नयाँदिल्ली । भारतीय राजनीतिमा लामो समयसम्म रहस्यमय र कम बोल्ने नेताका रूपमा चिनिएकी कांग्रेस नेतृ सोनिया गान्धी अब आफ्नो जीवनको कथा आफैंमार्फत् सार्वजनिक गर्ने तयारीमा छिन्।
उनको बहुप्रतीक्षित संस्मरण ‘बिलङ्गिङ ः अ जर्नी अफ लभ’ आगामी नोभेम्बरमा प्रकाशित हुँदैछ।
बीबीसी हिन्दीका अनुसार, पुस्तकले सोनियाले इटालीको एक सानो सहरमा बिताएको बाल्यकालदेखि भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारमा प्रवेश, व्यक्तिगत जीवनका असाधारण दुःखद घटना र त्यसपछि भारतीय राजनीतिमा उनको उदयसम्मको यात्रा समेट्नेछ।
सोनिया गान्धीको जीवन आफैंमा एउटा असाधारण राजनीतिक कथा हो। जन्मले उनी भारतीय होइनन्।
उनी इटालीमा जन्मिएकी थिइन्। नाम थियो, सोनिया माइनो। तिनै सोनिया १९ वर्षको उमेरमा अध्ययनका लागि बेलायतको क्याम्ब्रिज पुगेकी थिइन्।
सन् १९६५ मा त्यहीँ उनको भेट भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका नाति तथा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा राजीव गान्धीसँग भएको थियो।
त्यो भेटपछि सुरु भएको प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भयो र सोनियाको जीवनले भारतसँग स्थायी सम्बन्ध गाँस्यो।
भारत आएलगत्तै उनी राजनीतिमा प्रवेश गरिनन्। बरु लामो समयसम्म उनले राजनीतिक गतिविधिबाट आफूलाई टाढा राखिन्।
खासमा राजीव गान्धी प्रधानमन्त्री हुँदा पनि सोनिया पर्दा पछाडि नै रहन रुचाउँथिन्। सार्वजनिक जीवनको चमकभन्दा उनको प्राथमिकतामा परिवार र निजी जीवन थियो।
तर भारतीय राजनीतिको उतारचढावले सोनियालाई यत्तिमा सीमित रहन दिएन।
निर्णायक दुई ठूला मृत्यु
सोनिया गान्धीको जीवनमा सबैभन्दा ठूलो मोड सन् १९८४ मा आयो।
उनकी सासु तथा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो। त्यस घटनापछि उनका पति राजीव गान्धी अप्रत्याशित रूपमा भारतीय राजनीतिको केन्द्रमा आइपुगे।
जस्तो कि, इन्दिराको हत्यापछि राजीव गान्धी प्रधानमन्त्री बने।
राजीव प्रधानमन्त्री बन्दापनि सोनिया राजनीतिक भूमिकाभन्दा पारिवारिक जीवनमै सीमित रहन रुचाइन्।
त्यसको सात वर्षपछि गान्धी परिवारमा फेरि अर्को भयानक घटना भयो।
सन् १९९१ मा तमिलनाडुको श्रीपेरुम्बुदुरमा चुनावी कार्यक्रममा सहभागी भइरहेका बेला आत्मघाती हमलामार्फत् राजीव गान्धीको हत्या भयो।
त्यो घटनाले सोनियाको व्यक्तिगत जीवनमा नै ठूलो परिवर्तन ल्याइदियो।
हत्यापछि राजीवको शव घर ल्याउने अत्यन्त पीडादायी क्षण पनि सोनियाको जीवनको महत्वपूर्ण अध्यायमध्ये एक हो।
त्यसबेला पनि उनी राजनीतिमा प्रवेश गर्न चाहँदैनथिन्। उनलाई कांग्रेसको नेतृत्व सम्हाल्ने प्रस्ताव आएको थियो।
तर उनले त्यो प्रस्ताव अस्वीकार गरिन्।
केही वर्षपछि भने परिस्थितिमा बदलाव आयो।
कांग्रेसकी शक्तिशाली नेता
सन् १९९८ मा सोनिया गान्धी भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष बनिन्।
विदेशमा जन्म, लामो समयसम्म राजनीतिबाट टाढा र सार्वजनिक रूपमा अत्यन्त कम बोल्ने सोनिया कसरी भारतको सबैभन्दा पुरानो राजनीतिक पार्टीको नेतृत्वमा पुगिन् भन्ने प्रश्न त्यतिबेला नउठेको होइन।
तर उनले विस्तारै राजनीतिक प्रभाव स्थापित गर्न थालिन्। र, कांग्रेस अध्यक्षका रूपमा उनले पार्टीलाई लामो समय नेतृत्व गरिन्।
सन् २००४ को आमनिर्वाचनपछि कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकार गठन भयो।
त्यो बेला सोनिया स्वयं प्रधानमन्त्री बन्न सक्ने अवस्थामा थिइन्। तर उनले प्रधानमन्त्रीको पद अस्वीकार गरिन्।
उनको स्थानमा डा. मनमोहन सिंह प्रधानमन्त्री बने।
भारतीय राजनीतिक इतिहासको सबैभन्दा चर्चित घटनामध्ये एक मानिन्छ, सोनिया गान्धीले गरेको डा. सिंहलाई प्रधानमन्त्री बनाउन गरेको त्यो निर्णय।
अहिले राजनीतिक बृत्तमा चासो यही छ कि, प्रकासित हुन लागेको सोनियाको आत्मकथाले प्रधानमन्त्री पद अस्वीकार गर्नुका वास्तविक कारण र त्यस समय कांग्रेसभित्र तथा उनको परिवारमा भएका छलफलका विषयमा थप प्रकाश पार्छ कि पार्दैन?
