काठमाडौँ आएपछि चिनियाँ राजदूत चाङको वक्तव्य : नेपालको जिम्मेवारी पाएकोमा गौरवान्वित छु

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले नेपालका लागि राजदूतको कार्यभार सम्हाल्न पाएकोमा आफूले गौरवान्वित महसुस गरेको बताएका छन्।

कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासको वेबसाइटमार्फत् सार्वजनिक गरिएको वक्तव्यमार्फत् राजदूत चाङले उपरोक्त कुरा बताएका हुन्।

आफूलाई नेपालको ‘असाधारण तथा सर्वाधिकार सम्पन्न’ राजदूत नियुक्त गरेकोमा राष्ट्रपति सी चिनफिङप्रति आभारसमेत व्यक्त गर्दै राजदूत चाङले यो जिम्मेवारीका लागि आफू गौरवान्वित भएको बताएका हुन्।

‘मलाई विश्वास गरेर नेपालका लािग असाधारण तथा सर्वाधिकार सम्पन्न राजदूतको रुपमा गरिएको नियुक्तिलाई मैले सम्मानको रुपमा लिएको छु’ राजदूत चाङले भनेका छन्, ‘यो सम्मान र जिम्मेवारी दुवैप्रति म गहन रुपमा सचेत छु।’

चीन–नेपालबीचको सम्बन्धलाई विकसित गर्न लामो समयदेखि सहयोग गरेका सबैप्रति उनले आभारसमेत व्यक्त गरेका छन्।

‘चीन र नेपाल पहाड र नदीहरूले जोडिएका मैत्रीपूर्ण छिमेकी राष्ट्रहरू हुन्, साथै पुस्तौंदेखिको मित्रता, यी दुई मुलुक पारस्परिक सहयोग र साझा विकासद्वारा आबद्ध साझेदार पनि हुन्’ उनले भनेका छन्, ‘कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षको अवधिमा हाम्रा दुई देश सुख–दुःखमा सँगै उभिएका छन् र समृद्धि तथा कठिनाइ दुवै साझेदारी गरेका छन्, जसले चीन–नेपाल असल छिमेकी मित्रताको इतिहासमा एक महत्वपूर्ण अध्याय थप गरेको छ।’

नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्न, आफ्नो राष्ट्रिय परिस्थितिअनुसार विकासमार्ग अवलम्बन गर्न, आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन र जनजीविकाको सुधारका लागि सधैँ समर्थन गर्दै आएको स्मरण गराउँदै राजदूत चाङले नेपालले पनि लामो समयदेखि एक–चीन सिद्धान्तलाई समर्थन गर्दै चीनका मूलभूत हित तथा प्रमुख चासोका विषयहरूमा दृढ समर्थन जनाएकोमा प्रसंशा गरेका छन्।

‘सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक तथा सफल राजकीय भ्रमण गर्नुभएको थियो, त्यो भ्रमणले द्विपक्षीय सम्बन्धको ‘विकास र समृद्धिका लागि दीगो मित्रतासहितको रणनीतिक सहकार्य साझेदारी’ स्तरमा उकास्न भूमिका खेलेको छ’ राजदूत चाङ भन्छन्, ‘हाम्रा दुई मुलुकका नेताहरूको रणनीतिक मार्गदर्शनमा आपसी राजनीतिक विश्वास निरन्तर गहिरिँदै गएको छ, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यले फलदायी उपलब्धि हासिल गरेको छ।’

यसका कारण दुई देशबीच जनस्तरमा आदान–प्रदान झन् घनिष्ठ बन्दै गएको उल्लेख गर्दै यसले दुबै मुलुकका जनतालाई ठोस लाभ प्रदान गरेको पनि उनले उल्लेख गरेका छन्।

सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको प्रारम्भिक वर्ष भएको जानकारी गराउँदै राजदूत चाङले १५औँ पञ्चवर्षीय योजनाको अवधिमा चिनियाँ आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिइने बताएका छन्।

यसक्रममा चीनले उच्चस्तरीय खुलापनलाई अझ सक्रियताका साथ विस्तार गर्ने र त्यसले नेपालसहित विश्वका सबै देशहरूका लागि नयाँ विकास अवसर सिर्जना गर्ने पनि उनले बताएका छन्।

नेपाल पनि यतिबेला रूपान्तरण र संक्रमणको महत्वपूर्ण चरणमा रहेको, विगत एक शताब्दीमा नदेखिएका परिवर्तनहरू तीव्र गतिमा अघि बढिरहेको, अन्तर्राष्ट्रिय परिदृश्यमा अस्थिरता तथा रूपान्तरण एकआपसमा गुजुल्टिलिएको उल्लेख गर्दै चाङले यस्तो समयमा चीन नेपालसँग मिलेर चारवटा विश्वव्यापी पहलहरूको कार्यान्वयन गर्न, ‘ग्लोबल साउथ’ का राष्ट्रहरुबीच ऐक्यबद्धता र सहकार्य सुदृढ गर्न, समान र सुव्यवस्थित बहुध्रुवीय विश्व तथा सर्वसुलभ र समावेशी आर्थिक विश्वव्यापीकरणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न तयार बताएका छन्।

यसले मानव जातिको साझा भविष्ययुक्त समुदाय निर्माणमा योगदान पुर्‍याउन सकिने विश्वासपनि उनले व्यक्त गरेका छन्।

‘नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतको हैसियतमा म राष्ट्रपति सी चिनफिङ र नेपालका नेताहरूबीच प्राप्त महत्वपूर्ण सहमतिहरूलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नेछु’ उनले प्रतिवद्दता व्यक्त गर्दै भनेका छन्, ‘नेपालको सबै क्षेत्रका मित्रहरूसँग मिलेर हाम्रो परम्परागत मित्रतालाई अगाडि बढाउँदै सबै क्षेत्रमा सर्वाङ्गीण आदान–प्रदान र सहकार्यलाई प्रवर्द्धन गर्न म उत्सुक छु।’

नेपालस्थित चिनियाँ दूतावासले जनमुखी कूटनीतिलाई निरन्तर अभ्यास गर्ने उल्लेख गर्दै उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूको विश्वसनीय साझेदारको रूपमा सेवा र विदेशमा रहेका चिनियाँ नागरिकहरूको वैध अधिकार तथा हितहरूको दृढ संरक्षकको रूपमा कार्य गर्ने बताएका छन्।

वक्तव्यको अन्त्यमा राजदूत चाङले चीन र नेपालबीच ‘विकास र समृद्धिका लागि दिगो मित्रतासहितको रणनीतिक सहकार्य’ लाई अझ सुदृढ बनाउन र चीन–नेपालबीचको साझा भविष्ययुक्त समुदाय निर्माण गर्न हातेमालोका लागि आव्हान समेत गरेका छन्।