नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका एक वीर योद्धा थिए, बलभद्र कुँवर। नालापानीको युद्धमा नेपाली सैन्य टोलीको नेतृत्व गर्दै उनले जस्तो वीरता देखाए, त्यसले अंग्रेजहरुलाई समेत चकित बनायो।
नेपाल–अंग्रेज युद्ध र त्यो युद्ध अन्त्यका लागि दुई मुलुकबीच सुगौली सन्धि (सन् १८१६) भएको पनि २ सय १० वर्ष बितिसकेको छ।
तर, त्यही युद्धका एक वीर कमाण्डर बलभद्र कुँवरले निर्माण गरेको घर १० वर्षअघिको भूकम्पअघिसम्म पनि काठमाडौँमा थियो भन्ने कुरा जो कोहीका लागि अनौठो र अविश्वसनीय लाग्न सक्छ।
हो, अंग्रेजसँगको युद्धबाट फर्केपछि आफ्नो परिवारका लागि बलभद्रले आफै खटिएर निर्माण गरेको घर काठमाडौँको हलचोक पश्चिमपट्टिको इचंगु नारायणको मन्दिर (हाल नागार्जुन नगरपालिका) मा यियो।
आफनो परिवारका लागि घर निर्माण गरेर उनी पन्जाव सम्राट रणजीत सिंहको सेनामा भर्ति हुन लाहोर प्रस्थान गरेका थिए।
बलभद्रको पसिना बगाएको घर
बलभद्रका सन्तति तथा काठमाडौँ रानीपोखरीस्थित दरबार हाइस्कूलका पूर्व प्राचार्य रामराजा कुँवरका साथ २०७० मा असोजमा म लाहोर जानुअघि बलभद्रले निर्माण गरेको घरमा पुगेको थिएँ।
उनका अनुसार, बलभद्रका बुबा चन्द्रवीर कुँवर पनि नेपाल एकिकरण अभियानका योद्धा थिए।

चन्द्रवीरका तीन भाई छोरामध्ये बलभद्र माहिला थिए। जेठा छोराको नाम वीरभद्र थियो भने कान्छाको नाम चेतसिंह कुँवर थियो। तीनै जना नेपाली सेनामा आवद्ध थिए।
कुँवर परिवारले बिसं १८६४ तिर नै इचंगु नारायण मन्दिर पूर्वतर्फ ढोलुंगे खोला र जुँगे खोलको बीचमा रहेको करिव १६ रोपनीको जग्गासहितको डाँडो (जग्गा) खरिद गरेको थियो।
त्यो जग्गा बलभद्रका दाजु वीरभद्रका नाममा राखिएको थियो।
नेपाल–अंग्रेज युद्धपछि तीनै दाजुभाई काठमाडौँ फर्के। त्यसपछि तीनै दाजुभाईले आपसी सल्लाह गरी आ–आफ्ना लागि तीन घर लहरै निर्माण गरे।
आफ्नो घर निर्माणका लागि बलभद्र आफै खटे।
बसोबासको लागि घर बाहेक पुजाआजाका लागि त्यही जग्गामा उनीहरुले भगवतीको मन्दिरपनि निर्माण गरेका थिए।
प्राचार्य कुँवरका अनुसार त्यो घरजग्गा मौखिक रुपमा मात्र भागबण्डा गरिएको रहेछ।
सुगौली सन्धिले नेपाल एकिकरण अभियान समाप्त गरेको थियो। बलभद्र एकातिर बेरोजगार थिए, अर्काेतिर अंग्रेजसँग लड्ने धोको मरेको थिएन। त्यसैबेला पन्जाव नरेश रणजीत सिंह अंग्रेजसँग युद्धको तयारीमा थिए।
त्यसैले, नवनिर्मित घरमा श्रीमति मालिकादेवी, दुई नावालग सन्तान शरण भद्र र केशर सिंहलाई छाडेर बलभद्र रणवीर सिंहको सेनामा भर्ति हुन बिसं १८७६–७७ ताका लाहोर प्रस्थान गरे।
नावालग छोराहरु शरणभद्र र केशर सिंहसहित बलभद्रकी श्रीमति मालिकादेवीले यही घरबाट बदलभद्रको अन्तिम विदाई गरेकी थिइन्।
तर, अंग्रेजसँग लड्न पन्जाव नरेश रणवीर सिंहको सेनामा भर्ति भएका बलभद्र कुँवर अफगानिस्तानका पठानहरुसँँग लड्न जानु पर्यो।
प्राचार्य कुँवरका अनुसार ३ चैत्र १८७९ (१३ मार्च १८२३ मा अफगानिस्तानको नौसेरामा भएको लडाईंमा बलभद्रको निधन भयो।
घरजग्गा दाजुद्वारा कब्जा
उता बलभद्र लडाईंमा मारिए, यता बलभद्रले निर्माण गरेको घरसमेत उनको परिवारले गुमाउनु पर्यो।
जग्गा बलभद्रका दाजु वीरभद्रका नाममा थियो र भागबण्डा मौखिक रुपमा मात्र गरिएको थियो। त्यसैले, आफ्नो नाममा रहेको जग्गा र त्यहाँ रहेको बलभद्रको घर जानु वीरभद्रले हडपे।
तर, जंगबहादुरको उदयपछि त्यो घर–जग्गा राणा परिवारको हातमा पर्यो। श्री ३ चन्द्र शमशेरले राणा परिवारको स्वास्थ्योपचार गर्ने बैद्य परिवारलाई बकसस्वरुप दिएका रहेछन्।
२०७२ असोजमा बलभद्रका सन्नति प्राचार्य कुँवरसँगै इचंगुको सोही स्थानमा पुग्दासमेत बलभद्रले निर्माण गरेको दुईतले घर छँदै थियो।
बलभद्रले घर निकै बलियो बनाएका रहेछन्। त्यसैले, एक सय वर्षभन्दा पुरानो भएपनि बिसं १९९० को भूकम्पमा समेत यो घर जोगिएको थियो।
उनका दाजु वीरभद्र र भाई चेतसिंहको घरको नामोनिशान भने धेरै पहिले मेटिएको रहेछ। भगवतिको मन्दिर भने अहिलेपनि छँदैछ।
लाहोर जानुपूर्व बलभद्रले आफ्नो परिवारका लागि निर्माण गरेको यो घरले पछिल्लो समय स्याहार–सम्भार पाएको थिएन। श्री ३ चन्द्रबाट बकसस्वरुप प्राप्त गरेको बैद्य परिवारका हकवालाले त्यहाँको घरजग्गा कसैलाई खेतिपातिको लागि दिएका रहेछन्।
प्राचार्य कुँवरका साथ म २०७० असोजमा त्यहाँ पुग्दा घरको भुइँतला गाइँंभैसी बाध्ने स्थान बनाइएको थियो, माथिल्लो तला घाँस राख्न प्रयोग भएको थियो।
बिसं १९९० को भूकम्प सजिलै थेगेको वीर बलभद्रको घर स्याहार–सम्भारको अभावमा निकै जीर्ण भइसकेकाले १२ बैशाख २०७२ को शक्तिशाली भूकम्प बलभद्रको घरले थेग्न सकेन।
घर अहिले भग्नावशेषमा परिणत भइसकेको छ। घर बनाउन प्रयोग भएका इँटाहरु भने अहिलेपनि त्यहाँ भेटिन्छन्।