आफ्नो मुलुकमाथि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको धम्की दिइरहँदा इरानले धम्कीका भरमा अमेरिकासँग इरानले कुनैपनि वार्ता नगर्ने जवाफ फर्काएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाबकालागि निरन्तर कडा अभिव्यक्ति दिन थालेपछि र मध्यपूर्वमा थप अमेरिकी नौसैनिक बल तैनाथ गर्ने घोषणा गरेपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो।
‘‘धम्कीको वातावरणमा वार्ता हुन सक्दैन। सैन्य दबाबमार्फत कूटनीति गर्नु न प्रभावकारी हुन्छ, न त उपयोगी नै’ इरानी सरकारी समाचार एजेन्सी ‘आइआरएनए’ ले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको भनाई उध्दृत गर्दै भनेको छ, ‘यदि उनीहरू वार्ता चाहन्छन् भने, धम्की, अत्यधिक माग र अव्यावहारिक विषयहरू त्याग्नुपर्छ।’
जवाफी कार्वाही गरिने जवाफ
सामाजिक सन्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै अराघचीले भनेका छन्, ‘इरान आफ्नो आणविक कार्यक्रमबारे नयाँ सम्झौताको स्वागत गर्छ, तर कुनै पनि अमेरिकी सैन्य कारबाहीको कडा जवाफका लागि पनि तयार छ।’
‘हाम्रा बहादुर सशस्त्र सैनिकहरु औँला ट्रिगरमा राखेर कुनैपनि आक्रमणको जवाफ दिन तयारी हालतमा छन्’ इरानी विदेशमन्त्री अराघचीले भनेका छन्।
तेहरानलाई आफ्नो आणविक कार्यक्रमबारे पुनः वार्तामा फर्किन आग्रह गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले भने विशाल सैन्य बेडा इरानी क्षेत्रतर्फ गइरहेको चेतावनी दिएका छन्।
‘एक विशाल सैन्य बेडा इरानतर्फ जाँदैछ’ सामाजिक सन्जाल सोसल ट्रुथमार्फत् ट्रम्पले भनेका छन्, ‘यो सैन्य बल पहिले भेनेजुएलाको नजिक तैनाथ गरिएको बलभन्दा पनि ठूलो हुने र आवश्यक परे कारबाही गर्न तयारी अवस्थामा छ।’
‘आशा छ, इरान चाँडै वार्तामा आउँछ र न्यायसंगत तथा समानतामा आधारित सम्झौता गर्छ, किनकी समय सकिँदैछ’ ट्रम्पले चेतावनीको भाषामा भनेका छन्, ‘यदि कुनै सम्झौता भएन भने भविष्यमा हुने अमेरिकी आक्रमण अघिल्ला सैन्य कारबाहीभन्दा धेरै खराब हुनेछ।’
अमेरिकाले पहिले नै विमानवाहक युद्धपोत ‘युएस अब्राहम लिंकन’ सँगै निर्देशित मिसाइल विध्वंसक जहाजहरू क्षेत्रतर्फ पठाइसकेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (युएस सेन्ट्रल कमाण्ड) ले सोमबार विमानवाहक नेतृत्वको आक्रमण समूह मध्यपूर्वी पानीमा स्थान लिएको पुष्टि गरेको छ। तर स्थान भने सार्वजनिक गरेको छैन।
एक महिना अघिदेखि इरानभर फैलिएको सरकारविरोधी प्रदर्शनपछि इरानमाथि सैन्य तयारीको धम्की आएको हो। इरानमा भइरहेका प्रदर्शनका लागि तेहरानले अमेरिका र इजरायलमाथि दोष लगाएको छ।
प्रदर्शन सुरु भएयता ट्रम्पले कहिले वार्ताको आह्वान गर्ने गरेका छन्, त कहिले ‘आफूले इरानमा सैन्य हस्तक्षेप अस्वीकार नगर्ने’ भन्दै आएका छन्।
प्रतिरोधात्मक शक्ति निर्माणको तयारीमा इरान
इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला उपविदेशमन्त्री काजेम घारीबाबादीले बुधबार चाइना मिडिया ग्रुप (सीएमजी) सहित विदेशी सञ्चारमाध्यमसँग कुराकानीमा भनेका छन्, ‘इरान पश्चिम एसियामा अमेरिकी सैन्य तैनाथी र धम्कीविरुद्ध इरान दृढताका साथ प्रतिरोधात्मक शक्ति निर्माणका लागि कटिबद्ध छ।’
‘यदि उनीहरूले सीमित सैन्य कारबाहीमात्रै गरे भनेपनि इरानले उपयुक्त जवाफ दिनेछ’ उनले चेतावनी दिए, ‘हामीले दिने जवाफ उनीहरुको आक्रमणको अनुपातमा होइन, निकै ठूलो हुनेछ, ताकि उनीहरू पुनः आक्रमण गर्न हिम्मत नगरून्।’
कुनै पनि नयाँ सैन्य कारबाही अमेरिका र इजरायलका लागि असहज हुने चेतावनीपनि
घारीबाबादीले दिए।
