‘ब्लु इकोनोमी’ को उच्चगुणस्तरीय वृद्धिमा चिनियाँ छलांग

  • २०८२ श्रावण २९, बिहीबार

चीनको समुद्री अर्थतन्त्र (ब्लु इकोनोमी) लाई १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) मा व्यापक बृद्धिका लागि तयार पारेको छ। नीति निर्माणमा चीन सरकारको निरन्तर सहयोग र नवप्रवर्तन क्षमतामा भएको बृद्धिका कारण यो स्थिति सिजैना भएको हो। चीनको समुद्री अर्थतन्त्र विश्वकै सबैभन्दा ठूलो र व्यापक समुद्री औद्योगिक प्रणालीयुक्त छ।

मुख्यभूमिसँग १८ हजार किलोमिटर लामो तटीय रेखा र करिब ३० लाख वर्ग किलोमिटर क्षेत्रफलको सामुद्रिक अधिकार क्षेत्र रहेका कारण विश्वको प्रमुख समुद्रिक राष्ट्रका रूपमा आफ्नो समुद्री अर्थतन्त्र विकास गर्न सवल स्थितिमा रहेको हो।

सिन्ह्वा समाचार एजेन्सीले आयोजना गरेको चाइना इकोनोमिक राउन्डटेबल नामक बहुमाध्यमीय छलफल कार्यक्रममा सहभागी अतिथिहरूले पनि यही कुरा बताएका छन्।

विगत केही वर्षहरूमा चीनको समुद्री अर्थतन्त्र स्थिर रूपमा विस्तार भएको छ। खासगरी समुद्री मत्स्य पालन, पानीजहाज निर्माण, पानीजहाज यात्रामा आधारित पर्यटन, गहिरो समुद्री खनिज उत्खनन र गहिरो समुद्री जैविक .स्रोतहरूको विकास जस्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ।

अतिथिहरुले छलफलका क्रममा ‘ब्लू ग्रोथ’ लाई प्रवर्द्धन गर्ने नीति तथा दृष्टिकोण र समुद्री प्रशासनमा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने उपायहरूपनि साझेदारी गरेका थिए।

समृद्ध समुद्री अर्थतन्त्र
२०२४ मा चीनको समुद्री अर्थतन्त्रले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो। यसको कुल समुद्री उत्पादन पहिलोपटक १० ट्रिलियन युआन (झण्डै १.४ ट्रिलियन अमेरिकी डलर) नाघ्यो।

यो तथ्यांक सन् २०१२ को तुलनामा दोब्बरभन्दा बढी रहेको राष्ट्रिय विकास तथा सुधार आयोगका अधिकारी मा वेइचेनले उल्लेख गरेका छन्। उनका अनुसार चीनसँग अहिले विश्वकै सबैभन्दा ठूलो र व्यापक समुद्री औद्योगिक प्रणाली छ र सबै १५ प्रमुख समुद्री उद्योगलाई समेटेको छ।

यससन्दर्भमा उनले चीनले निर्माण गरेको पानीजहाजको उदाहरण दिए। उनको भनाई थियो,
‘२०२४ मा चिनियाँ जलयान निर्माणकर्ताहरूले विश्व बजारमा सबै तीन परम्परागत सूचकहरूमा (सम्पन्न भएको उत्पादन मात्रा, नयाँ र बाँकी अर्डर) शीर्ष स्थान ओगटेका थिए’ उनले भने, ‘हरेकमा विश्व बजारको आधाभन्दा बढी हिस्सा सामेल छ भने नयाँ अर्डरको मात्रामा ७० प्रतिशतभन्दा बढी हिस्सेदारी छ।’

आधिकारिक तथ्यांकअनुसार, २०२४ मा चीनको ढुवानी मात्रा र कन्टेनरबाट ढुवानी गरिएको सामाग्रीको आकार विश्वको कूल संख्याको झण्डै एक तिहाइ थियो। अहिले पानीजहाज र समुद्रीतट (अफसोर) इन्जिनियरिङ उपकरणमा यसको बजार हिस्सा विश्वव्यापी रूपमा ५० प्रतिशतभन्दा बढी पुग्यो।

बाह्य अनिश्चितताका बाबजुद यस वर्ष चीनको समुद्री अर्थतन्त्र निकै रफ्तारमा अगाडि बढिरहेको छ। प्रारम्भिक गणनाअनुसार, २०२५ को पहिलो छ महिनामा देशको कूल सन्चालन नाफा वार्षिक रुपमा ५.८ प्रतिशतले बढेर ५.१ ट्रिलियन युआन पुगेको छ।

‘ब्लूू ग्रोथ’ को इन्जिन
यो मजबुत वृद्धिलाई आधार बनाएर चिनियाँ अधिकारीहरूले समुद्री अर्थतन्त्रको विकासलाई राष्ट्रिय एजेन्डामा प्राथमिकताका साथ समावेश गरेका छन्।

