तेहरान (इरान)- इरानको सरकारलाई समाप्त पार्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको उच्चस्तरको आर्थिक नाकावन्दी धम्कीको सामना गर्न इरानी सैन्य कमान्डरहरूले नयाँ अमेरिकी धम्कीहरूको सामना गर्न नयाँ सैन्य रणनीतिहरूको समीक्षा थालेका छन्।
इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर–इन–चिफ अहमद वाहदीले शुक्रबार चेतावनी दिएका छन्, ’वर्तमान र भविष्यका समेत कठिन ऐतिहासिक मोडहरू पार गर्न तथा शत्रु पक्षका षड्यन्त्रहरूलाई निष्प्रभावी बनाउन एउटा बुद्धिमत्तापूर्ण र प्रभावकारी समाधान आवश्यक छ।’
इरानले शनिबार (५ भदौ) राष्ट्रिय ‘रक्षा उद्योग दिवस’ मनाएको थियो। त्यस अवसरमा इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोल्लाहीले घरेलु रूपमा हतियार उत्पादनमा भएको ‘निरोधात्मक रक्षा औद्योगिक क्रान्ति’ को प्रशंसा गरेका थिए।
तर इरानी अधिकारीहरुले गत वर्षजस्तै यसपटक पनि नयाँ हतियारहरू प्रदर्शन नगर्ने निर्णय गरे।
‘शत्रुलाई आश्चर्यमा पार्न र मुलुकको रक्षासम्बन्धी सूचना र गोप्य कुरा सुरक्षित राख्न हामीले हतियार र उपकरणहरूको सीमित मात्रामा अनावरण गर्ने गरेका छौँ’ इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ-निकले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताए।
यद्यपि, उनले सन् २०२५ को जुनमा इजरायल र अमेरिकासँग भएको १२ दिने युद्धपछिका १२ महिनामा इरानले हतियार तथा रक्षा उपकरणको उत्पादन दोब्बर पारेको दाबी गरेका छन्।
उनको भनाईमा, अमेरिका र इजरायलसँगको युद्ध सुरु भएदेखि अर्थात् फेब्रुअरी २८ देखि, केही ‘रणनीतिक तथा प्राथमिकताप्राप्त उत्पादनहरू’ को उत्पादन तीन गुणाभन्दा बढी बढेको छ।
तलाइ-निकका अनुसार, इरानमा ९,३०० भन्दा बढी कम्पनी हतियार उत्पादनमा संलग्न छन्, यसको अर्थ अमेरिकी र इजरायली आक्रमणहरूले यो क्षेत्रलाई पूर्ण रूपमा नष्ट गर्न सक्दैनन्।’
कार्यवाहक रक्षामन्त्री माजिद एब्न–ए रेजाले शुक्रबार (४ भदौ) बताएका थिए कि, गत वर्ष इजरायल र अमेरिकासँग भएको युद्धको तुलनामा इरानी सशस्त्र सेनाले यसपटक शत्रुका सैन्य अड्डाहरूको भित्री भागसम्म प्रवेश गर्न, अझ बढी सटिक प्रहार गर्न र हवाई प्रतिरक्षामार्फत् थप सफलतापूर्वक आक्रमण रोक्न सफल भएको छ।
‘इरानले हतियारको उत्पादन र विकास कहिल्यै रोकेको छैन’ आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले बिहीबार भनेका छन्, ‘अर्को, भविष्यमा हुने युद्धमा आईआरजीसीले आफ्ना ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्रहरूका लागि नयाँ पुस्ताका वारहेडहरू प्रयोग गर्नेछ। बताएका छन्।
उनले हतियारको उत्पादन र विकास कहिल्यै नरोकेको दाबी गरे।
झन्डै ४० दिनसम्म चलेको तीव्र बमबारीपछि अमेरिका-इरानबीच अप्रिल ८ मा युद्धविराम लागू भएको थियो। यस अवधिमा हजारौँ उडान तथा सैन्य हवाई कारवाही भएका थिए।
यसक्रममा ह्वाइट हाउसले दावी गरेको थियो कि इरानको ८५ प्रतिशतभन्दा बढी रक्षा-औद्योगिक आधार नष्ट गरिएको छ।
तिनमा इरानका अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्र, मोबाइल प्रक्षेपण प्रणाली र लामो दूरीका ड्रोनहरू समावेश रहेको अमेरिकाको दावी थियो।
अमेरिकाले १ सय ५० भन्दा बढी इरानी युद्धपोत नष्ट गरिएको, इरानका सबै पनडुब्बीहरुलाई नै डुबाइदिएको र इरानसँग रहेको नौसैनिक सुरुङ्ग-माइनको ९७ प्रतिशत भण्डार समाप्त पारिएको पनि दावी गरेको थियो।