बीबीसीले पनि उनको आगामी संस्मरणसँग जोडिएको महत्वपूर्ण प्रश्न यही भएको उल्लेख गरेको छ, त्यो असाधारण निर्णयको पछाडि वास्तवमा के रहस्य थियो र त्यसबेला पर्दापछाडि के भइरहेको थियो?
राहुल गान्धीको भूमिका
सोनिया गान्धीको राजनीतिक यात्रामा छोरा राहुल गान्धीको भूमिका पनि महत्वपूर्ण छ।
राहुल अहिले भारतीय कांग्रेसका प्रमुख नेतामध्ये एक हुन्।
राहुलले आफ्ना बाबु राजीव गान्धीको जन्मदिनका अवसरमा आमाको आत्मकथा (पुस्तक) को आवरण सार्वजनिक गरेका थिए।
आमालाई सम्बोधन गर्दै उनले भावुक सन्देश पनि लेखेका थिए।
आफ्ना आमा-बुबालाई सँगै देखेको अन्तिम समय तीन दशकभन्दा बढी भइसकेको उल्लेख गर्दै राहुलले बाबु राजीवको निधनपछि आमा सोनियाले सबै चुनौतीलाई साहस र गरिमाका साथ सामना गरेको बताएका थिए।

राहुलको यो भनाईले आत्मकथा केवल राजनीतिक संस्मरण नभई परिवार, प्रेम, मृत्यु, शोक र व्यक्तिगत संघर्षको कथा पनि हुने संकेत गर्छ।
नेहरू-गान्धी परिवारको विरासत
सोनियाको संस्मरणको शीर्षक नै ‘विलङ्गिङ’ अर्थात् ‘आफ्नोपन’ राखिनु पनि उत्तिकै अर्थपूर्ण छ।
सोनियाको जीवनको महत्वपूर्ण प्रश्न नै आफू जन्मेको देश इटालीबाट हजारौँ किलोमिटर टाढाको भारतमा कसरी एउटा परिवार, समाज र राजनीतिक परम्परासँग जोडिइन् भन्ने हो।
उनी नेहरू-गान्धी परिवारमा विवाह गरेर प्रवेश गरिन्। तर नेहरु-गान्धी परिवारसँग जोडिएको विषय केवल वैवाहिक सम्बन्धमा सीमित रहेन।
इन्दिरा गान्धीकी बुहारी, राजीव गान्धीकी पत्नी, राहुल र प्रियंका गान्धीकी आमा हुँदै उनी भारतीय राष्ट्रिय कांग्रेसकी सबैभन्दा प्रभावशाली नेतामध्ये एक बनिन्।
पुस्तकको महत्वपूर्ण पृष्ठभूमि
सोनियाको राजनीतिक जीवन केवल कांग्रेसको आन्तरिक राजनीति मात्र होइन।
उनी भारतीय राजनीतिमा गठबन्धन युगदेखि भारतीय जनता पार्टीको उदय र हिन्दू राष्ट्रवादको प्रभाव विस्तारको अवधिसम्म सक्रिय रहिन्।
उनले कांग्रेसको नेतृत्व गर्दैगर्दा भारतमा आर्थिक उदारीकरणपछिको नयाँ राजनीतिक–आर्थिक वातावरण विकसित भइरहेको थियो।
क्षेत्रीय दलहरूको प्रभाव बढिरहेको थियो र केन्द्रमा गठबन्धन सरकार सामान्य राजनीतिको अभ्यास बनिरहेको थियो।
तर, पछि नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी शक्तिशाली रूपमा स्थापित भयो, कांग्रेस विपक्षमा पुग्यो।