जुलाईको सुरुवातमा केन्द्रीय वित्तीय तथा आर्थिक मामिला आयोगको उच्चस्तरीय बैठकमा चिनियाँ नेतृत्वले ‘चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन समुद्री अर्थतन्त्रको उच्च गुणस्तरीय विकास प्रवर्द्धन गर्नुपर्ने’ र ‘समुद्री स्रोतहरूको उपयोग गरेर शक्तिशाली बन्ने चिनियाँ बाटो खोज्नुपर्ने’ मा जोड दिएको थियो।

यस अन्तर्गत चिनियाँ नीति निर्माताहरूले पाँच मुख्य प्राथमिकता औंल्याएका छन्। तिनमा नवप्रवर्तनसम्बन्धमा बृद्धि, प्रभावकारी समन्वय, औद्योगिक पुनर्नवीकरण, मानव र समुद्रबीचको सद्भाव र पारस्परिक लाभको सहकार्य छन्।

मा वेइचेनका भनाईमा, सम्बन्धित निकायहरूले बैठकका निर्णयहरु पछ्याउँदै १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) को अवधिमा समुद्री अर्थतन्त्रको उच्च गुणस्तरीय विकासको लागि व्यापक योजना तयार गरिरहेका छन्।

योजनाको मुख्य अंशका रूपमा चीनले समुद्री क्षेत्रमा केन्द्रीय प्रविधिमा ठूलो प्रगति र मौलिक वैज्ञानिक तथा प्राविधिक उपलब्धिहरू हासिल गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी तटीय क्षेत्र, समुद्र नजिकको भाग र समुद्रको गहिराईमा योजना सुदृढ गर्नेछ। यसैगरी परम्परागत समुद्री उद्योगको रूपान्तरणलाई तीव्र बनाउनेछ।

संसाधन मन्त्रालयका अधिकारी गु वुले भने कि चीनले नवप्रवर्तन–प्रेरित विकासलाई स्थिर रूपमा अघि बढाउनेछ र समुद्री क्षेत्रमा नयाँ तथा गुणस्तरीय उत्पादक शक्ति विकासका लागि थप उपाय अपनाउनेछ।

समुद्री ऊर्जा उपयोग, समुद्रको पानीलाई मीठो र खानयोग्य बनाउनुका साथै समुद्रमा आधारित औषधि तथा औषधिजन्य उत्पादनको विकासलाई पनि प्रवर्द्धन गरिनेछ।

समुद्री प्रशासनमा अन्तर्राष्ट्रिय सहकार्य
जुन १२ मा, चीनको अनुसन्धान आइसब्रेकर ‘स्नो ड्रागन–२’ शाङ्घाई आइपुगेको थियो। यसले देशको ४१औँ अंटार्कटिक अभियानका मुख्य मिशनहरू पूरा गरेको सूचक दियो।

‘यस अभियानमा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, दक्षिण कोरिया, थाइल्याण्ड र मलेसियाका अनुसन्धान संस्थान र वैज्ञानिकहरूको सहभागिता थियो’ गु वुका भनाईमा, ‘यसले विश्व समुद्री प्रशासनमा चीनको सक्रिय संलग्नताको उदाहरण प्रस्तुत गरेको छ।’

हालसम्म चीनले ५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनहरूसँग समुद्री क्षेत्रमा सहकार्य सम्झौता गरेको छ।

त्यसैगरी नौ मुलुकसँग संयुक्त रूपमा समुद्री अनुसन्धान केन्द्र, प्रयोगशाला र अन्य सहकार्य प्लेटफर्म स्थापना गरेको छ भने अफ्रिकी, दक्षिणपूर्वी एशिया तथा द्वीप राष्ट्रहरूसँग नियमित समुद्री सहकार्य संयन्त्र स्थापना गरेको छ।

२०२४ को अन्त्यसम्म चीनले समुद्री प्रशासनबारे ३०० भन्दा बढी तालिम आयोजना गरेको थियो। त्यसअन्तर्गत विकासशील मुलुकका ६ हजार भन्दा बढी युवाहरुले तालिमको अवसर प्राप्त गरेका थिए।

उपरोक्त कार्यक्रममा सहभागी अतिथिहरूको भनाइमा, समुद्री अर्थतन्त्र खुला अर्थतन्त्रको स्वरुप भएकाले समुद्री प्रशासनमा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नु अनिवार्य छ।

गु वुले थपे, ‘चीनले समुद्रको दिगो विकास प्रवर्द्धन गर्न र साझा भविष्यको समुद्री समुदाय निर्माणका लागि थप कदम चाल्नेछ।’

  • २०८२ श्रावण २९, बिहीबार