इरानमाथि अमेरिकी आक्रमण यसै हप्ता हुने दावी अमेरिकी सन्चार माध्यमहरुले गरिरँदा रूसी विदेशमन्त्री सेर्गेइ लावरोभले इरानमाथि आक्रमणको कदम नचाल्न चेतावनी दिएका छन्।
बुधबारको एक अन्तर्वार्तामा लावरोभले भनेका छन्, यदि इरानमाथि अमेरिकी आक्रमण भए त्यस परिणाम गम्भीर हुनेछन्।
साउदी अरेबियाको अल–अरबिया टेलिभिजनसँगको अन्तर्वार्तामा लावरोभले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन्।
‘आगोसँग नखेल्न’ सुझाव
लावरोभको अन्तर्वार्ता रुसी विदेश मन्त्रालयको वेबसाइटमासमेत पोस्ट गरिएको छ र सोही अन्तर्वार्ताको आधारमा रोयटर्सले यसलाई प्रमुख समाचार बनाएको छ।
लावरोभको अन्तर्वार्ता सो टेलिभिजनले अमेरिका–इरानका वार्ताकारहरूले जेनेभामा अप्रत्यक्ष वार्ता सम्पन्न गरेको एक दिनपछि प्रसारण गरेको हो। सो वार्ताको उद्देश्य वासिङ्टन–तेहरानबीच बढ्दो नयाँ संकट टार्नु थियो।
‘इरानमाथि आक्रमण गरिए परिणाम राम्रो हुने छैन। यसअघि पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएई) को नियन्त्रणमा रहेका इरानी आणविक स्थलहरूमा आक्रमण भइसकेका छन्’ लावरोभले भनेका छन्, ‘हाम्रो आँकलनमा त्यहाँ वास्तविक आणविक दुर्घटनाको जोखिम थियो।’
रोयटर्सका भनाईमा, लावरोभले आफूले खाडी क्षेत्रका अरब मुलुकहरु र खाडी राजतन्त्रहरूबाट आउने प्रतिक्रियाहरूलाई सावधानीपूर्वक अवलोकन गरिरहेको र यस क्षेत्रमा कसैले पनि तनाव बढेको देख्न नचाहेको उल्लेख गरेका छन्।
लावरोभको भनाई छ, यस क्षेत्रका सबै राष्ट्रले बुझेका छन् कि, यो (इरानमाथिको आक्रमण) आगोसँग खेल्नु सरह हो।’
तनाव बढाउँने कदम पछिल्ला वर्षहरूमा चालिएका सकारात्मक कदमहरूलाई उल्ट्याउनु हुने बताउँदै रुसी विदेशमन्त्रीले इरान र साउदी अरेविया लगायतका मुलुकहरुबीच सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिएका छन्।
इरानप्रति विश्वास
रोयटर्ससँगको कुराकानीमा एक वरिष्ठ अमेरिकी अधिकारीले जेनेभा वार्तापछि इरानले संयुक्त राज्य अमेरिकासँगको टकराव समाधान गर्न लिखित प्रस्ताव पेश गर्ने अपेक्षा अमेरिकाले गरेको छ।
जेनेभामा वार्ता भइरहेका बेला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक ह्वाइट हाउसमा भएको थियो। बैठकमा उनीहरूलाई खाडी क्षेत्रभर तैनाथ सबै अमेरिकी सैन्य बलहरू मार्चको मध्यसम्ममा पूर्ण रूपमा तयारी अवस्थामा हुनुपर्छ भनिएको थियो।
लावरोभका भनाईमा, अरब मुलुकहरुले वासिङ्टनलाई संयमता अपनाउन र इरानका वैध अधिकारहरू हनन नहुने गरी सम्झौता गर्न र इरानले पनि शान्तिपूर्ण आणविक संवर्धन कार्यक्रम हुने ग्यारेन्टी प्रदान गरोस् भन्ने सन्देश अमेरिकालाई प्रष्ट रुपमा दिएका छन्।
लावरोभले इरानी नेताहरूसँग आफू नजिक र नियमित सम्पर्कमा रहेको बताएका छन्। उनले भनेका छन्, ‘इरानले आणविक अप्रसार सन्धिको पालना गर्नेछ र यस सम्बन्धी समस्या समस्याको समाधान इमान्दारीपूर्वक गर्न चाहेकोमा हामीलाई कुनै शंका छैन।’