तर मे महिनामा सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको एउटा गोप्य अमेरिकी गुप्तचर मूल्यांकनमा इरानले आफ्ना करिब ७५ प्रतिशत मोबाइल क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र युद्धपूर्वको ७० प्रतिशत क्षेप्यास्त्र भण्डार जोगाउन सफल भएको देखिएको थियो।
अमेरिकाले जुलाईमा थप दुई साता तीव्र बमबारी गरेपछि पनि आईआरजीसी र इरानी सेनाले अमेरिकी सैन्य अड्डाहरू तथा होर्मुज जलडमरूको मध्यभाग हुँदै जाने अन्तर्राष्ट्रिय पानीजहाजमाथि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न जारी राख्न सके, यद्यपि युद्धको सुरुआतको तुलनामा यसको गति भने कम भएको थियो।
इरानी सैन्य कमान्डरहरूको विश्लेषणमा, जुलाईमा अमेरिकाले गरेको आक्रमणले दक्षिणी इरानमा स्थल सैन्य कारबाहीको सम्भावित योजना बनाइरहेको संकेत छ।
वासिङ्टनबाट त्यस्तो कुनै प्रयास भए त्यसको प्रतिरोध गर्न इरानी सेना तयार रहेको उनीहरुले बताएका छन्।
विशेषज्ञहरूले इरानले अमेरिकाका बमहरूको निशानामा पर्न नसक्नेगरी भौगोलिक रूपमा छरेर निर्माण गरिएका भूमिगत सैन्य अड्डाहरूमा हतियार उत्पादन जारी राखेको बताएका छन्।
जमिनमा रहेका धेरै उत्पादन केन्द्रहरु भने पूर्ण रूपमा ध्वस्त पारिएका छन्।
जटिल र महँगा ब्यालिस्टिक क्षेप्यास्त्रका अतिरिक्त सस्तो र बनाउन सजिलो विस्फोटक इरानी ड्रोनहरूले अमेरिकालाई ठूलो संख्यामा क्षेप्यास्त्र अवरोधकहरू प्रयोगका लागि बाध्य पार्न, राडारका स्थानहरू पत्ता लगाउन, विमानस्थल वा ऊर्जा केन्द्रहरूलाई सञ्चालन रोक्न बाध्य पार्न तथा होर्मुज जलडमरूको मध्यभागमा अवरोध सिर्जना गर्न सहयोग गरेका छन्।
इरानको हवाई प्रतिरक्षा प्रणाली तथा पुरानो हुँदै गएको वायुसेनाले बमबारीका क्रममा अमेरिकी, इजरायली र अरब पक्षका विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नबाट ठूलो मात्रामा रोक्न सकेका थिएनन्।
तर तुलनात्मक रूपमा साना इलेक्ट्रो-अप्टिकल, ताप खोज्दै पछ्याउने (हिट सिकिङ) तथा मानिसले बोक्न सक्ने हवाई प्रतिरक्षा प्रणालीहरूले केही आक्रमण भने सफलतापूर्वक रोकेका छन्।
यसमा एउटा एफ-१५ लडाकु विमान खसालिएको घटना पनि समावेश छ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार, कम्तीमा ४५ वटा अत्याधुनिक एमक्यू-९ रिपियर ड्रोनहरू इरानद्वारा खसालिएका वा डाटा-लिंक अथवा सञ्चालनसम्बन्धी समस्याका कारण अमेरिकी सेनाले गुमाउनु परेको छ।
यो संख्या अमेरिकी सेनासँग रहेका यस्ता ड्रोनको कुल संख्याको करिब एक चौथाइ हो र तिनको लागत १.३ अर्ब अमेरिकी डलरभन्दा बढी हुन आउँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता अमेरिकी भूभाग घोषणा गरेको होर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज) मा वासिङ्टन र उसका सहयोगीहरूले पछिल्ला केही सातामा तेल तथा ऊर्जा सामग्रीको सीमित आवतजावत बढाउन सफल भएका छन्।
तर इरानको नौसैनिक क्षमतामा ठूलो क्षति पुर्याइए पनि क्षेप्यास्त्र, ड्रोन र तीव्र गतिका डुंगाबाट हुने आक्रमणका कारण होर्मुज हुँदै हुने तेलको प्रवाह अझै पनि युद्धअघिको स्तरभन्दा निकै कम रहेको छ।
लाल सागर र बाब अल-मन्देब जलडमरूमा पनि पनि समुद्री यातायातमा अवरोध जारी छ। इरानसँग निकट सम्बन्ध रहेका यमनका हुथीहरूले साउदी अरेबिया र त्यसका स्वार्थहरूलाई बेलाबेला चुनौति दिइरहेका छन्।
इरान र अमेरिकाबीच हाल कुनै अर्थपूर्ण संवाद भइरहेको छैन। त्यसैले युद्धको कूटनीतिक समाधानतर्फ जाने मार्ग अहिलेका लागि दृष्टिगोचर भएको देखिदैन।