साउन अन्तिमसाता परराष्ट्र मन्त्रालयका अधिकारीहरु एकखालको तनावको स्थितिमा थिए। तनावको कारण थियो– एक शीर्ष विदेशी पाहुनाको नेपाल भ्रमणको कार्यतालिका मिलाउन परेको अप्ठेरो।
ती पाहुनाको नेपाल भ्रमण दुई दिन (८-९ भदौ) का लागि प्रस्ताव गरिएको रहेछ। तर, भेटघाट गर्ने शीर्ष व्यक्तित्वहरु र अवलोकन गर्ने स्थलहरुको सूची भने लामो थियो।
काठमाडौँ बाहिर गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अलावा राजधानीभित्रका तीनवटै दरवार स्क्वयायरहरु- वसन्तपुर दरवार स्क्वायर, पाटन दरवार स्क्वायर र भक्तपुर दरवार स्क्वायर घुम्ने चाहन व्यक्त गरिएको रहेछ।
राष्ट्रपति-उपराष्ट्रपति, प्रधानमन्त्रीसमेतसँग भेटघाटको प्रबन्ध गरेर लुम्बिनीदेखि काठमाडौँका तीन दरवार स्क्वायरसम्मको भ्रमण तालिका दुई दिनको समयावधिभित्र मिलाउन परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई निकै सकस परिरहेको थियो।
उताबाट प्रस्ताव गरिएको मिति ८-९ भदौका लागि थियो। दुई दिनभित्र यति धेरै भेटघाट र सम्पदाहरुको भ्रमण तालिका मिलाउन सम्भवै थिएन।
अन्ततः यताबाट भ्रमणको मिति दुई दिन अघि सारियो र अवधिपनि लम्ब्याएर ७९ भदौका लागि तय गरियो। सोही अनुसार ती पाहुना तीन दिने नेपाल भ्रमणका लागि शनिबार (७ भदौ) काठमाडौँ आइपुगेकी छन्।
उनी हुन्- दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामकी उपराष्ट्रपति भो थी सुआन।
बौद्ध धर्मावलम्बीहरुको मुलुक भियतनामकी उपराष्ट्रपति सुआनको बुद्धको जन्मस्थल लुम्विनी भ्रमण गर्ने चाहना पुरा गर्न उपराष्ट्रपति रामसहाय यादवले नेपाल भ्रमणको निम्तो गरेका हुन्।
यो वर्ष (सन् २०२५) नेपाल-भियताम कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवपनि हो। यस उपलक्ष्यमा भियतनामको तर्फबाट उपरराष्ट्रपति सुवानले नेपाल भ्रमण गरेकी हुन्।
शनिबार दिउसो काठमाडौँ ओर्लनासाथ उपराष्ट्रपति सुआनले भव्य सम्मान प्राप्त गरिन्।
महिला उपराष्ट्रपति भएकाले होला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उपस्थित थिइन्। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेपनि उपराष्ट्रपति सुवानको स्वागतका लागि उपस्थित थिए।
उनको सम्मानमा नेपाली सेनाको गारतले सम्मानधुन बजाएको थियो, उनलाई गार्ड अफ अनरपनि दिइएको थियो।
तीन दिन नेपालमा रहँदा उनी बुद्ध जन्मस्थल लुम्विनी जानेछिन्। काठमाडौँमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुवानको भेटवार्ता हुनेछ।
यसैगरी उपराष्ट्रपति सुवानको उपस्थितिमा नेपालभियतनामबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापनि हुने जनाइएको छ।