मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको थियो ।
सुरुआतमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दियो ।
दुई तले भवनमा सञ्चालनमा रहेको यो म्युजियमलाई पनि विसं २०७२ को महाभूकम्पले क्षति पुर्यायो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो ।
पुन:निर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्यो । गाउँपालिकाले भौतिक संरचनालाई पुन: निर्माण गरेको थियो ।
त्यसपछि गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ ।
हाल संस्थाले दुई जना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिइन् । गुरुङका भनाईमा, उचित व्यवस्थापनको अभावमा स्थापनाको २८ वर्ष पुग्दा म्युजियम ओझेलमा पर्न थालेको छ ।
व्यवस्थापन र आवश्यक प्रचार प्रसारको अभावमा अपेक्षा गरिएअनुरुप पर्यटक भित्र्याउन नसकिएको धेरैको गुनासो छ। गुरुङका अनुसार बर्सेनि वैशाख, जेठ, असोज र कात्तिक महिनामा भने यहाँ आउनेको सङ्ख्या केही बढ्ने गरेको छ ।
‘केही पनि प्रयास नभएको होइन, म्युजियमको विशेषता झल्काउने ‘ब्रोसर’ निर्माण गरी पर्यटन व्यवसायीलाई वितरण गरिएको छ । विभिन्न खोजअनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामग्रीहरू व्यवस्थित गरिएका छन् । म्युजियमभित्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामग्रीहरु राखिएका छन्’ गुरुङले भनिन्, ‘यहाँको कृषि, पर्यटन, जैविक विविधतासँगै प्राकृतिक जडीबुटी, खनिज तथा वनस्पति, शालिग्राम शिला, लाइब्रेरी, वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । अब यसको व्यापक प्रचारको खाँचो छ ।’
मुस्ताङको प्राचीन धर्मसंस्कृति झल्काउनेदेखि एकाइ कावागुचीका तस्बिर तथा अभिलेख पनि यहाँ सङ्ग्रहित गरिएका छन् । एउटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउन सकिने भएकाले यहाँको इको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि आभदायी हुने स्थानीयहरू बताउँछन् ।
जोमसोमस्थित पुथाङ विमानस्थल नजिक दक्षिणरपश्चिमको १६ रोपनी भिरालो स्थानमा रहेको यस इको म्युजियमसम्म पुग्न पछिल्लो समय गाउँपालिकाले रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ । म्युजियमको परिसरमा स्याउ, सल्ला, धूपीका बिरुवा रोपिएका छन् । पुथाङ विमानस्थलबाट पैदलै १० मिनेटमा म्युजियसम्म पुग्छ सकिन्छ ।
आवश्यक प्रचार प्रसार गर्न सके मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरू इको म्युजियम हेर्न आउने अवस्था बन्ने छ ।