यस हिसावले सोनियाको राजनीतिक यात्रा भारतको पछिल्ला तीन दशकको राजनीतिक परिवर्तनसँग प्रत्यक्ष जोडिएको छ।
संस्मरण त्यसैले उनको व्यक्तिगत जीवनको कथा मात्र होइन, बरु आधुनिक भारतको राजनीतिक इतिहासलाई एउटा महत्वपूर्ण राजनीतिक पात्रको आँखाबाट हेर्ने अवसर पनि हो।
बहुप्रतिक्षित पुस्तक
पुस्तकमार्फत् सोनियाले के-के नयाँ कुरा बताउनेछिन् र के-के कुरा लुकाउनेछिन्? सोनियाको आत्मकथाको सबैभन्दा ठूलो आकर्षण प्रश्न यही हुनेछ।
भारतीय राजनीतिमा सबैभन्दा धेरै चर्चा हुने परिवारमध्ये एक हो नेहरू-गान्धी परिवार। यो परिवारका सदस्यहरूको व्यक्तिगत जीवन, राजनीतिक निर्णय, कांग्रेसभित्रको शक्ति संघर्ष र भारतका महत्वपूर्ण राजनीतिक घटनासँग जोडिएका धेरै प्रश्न वर्षौंदेखि सार्वजनिक बहसको विषय बनेका छन्।
सोनियाले ती घटनालाई आफ्नो दृष्टिकोणबाट कसरी प्रस्तुत गर्छिन् भन्ने कुराले पुस्तकको राजनीतिक महत्व निर्धारण गर्नेछ।
विशेषगरी सन् १९९१ पछि उनको राजनीतिक भूमिकामा आएको परिवर्तन, कांग्रेसको नेतृत्व सम्हाल्ने निर्णय, २००४ मा प्रधानमन्त्री पद अस्वीकार, राहुल गान्धीको राजनीतिक भविष्यबारे भएका निर्णय तथा नेहरू-गान्धी परिवारको विरासतलाई निरन्तरता दिने विषयमा पुस्तकबाट नयाँ विवरण आउन सक्ने अपेक्षा गरिएको छ।
नोभेम्बरमा प्रकाशन
‘विलङिगङ : अ जर्नी अफ लभ’ को अन्तर्राष्ट्रिय प्रकाशन १० नोभेम्बर २०२६ मा हुने तय भएको छ। अमेरिकामा अल्फ्रेड ए क्नफ र बेलायतमा विलियम कोलिन्सले पुस्तक प्रकाशन गर्नेछन्।
पुस्तक करिब ५४४ पृष्ठको हुने प्रकाशकीय विवरणमा उल्लेख छ।
प्रकाशनअघि नै पुस्तकका विषयमा भारतमा ठूलो चासो उत्पन्न भइसकेको छ। विशेषगरी यसको प्रकाशन र वितरणलाई लिएर पछिल्ला दिनमा विवादसमेत देखिएको छ।
‘पेन्गुइन र्याण्डम हाउस इण्डिया’ ले आफू भारतमा यस पुस्तकको प्रकाशक नभएको स्पष्ट पारेको छ।
भारतीय बजारमा ‘विलङिगङ : अ जर्नी अफ लभ’ को प्रकाशन अधिकारका लागि ठूला प्रकाशन गृहहरूबीच प्रतिस्पर्धा भइरहेको विवरण सार्वजनिक भएका छन्।
यसले गर्दा पुस्तकको चर्चा झनै बृद्धि भएको छ।
सोनिया गान्धीको आत्मकथा प्रेमबाट सुरु भएको एउटा अन्तर्राष्ट्रिय सम्बन्ध, भारतको शक्तिशाली राजनीतिक परिवारमा प्रवेश, दुई ठूला व्यक्तिगत त्रासदी, अनिच्छाले राजनीतिमा आएको एक महिला र अन्ततः भारतीय राजनीतिमा निर्णायक प्रभाव पार्ने नेताको यात्राको दस्तावेज हो।