राष्ट्रपति सी–पुटिनबीच फोनवार्ता, युक्रेन संकट र एससीओ सम्मेलनबारे कुराकानी

  • २०८२ श्रावण २५, आईतवार

युक्रेन संकटबारे चीनको स्थिर र स्पष्ट धारणा रहने र परिस्थिति जस्तोसुकै भए पनि चीनले शान्ति वार्ता प्रवर्द्धन गर्ने कुरा चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्।

जटिल समस्याहरूको सरल समाधान नहुने बताउँदै राष्ट्रपति ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा चीनका सिद्धान्त र धारणा स्पष्ट गरेका हुन्।

आफ्ना रुसी समकक्षीसँगको कुराकानीमा राष्ट्रपति सीले भनेका थिए, ‘रूस र संयुक्त राज्य अमेरिकाबीच सम्पर्क कायम भएको, सम्बन्ध सुधारोन्मुख रहेको र युक्रेन संकटको राजनीतिक समाधानलाई प्रवर्द्धन गरिएको देख्दा चीन हर्षित छ।’

फोनवार्ताका क्रममा पुटिनले युक्रेन संकटको वर्तमान अवस्थाबारे, साथै रूस र अमेरिकाबीच हालै भएको फोन सम्पर्क रसंवादबारे राष्ट्रपति सीलाई जानकारी दिएका थिए।

त्यसक्रममा पुटिनको भनाई थियो, ‘संकटको राजनीतिक समाधानमा चीनले खेलेको रचनात्मक भूमिकाको रूसले उच्च मूल्याङ्कन गरेको छ। रूस–चीनबीचको समग्र रणनीतिक साझेदारी र समन्वय कुनै पनि परिस्थितिमा परिवर्तन हुने छैन।’

चीनसँग घनिष्ठ सम्पर्क जारी राख्न रुस तत्पर रहेको पनि पुटिनले बताएका थिए।

दुवै राष्ट्राध्यक्षले आपसी उच्चस्तरीय राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयको प्रशंसा गरेका थिए। यसक्रममा दुई देशबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन सँगै काम गर्ने सहमतिपनि जनाए।

दुई शीर्ष नेताबीच अगष्टको अन्त्यताका चीनको तिआन्जिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई मित्रता, एकता र फलदायी परिणामको शिखर सम्मेलन बनाउने विषयमा पनि छलफल भएको थियो।

त्यसक्रममा उनीहरुले एससीओको उच्च–गुणस्तरीय विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न संगठित प्रयास गर्ने वाचा गरेका थिए।

  • २०८२ श्रावण २५, आईतवार