लिपुलेक प्रकरण : सरकारको वक्तव्यमा चीनका लागि ६ जना पूर्व राजदूतको समर्थन

चीनका लागि नेपालका ६ जना पूर्व नेपाली राजदूतहरुले आफ्नो मुलुकको सीमा रक्षाकालागि अविलम्व कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

लिपुलेकका सन्दर्भमा नेपाल सरकारले आइतबार (२० बैशाख) जारी गरेको वक्तव्यको सराह्रना गर्दै उनीहरुले सीमा विवादका सन्दर्भमा संवेदनशील र प्रभावकारी परराष्ट्रनीति अपनाउन अपिलसमेत गरेका छन्।

चीनका लागि नेपालका पूर्व राजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले यस्तो अपिल गरेका हुन्।

वक्तव्य जारी गर्ने ६ जना पूर्व राजदूतहरुमध्ये आचार्य सबैभन्दा पुराना र ओली निवर्तमान राजदूत हुन्।

यसकारण आयो राजदूतहरुको विज्ञप्ती
भारतीय विदेश मन्त्रालयले बिहीबार (१७ बैशाख) मा प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेकबाट कैलाश मानसरोवरसम्मको यात्रा सञ्चालन हुने र यो काम चीन सरकारसँगको समन्वयमा हुन लागेको उल्लेख गरेको थियो।

नेपाली भूमिबारे भारत–चीनबारे भएको उपरोक्त सहमतिप्रति आपत्ति प्रकट गर्दै नेपाल सरकारले दुबै मुलुकलाई आइतबार (२० बैशाख) कुटनीतिक नोट पठाइएको जानकारी एक वक्तव्यमार्फत् दिएको थियो।

चीनका लागि पूर्व नेपाली राजदूतहरुले सोमबार जारी वक्तव्यमार्फत् नेपाल सरकारको उपरोक्त वक्तव्यको समर्थन गरेका हुन्।

भूराजनीतिक चिन्ता
वक्तव्यमा पूर्व राजदूतहरुले नेपाल र चीनको युगौंँ पुरानो मैत्री सम्बन्धलाइ अहिलेको जटिल हुँदै गैरहेको भू-राजनैतिक चुनौतीहरुबीच कसरी थप प्रगाढ बनाउन सकिन्छ भन्ने बारे छलफल गरिएको उल्लेख गरेका छन्।

नेपालले सधै एक चीन नीति दृढतापूर्वक पालना गरेको उल्लेख गर्दै राजदूतहरुको वक्तव्यमा नेपालको भूमि कुनै पनि मित्रशक्ति बिरुद्ध प्रयोग हुन् नदिने नेपाल सरकारले लिदै आएको अविचलित प्रतिबद्धता स्मरण गरिएको छ।

राजदूतहरुको वक्तव्यमा अहिलेको विश्व परिवेशमा नेपाल र चीनबीच भएका ‘बीआरआई’ लगायतका सबै आर्थिक, संस्कृतिक , शैक्षिक र विकास परियोजनाहरुको शिघ्र कार्यान्वयन र संचालन गर्न नेपाल दृढतापूर्वक अघि बढ्नु पर्छ भन्ने सबैको एउटै अभिमत रहेको’ पनि उल्लेख गरिएको छ।

मित्रराष्ट्र चीनले नेपालको आर्थिक, सामाजिक , सास्कृतिक , पूर्वाधार विकाश लगायतका क्षेत्रमा सदैव उदारता पूर्वक गरेको सहयोगको उच्च मूल्याडकन गर्दै पूर्व राजदूतहरुले नेपालले पनि मित्र राष्ट्र चीनलाई दिएको राजनीतिक एवं कूटनीतिक सहयोग एवं समर्थनको स्मरण गरेका छन्।

पंचशीलका आधारमा विकशित हुँदै आएको दुई देशको सम्बन्धलार्इ नयाँ उचाइमा पुर्याउन नयाँ सरकार प्रयत्नशील रहनेछ भन्ने आफूहरुको विश्वास रहेको उनीहरुले उल्लेख गरेको छ।

चीन-भारतलाई आग्रह
‘विश्वको दोश्रो ठुलो आर्थिक महाशक्ति चीन हाम्रो सीमाना जोडिएको र हामीप्रति गहिरो सद्भावना राख्ने देश हो’ वक्तव्यमा भनिएको छ, ‘नेपालका वर्तमान चुनौतीहरुलार्इ मनन गर्दै चीन र नेपालले सामाजिक आर्थिक विकासमा पहिलेभन्दा अझ बढी पारस्परिक सहयोग गर्दै विकास परियोजनाहरुलार्इ तदारुकता साथ पूरा गर्न अग्रसर हुनु पर्छ।’

सरकारी स्तरमा मात्र नभई जनस्तरमासमेत आपसी सहयोगलाइ सुदृढ गर्नु पर्ने निष्कर्षमा आफूहरु पुगेको पनि पूर्वराजदूतहरुले उल्लेख गरेका छन्।

लिपुलेक–कालापानी र लिपियाधुरा नेपालको अभिन्न भूभाग भएकाले मित्रराष्ट्र चीन र भारत दुबै नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुने विश्वास हामीलाई छ’ उनीहरुले भनेका छन्, ‘नेपाल सरकारले जारी गरेको वक्तव्यको सराह्रना गर्दै आफ्नो सार्वभौम सीमा रक्षाकालागि अविलम्व कूटनीतिक पहल गर्न सराकारको ध्यानाकर्षण समेत गर्दछौ।’