइन, सम्बन्धलाई सही बाटोमा राख्दै जोखिम घटाउने निमन्त्रणा पनि हो।
फराकिलो दृष्टिले हेर्ने हो भने यो संवादले एक आधारभूत सत्य उजागर गरेको छ। त्यो हो, चीन र संयुक्त राज्य अमेरिकाबीचको टकराव कसैको हितमा छैन। बरु आपसी सम्मानमा आधारित सहकार्यले केवल दुई मुलुकमात्र मात्र होइन, सम्पूर्ण विश्वलाई नै लाभ पुर्याउनेछ।
आपूर्ति शृंखला, वित्तीय बजार, जलवायु कार्यवाही र प्रविधि नवप्रवर्तनका क्षेत्रमा बेइजिङ र वासिङ्टनबाट हुने निर्णयहरूले महादेशहरू पार गर्दै सारा विश्वलाई प्रभाव पार्छन्।
हो, एउटा फोनवार्ताले सबै असहमतिहरू रातारात समाधान गर्न सक्दैन। तर यसले अपेक्षाहरू तय गर्न, तनाव घटाउन र कूटनीतिका लागि ठाउँ सिर्जना गर्न मद्दत गर्न सक्छ।
जब सीले सन् २०२६ लाई दुई प्रमुख मुलुकहरुबीच आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र लाभदायी सहकार्यतर्फ अघि बढ्ने वर्ष बनाउने कुरा गर्छन्, तब उनी शून्य–योग (जीरो सम) सोच र गुटीय टकरावको विपरीत समाधानयुक्त दृष्टिकोण प्रस्तुत गर्छन्। यो कुनै भोलिको आदर्शवाद होइन, बरु परस्पर जोडिएको संसारमा सुरक्षा र समृद्धि झन् झन् अविभाज्य बन्दै गएका छन् भन्ने यथार्थको संयमित स्वीकारोक्ति हो।
विश्व जति अशान्त बन्दै जान्छ, उसलाई चीनको त्यति नै बढी आवश्यकता पर्छ।
यो पनि उल्लेखनीय छ कि, राष्ट्रपति सी र ट्रम्पबीचको संवाद रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीको भिडियो संवादलगत्तै भएको थियो। सन् २०२६ सुरु भएसँगै क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओरपो र बेलायती प्रधानमन्त्री केयर स्टार्मर पनि छोटो अन्तरालमै चीन भ्रमणमा आएका थिए।
विश्वले चीनलाई क्रमशः बढी महत्व दिन थालेको छ। उसलाई शान्तिप्रति प्रतिबद्ध, आफ्नो विकासबाट अवसरहरू समेट्न इच्छुक र विरोधीभन्दा मित्र बन्न चाहने राष्ट्रका रूपमा चिन्न थालेको छ।
यो कुनै आवेगमा गरिएको ‘पूर्वतर्फ फर्किने’ निर्णय होइन, बरु चीनले के काम गर्छ भनेर हेर्ने एक बुद्धिमानी कदम हो।
शान्ति र दुबै पक्षका लागि लाभदायक सहकार्यको मार्ग पछ्याउने दृढ संकल्प नै आजको विश्वलाई सबैभन्दा बढी आवश्यक छ। र, यस्तो संकल्प चीनले प्रस्तुत गरेको छ। यसको आकर्षण केवल भाषणमा होइन, यसको शान्तिपूर्ण मार्गप्रतिको दीगो अठोट र साझा विकासका लागि खुला अँगालोमा निहित छ।
(लेखक लिउ जियान्सी बेइजिङस्थित राजनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका विश्लेषक हुन्। सञ्चार क्षेत्रमा १० वर्षको अनुभव भएकी उनले अमेरिका, युरोपेली संघ (इयू) र मध्यपूर्वसम्बन्धी विषयमा लेख्दै आएकी छन्।)