चीन-किर्गिस्तान मिडिया सहकार्य मञ्चको सम्मेलन बुधबार किर्गिस्तानको राजधानी बिस्केकमा सम्पन्न भएको छ।यो सम्मेलन ‘उज्ज्वल एससीओ भविष्यका लागि चीन-किर्गिस्तान मिडिया सहकार्यलाई अझ गहिरो बनाऔं’ भन्ने मूल नारासहित सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा चीन तथा किर्गिस्तानका सञ्चारमाध्यमका प्रतिनिधि, सरकारी अधिकारी, विज्ञ, विद्वान तथा व्यवसायिक क्षेत्रका नेतासहित करिब एक सय जनाको सहभागिता थियो।
सम्मेलनका सहभागीहरुले आर्थिक तथा व्यापारिक विकास, सांस्कृतिक आदानप्रदान र सञ्चार सहकार्यजस्ता विषयमा गहन विचार-विमर्श गरेका थिए।
सहभागीहरूले नयाँ युगमा चीन र किर्गिस्तानबीचको सम्बन्ध निरन्तर रूपमा अझ समृद्ध र सुदृढ बन्दै गएको उल्लेख गरे।
साथै दुबै मुलुकका सञ्चार संस्थाहरूले आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा वहन गर्नुपर्ने, साझा मूल्यमा सहमति निर्माण गर्नुपर्ने, दुबै देशका जनताको सुखद र समृद्ध जीवनप्रतिको साझा आकांक्षालाई प्रतिबिम्बित गर्नुपर्ने तथा चीन–किर्गिस्तानबीचको असल छिमेकी सम्बन्ध, मित्रता र पारस्परिक लाभदायी सहकार्यका कथाहरू संयुक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
यस वर्ष सांघाई कोअपरेशन फोरम (एससीओ) स्थापना भएको २५ वर्ष पूरा भएको अवसर पनि हो।
त्यसैले, २०२६ चीन–किर्गिस्तान मिडिया सहकार्य मञ्चका सहभागीहरूले ‘पारस्परिक विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, सभ्यतागत विविधताको सम्मान र साझा विकास’ मा आधारित ‘शाङ्घाई भावना’ लाई आत्मसात् गर्दै संगठनले निरन्तर सशक्त विकासको गति कायम राखेको विश्वास व्यक्त गरेका थिए।
एससीओ सदस्य राष्ट्रका सञ्चारमाध्यमहरूले आपसी सम्बन्धको सेतु (पुल) का रूपमा आफ्नो भूमिकालाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उनीहरुको धारणा थियो साथै ‘शाङ्घाई भावना’ लाई प्रवर्द्धन गर्दै व्यवहारिक सहकार्यलाई मजबुत बनाउने र जनस्तरको सम्पर्कलाई अझ सघन बनाउने काममा लाग्नुपर्नेमा उनीहरुले जोड दिए।
यसबाट अझ सुन्दर र समृद्ध एससीओ परिवार निर्माण गर्न आवश्यक ज्ञान, अनुभव र शक्ति योगदान पुग्ने विश्वास उनीहरुको थियो।
यो फोरमको आयोजना चीनको समाचार पत्र ‘पिपुल्स डेली’ र किर्गिज तुनु पब्लिसिंग हाउसले संयुक्त रुपमा आयोजना गरेका हुन्।
कार्यक्रममा वक्तव्य र गोलमेच संवादका अलावा अतिरिक्त ‘पहाड र नदीले जोडिएको सम्बन्ध, साझा हृदयले बाँधिएको मित्रता : भविष्यतर्फ चीन र किर्गिस्तानको सहयात्रा’ शीर्षकको फोटो प्रदर्शनी आयोजना गरिएको थियो।
त्यसबाहेक ‘ग्लोबल टाइम्स’ को तर्फबाट ‘ओभरसिज चाइना विक’ कार्यक्रमको किर्गिस्तान संस्करण पनि सञ्चालन गरिएको थियो।
मञ्चका क्रममा पिपुल्स डेलीले किर्गिज तुसु पब्लिसिङ हाउससँग सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। त्यसैगरी ग्लोबल टाइम्सले ‘स्लोभोज किर्गिस्ताना’ सँग पनि सहकार्य सम्बन्धी सम्झौता गरेको छ।
कार्यक्रमस्थलमै बेल्ट एण्ड रोड न्यूज नेटवर्क (बीआरएनएन) को सचिवालय र ग्लोबल टाइम्सले संयुक्त रूपमा एससीओ सदस्य राष्ट्रका युवाहरूको रुचि र प्रवृत्तिबारे एक प्रतिवेदन सार्वजनिक गरेका थिए।
प्रतिवेदनअनुसार ‘एससीओ’ सँग आवद्ध मुलुकका युवाहरूले सामान्यतः एससीओका अवधारणा र गतिविधिलाई समर्थन गरेका छन्। उनीहरूले विश्व शासन प्रणालीमा एससीओले खेलेको सकारात्मक भूमिकाको उच्च मूल्यांकन गरेका छन्।
त्यसबाहेक प्रतिवेदनमा सदस्य राष्ट्रहरूबीच विभिन्न क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार हुने अपेक्षा पनि युवाहरूले राखेको प्रतिवेदनमा उल्लेख छ।