नेपाली श्रमिक र यात्रुको सुविधा विस्तारबारे हङकङमा छलफल

हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर)) का सुरक्षा सचिव माननीय टाङ पिङ–कुङसँग हङकङका लागि नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले औपचारिक भेटवार्ता गरेका छन्।

भेटका क्रममा महावाणिज्यदूत लेखकले गैर–चिनियाँ बसोबासीहरुका लागि हालै लागू गरिएको मुख्य भूमि भ्रमण अनुमति प्रणालीको सफल कार्यान्वयनप्रति बधाई ज्ञापन गरेका थिए।

हङकङमा नेपाली समुदायले पुर्‍याएको ऐतिहासिक योगदान स्मरण गर्दै डा. लेखकले नेपाली समुदायलाई लक्षित गरी हुने गरेका ठगीसम्बन्धी गतिविधि नियन्त्रणमा स्थानीय निकायहरूले गरेको सहयोगप्रति आभारपनि प्रकट गरेका थिए।

नेपाली श्रमिकहरूका लागि सहज भिसा प्राप्ति तथा हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ट्रान्जिट गर्ने नेपाली यात्रुहरूलाई ट्रान्जिट भिसा छुट दिनुपर्ने विषय उठाएका थिए।

सचिव टाङले हङकङको कानून र सुरक्षासम्बन्धी व्यवस्थाबारे जानकारी गराएका थिए। हङकङलाई विश्वकै सुरक्षित शहरमध्ये एक मानिएको उल्लेख गर्दै उनले नेपाली समुदायले स्थानीय कानुनको पालना गरेकोमा उच्च मूल्याङ्कन गरेका थिए।

सरकारको कार्य विविधिकरणको नीतिअनुसार नेपालीलाई सरकारी जागिरमा आवेदन दिन प्रोत्साहित गर्दै सचिव टाङले ट्रान्जिट भिसा सम्बन्धी नेपालको मागलाई निकट भविष्यमा सकारात्मक रूपमा अध्ययन गरिने प्रतिवद्धता व्यक्त गरे।

भेटका क्रममा दुबै पक्षबीच श्रम विनिमय तथा आप्रवासनसम्बन्धी विषयमा नजिकबाट सहकार्य गर्ने सहमति भएको हङकङस्थित नेपाली महावाणिज्य दूतावासलेजारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

छलफलमा सुरक्षा सचिव टाङका साथमा स्थायी सचिव प्याट्रिक ली, उपसचिव माइकल च्यु, प्रशासनिक सहायक ज्याक हो र सुरक्षा समन्वय सम्बन्धी सहायक सचिव एड्ली श्याम लगायत सहभागी थिए भने नेपालको तर्फबाट महावाणिज्यदूत डा. लेखकका साथमा कन्सुल सतिष गुरुङ उपस्थित थिए।