नारायणी नदी आसपास चराको संख्या र प्रजातिमा बृद्धि  

नारायणी नदी क्षेत्रमा गत वर्ष भन्दा बढी प्रजातिका चरा भेटिएका छन्। गतसाल ४१ प्रजातिका चरा भेटिएकामा यस वर्ष ४२ प्रजातिका चारा भेटिएका हुन्।

गत वर्षजस्तै यस वर्षपनि चितवन राष्ट्रिय निकुन्जले जलपंक्षीहरुको गणना गरेको थियो। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको बताएका छन्।

उनका भनाईमा, गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिए।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका हुन्।

नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले उल्लेख गरेका छन्।

‘सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो’ चौधरी भन्छन्, ‘यस वर्ष गत वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्यापनि धेरै देखिएको छ।’

नेपालमा ९०३ प्रजातिका पंक्षी सुचीकृत भएका छन्। तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले उल्लेख गरे।

साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएको उनी बताउँछन्।