राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन्। भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा भएको थियो।

सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए। यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको राष्ट्रपति पौडेलको भनाई थियो।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत् जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको बताएका थिए।

भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका थिए।

बौद्ध धर्म हाम्रा दुबै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै राष्ट्रपतिले लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्रस्थलका रूपमा हेर्नु खुसीको विषय भएको उल्लेख गरेका थिए।

उपराष्ट्रपति वो थी आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको उल्लेख गरेकी थिइन्।

यस सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देशबीच बृहत् सम्बन्धको फ्रेमवर्क बनाउन जरुरी भएको उनले उल्लेख गरेकी थिइन्।

उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुबै देशबीच सहकार्य गर्न आवश्यक रहेकोसमेत बताएकी थिइन्।

अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको पनि उनले उल्लेख गरेकी थिइन्।