सुदुरपश्चिमवासीको सपनालाई हराबरा बनाउँदैछ दोधारा–चाँदनी सुक्खा बन्दरगाह 

  • २०८२ श्रावण २२, बिहीबार

दोधारा चाँदनी (कञ्चनपुर) : डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ। महेन्द्रनगर आउतजावत गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने उनलाई महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पना समेत थिएन

महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपर्थ्यो,  कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन’ भट्ट भन्छन्, ‘अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ।’

उनी विसं २०२२ देखि यहाँ बस्दै आएका छन्। त्यसक्रममा उनले विगतमा अनेक दुःख खेपेका छन्।

अहिले महाकाली नदीमा पक्की पुल र सडक बनेपछि दोधारा चाँदनीको मुहार फेरिएको उनी बताउँछन्।

‘महेन्द्रनगर जान भारतको बाटो भएर जानुपथ्र्यो भारतीय सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिन्थे’ उनी सम्झन्छन्, ‘नेताहरूले सुक्खा बन्दरगाह बन्ने आश्वासन दिएको दशक बढी भइसकेको थियो। तर, त्यो आश्वासन पुरा होला र यसरी विकास होला भन्ने हामीलाई लागेको थिएन ।’

घर नजिकै बन्दरगाह निर्माण हुने भएपछि यहाँको उत्पादनले बजार पाउने अपेक्षा उनलाई छ।

दोधारा चाँदनी–१ का स्थानीय डम्बर धामीका एक छोरा रोजगारीका लागि भारतको बेंग्लोरमा छन् । बन्दरगाह निर्माणपछि छोरोले घर छेउमै रोजगारी पाउने आशा धामीलाई पनि छ ।

‘बन्दरगाह बनेपछि घरमै पसल राखे पनि राम्रो चल्छ, भारत जनुपदैन।’ उनले आशा व्यक्त गरे, ‘अहिले यहाँ धेरै मानिसको आवतजावत पनि बढेको छ।’

महाकाली नदीमा पक्की पुल र सुक्खा बन्दरगाहसम्म छ लेनको पक्की सडक बनेपछि यहाँको जग्गाको मूल्य समेत बढेको छ। विगतमा रु एकरदुई लाखमा बिक्री हुने यहाँको जग्गाको मूल्य अहिले रु ७० लाखसम्म बिक्री भइरहेको छ।

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले यहाँका व्यवसायीले समेत तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए। त्रिदेशीय नाकाको सपना देखेका यहाँका व्यवसायीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन्।

छिमेकी मुलुक भारतको रूद्रपुर सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो। नेपालको दोधारा चाँदनीदेखि ९० किलोमिटर टाढा रहेको उक्त औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ।

यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन। त्यसकारण पनि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणसँगै यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्ने व्यवसायीहरू बताउँछन्।

‘दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३ सय किलोमिटर घुमाएर यहाँ ल्याउनपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल भन्छन्, ‘बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ।’

मल्लका भनाईमा, अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयात–निर्यात हुने गरेको छ।

‘सुदूरपश्चिममा जडीबुटीलगायतका थुप्रै सम्भावना छन् बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ’ उनी भन्छन्, ‘यसले वस्तुको लागत त घट्छ नै रोजगारीका सम्भावना समेत खुल्छन्।’

भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने उनी बताउँछन्।

विसं २०६४ मा सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा त भयो। तर विभिन्न प्रक्रियागत अल्झनका कारण निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

घोषणाको डेढ दशकपछि भने सरकारले दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण अघि बढाएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्यको थालनी भइसकेको छ।

‘निर्माण कार्यको प्रारम्भिक काम सुरू भएको छ, पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम हुनेछ’ गजुरेल भन्छन्, ‘यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुनेछ।’

बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्ने गजुरेल बताउँछन्।

‘यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरी उद्योगधन्दा खेल्नुपर्छ’ उनले थपे, ‘यही नाका भएर तेस्रो मुलुकसँग निर्यात गर्न सकिने ठूलो अवसर छ त्यसकारण निर्यात गर्ने गरी पनि उत्पादनमा जोड दिनुपर्छ।’

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माणको थालनी भएको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १८ जेठ २०८० (जुन १, २०२३) मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सो सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रूपैयाँ लागतमा ठेक्का सम्झौता गरेको हो।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

सुदूरपश्चिममा अहिलेसम्म भारतसँगको कनेक्टिभिटी सजिलो ढङ्गले विकास नभएका कारण भारतसँग व्यापार हुन सकेको छैन। कैलालीको त्रिनगर नाकामा भारतसँग आवतजावतबाहेक व्यापारिक लाभ नेपालले सकेको छैन।

छिमेकी मुलुक भारतका सबैभन्दा ठूला औद्योगिक सहरहरू र महत्वपूर्ण आर्थिक गतिविधि र औद्योगिक करिडोर भएका सहरहरूसँग कञ्चनपुर नजिक छ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिममा थुप्रै सम्भावनाको ढोका खुल्ने, तर त्यसबाट लाभ लिन नेपाल पूर्वतयारीमा जुट्नुपर्ने आर्थिक विश्लेषक गोर्कण अवस्थी बताउँछन्।

‘यो नाका सुचारु हुनेबित्तिकै लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ’ उनी भन्छन्, ‘नाका सुचारू हुनुभन्दा अगाडि सुदूरपश्चिममा सरकारले औद्योगिक र कृषिको विकास गर्नसके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ।’

जहाँसम्म सुक्खा बन्दरगाहसम्मको पहुँचको विषय हो, नेपालतर्फ ६ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ।

  • २०८२ श्रावण २२, बिहीबार