नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पेरुको तयारी

राजदूत निर्मलराज काफ्लेले पेरु गणराज्यकी राष्ट्रपति दिना एर्सिलिया बोलुआर्ते जेगारा समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

ब्राजिलका लागि नेपालका आवासीय राजदूत काफ्लेले गैरआवासीय राजदूतका रुपमा पेरुका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

पेरुको राजधानी लिमामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको तर्फबाट शुभकामना प्रदान गरेका थिए।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले राष्ट्रपति जेगाराको स्वास्थ्य, सुख-समृद्धि तथा पेरुका मित्रवत् जनताको निरन्तर शान्ति र प्रगतिको कामना गरेको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ।

राष्ट्रपति जेगाराले पनि राजदूत काफ्लेलाई कार्यकालको शुभकामना व्यक्त गरिन् र पेरु सरकारको तर्फबाट काफ्लेको कूटनीतिक जिम्मेवारी सफल बनाउन पूर्ण सहयोग रहने आश्वासन दिएको दिइन्।

ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रममा पेरुको परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

लिमामा रहँदा राजदूत काफ्लेले पेरुको परराष्ट्र मन्त्रालयका एशिया-ओसियानाका महानिर्देशक फर्नान्डो क्विरोस र आर्थिक मामिलाका महानिर्देशक श्री होर्जे फेलिक्स रुबियो कोरेससँग अलग–अलग भेटवार्ता गरेका थिए।

ती भेटवार्ताहरुमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षहरूबारे विचार–विमर्श भएको थियो। त्यसक्रममा पारस्परिक भिसा छुटको व्यवस्था र द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको बताइएको छ।

यसक्रममा पेरुले दक्षिण–दक्षिण सहयोगअन्तर्गत विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ र दीगो शहर विकासका क्षेत्रमा पेरुबाट नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरेको जानकारी गराएको छ।

यसैगरी आर्थिक सहकार्यका सम्भावनाहरु उपयोग गर्न व्यापारिक प्रतिनिधिमण्डल आदान-प्रदान गर्ने कार्यलाई सहज बनाउने विषयमा पनि दुईपक्षबीच छलफल भएको छ। यसक्रममा दुबै पक्षले सांस्कृतिक आदान–प्रदान र जनस्तरबीचको सम्बन्ध प्रवर्द्धनमा जोड दिएका छन्।

बहुपक्षीय संयन्त्रमा साझा चासोका विषयहरूबारे पनि विचार-विनिमय भएको राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

विशेष गरी जलवायु परिवर्तनले पारेका प्रतिकूल प्रभावका कारण जैविक विविधतामा परेको चुनौतीलाई दुबै मुलुकले सामूहिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो।

हिमालको देश नेपाल र आन्डिज पर्वतमालाको संरक्षक मुलुक पेरुले दीगो पर्वत विकासको साझा एजेन्डाका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर सहकार्य गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन्।