‘किनकि उनीहरू त्यस्तो कार्वाहीबाट हुने सम्भावित क्षतिबारे अवगत छन्’ उनले थपे, ‘अमेरिकी सैन्य दबाबले इरानलाई आत्मसमर्पण गर्न बाध्य पार्न सक्दैन। आत्मसमर्पण इरानका लागि अकल्पनीय हो।’
‘यस क्षेत्रका देशहरूलाई इरानले शत्रुका रूपमा लिँदैन तर यस क्षेत्रका कुनै देशभित्रको कुनै स्थानबाट आक्रमण गरियो भने इरानले आफूमाथि आक्रमण भएको त्यही विशेष बिन्दुलाई मात्र लक्ष्य बनाउनेछ’ उनले भने, ‘त्यो देशको सम्पूर्ण भागलाई आक्रमणको निशाना बनाइने छैन।’
गत वर्ष जुनमा अमेरिकाले इरानी आणविक स्थलमाथि बमबारी गरेपछि इरानले गरेको कतारस्थित अमेरिकी अल उदैद एयर बेसमा गरेको आक्रमणलाई उदाहरणका रुपमा प्रस्तुत गरे।
घारीबाबादीले अमेरिका र इरानबीच वार्ताका लागि अप्रत्यक्ष ‘सञ्चार च्यानल’ रहेपनि अहिले ‘औपचारिक वार्ता’ भइरहेको अस्वीकार गरे।
‘इरान कूटनीति र द्वन्द्व दुवैका लागि तयार छ, तर रक्षा तयारीलाई प्राथमिकता दिएको छ’ उनले थपे,‘ इरानको यतिबेलाको मुख्य प्राथमिकता आफूलाई २०० प्रतिशत तयार राख्नु हो।’
‘हो, इरानी मिसाइलहरू अमेरिका वा युरोपसम्म पुग्दैनन्, तर अमेरिकाका सैन्य अड्डाहरू इरान वरिपरि अवस्थित छन्’ उनले भने, ‘अमेरिका सधैं नै इरानका लागि खतराका रुपमा रहँदै आएको छ।’
इरानी सञ्चारमाध्यमका अनुसार, अमेरिकाले इरानसमक्ष चार प्रमुख सर्तहरू प्रस्तुत गरेको छ। तिनमा ‘इरानका सबै आणविक गतिविधिहरू पूर्ण रूपमा बन्द गर्ने’, ‘सबल खालका युरेनियम भण्डार इरान बाहिर स्थानान्तरण गर्ने’, ‘इरानका मिसाइल प्रणालीको दायरा कडाइका साथ सीमित गर्ने’ र
‘खाडी क्षेत्रका इरान समर्थित सशस्त्र समूहहरूलाई सबै प्रकारको समर्थन अन्त्य गर्ने’ छन्।
क्षेत्रीय समर्थन जुटाउँदै इरान
इरानले कुनै पनि अमेरिकी आक्रमणविरुद्ध क्षेत्रीय समर्थन जुटाउने प्रयास पनि थालेको छ। यस हप्ता इरानी अधिकारीहरूले साउदी अरेबिया, इजिप्ट, टर्की र संयुक्त अरब इमिरेट्स (युएई) सहित धेरै अरब देशहरूसँग सम्पर्क गरेका छन्।
साउदी अरेबिया र युएईले आफ्नो हवाई क्षेत्र इरानमाथि आक्रमण गर्न प्रयोग गर्न नदिने बताएका छन्।
इरानसँग लामो सीमा रहेको र नेटोको सदस्य राष्ट्र टर्कीले कूटनीतिक समाधानको आग्रह गरेको छ। टर्कीका विदेशमन्त्री हाकान फिदानले बुधबार (१३ माघ) अल जजिरासँगको कुराकानीमा भनेका छन् कि वासिङ्टनले तेहरानसँग पुनः आणविक वार्ता सुरु गर्नुपर्छ।
‘इरानमाथि आक्रमण गर्नु गलत हो। अर्को युद्ध सुरु गर्नु गलत हो’ फिदानले भनेका छन्, ‘इरान आफ्नो आणविक कार्यक्रमबारे पुनः वार्ता गर्न तयार छ। यो स्थितिमा अमेरिका विवाद समाधान गर्न वार्ताका लागि तयार हुनुपर्छ, वार्ताको सुरुवात आणविक विषयबाट हुनुजरुरी छ।’
‘मनोवैज्ञानिक युद्ध’ को सहारा
एक इरानी राजनीतिक विश्लेषकले ‘सीएमजी’ लाई बताएअनुसार, मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी इरानविरुद्ध निरन्तर सैन्य डर–धम्की र मनोवैज्ञानिक युद्धको रूपमा प्रयोग भइरहेको छ।
विश्लेषकका अनुसार, ट्रम्प प्रशासनले डर–धम्की र मनोवैज्ञानिक युद्धको हतियारमार्फत् इरानलाई वार्तामा बस्न बाध्य पार्न प्रयोग गर्न खोजिरहेको छ। तर, इरान पछि हट्ने कुनै संकेत नदेखिएको सुनिश्चित भएपछि मात्र अमेरिकाले वास्तविक सैन्य आक्रमण गर्ने वा नगर्ने अन्तिम निर्णय गर्नेछ।
‘सम्भावित द्वन्द्वका फाइदा र घाटाको विस्तृत मूल्याङ्कन अमेरिकाले गर्नेछ’ ती विश्लेषकले भने, ‘किनकि युद्ध सुरु गर्नु सजिलो हुन्छ तर अन्त्य गर्नु अत्यन्तै कठिन।’
उनका अनुसार, अमेरिकाको प्राथमिकता छिटो र सजिलो जित हासिल गर्नु हुनेछ, न कि छुटकारा पाउन नसक्ने क्षेत्रीय दलदलमा आफूलाई फसाउनु।
(सीजीटीएनको सहयोगमा)