‘त्यसो भए विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ, सम्भावना छ?’
सक्नुहुन्छ, पाइन्छ। सम्भावना छ/छैन, उहाँको कुरा हो, त्यो आन्दोलनको कुरा हो। फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो। म त अधिकारको कुरा गर्दैछु।
यो सम्बादमा प्रश्न सोध्ने पत्रकार ऋषि धमलालाई दिएको जवाफ ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय हुनुपर्छ’ भन्ने भण्डारी पक्षीय एमालेका कुनै नेताको हो जस्तो लाग्छ।
किनभने, जवाफ दिने नेताले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई अधिकारको रुपमा व्याख्या गरेका छन्।
जतिबेला यो सवाल-जवाफ भएको थियो, त्यो बेला भण्डारीको हैसियत पूर्वराष्ट्रपति बनिसकेको थियो। र, एमालेका ती नेता ‘अधिकार’ को विषय उठाएर भण्डारीको राजनीतिक सक्रियताको वकालत गरिरहेका थिए।
तर, तिनै नेताले दुई वर्ष पुग्दानपुग्दै भण्डारी राजनीतिमा आउनु हुँदैन भनिरहेका मात्रै छैनन्, भण्डारीको पैत्रिक राजनीतिक थलो एमालेमा फर्कनका लागि दैलो नै बन्द गरिदिएका छन्।
दुई वर्षअघि धमलासँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति राजनीतिमा पुनरागमनलाई अधिकार मान्ने र अहिले एमालेको ढोका बन्द गरिदिने नेता खासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हुन्।
राजनीतिमा पूर्वराष्ट्रपतिको पुनरागमनलाई स्वभाविक र अधिकार ठान्ने ओलीले सो बेहोरासहितको अन्तर्वार्ता २०८० असोजमा दिएका रहेछन्, जसको ‘क्लिप’ सोमबार (९ भदौ) देखि सामाजिक सन्जालमार्फत् भाइरल भइरहेको छ।
ओलीको सो भनाईसहितको क्लिप सार्वजनिक भएपछि एमालेमा ओली पक्ष अप्ठेरोमा परेको छ।
भण्डारीको पक्षमा माहोल सिर्जना गर्न खोलिएको एउटा फेसबुक पेज छ, ‘विद्या भण्डारी अ नेसनल आइकन’। सो फेसबुक पेजले मंगलबार (१० भदौ) ले ओलीको दुई वर्षअघिको सो अभिव्यक्ति (पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन पाउनुपर्छ भन्ने भनाई) र अहिलेको व्यवहार (एमाले राजनीतिमा सक्रिय हुन रोक) प्रति टिप्पणी गर्दै लेखेको छ, ‘एउटा नेताको बोली केवल तत्कालीन कुरा होइन, भोलिको इतिहास र दस्तावेज हो। बिहान एक र बेलुकी अर्कै कुरा गरेर राजनीति प्रति जनताको विश्वास खोस्ने खाडल अझै नखने बेहत्तर (राम्रो) हुन्छ।’
‘विद्या भण्डारी : अ नेसनल आइकन’ मा गरिएको यो टिप्पणी ओलीको फेरिएको अभिव्यक्ति र व्यवहारप्रति लक्षित छ।
धमलासँगको सो अन्तर्वार्तामा ओलीले ‘पूर्वराष्ट्रपतिसँग राजनीति गर्न पाउने अधिकार छ’ मात्र भनेका छैनन्, राजनीतिक पार्टीको नेतृत्व गर्न पाउने कुराको वकालत समेत गरेका छन्।
विद्या अनुकूल हुँदा ओलीको स्वागत
सर्वप्रथम हेरौँ, दुई वर्षअघिको त्यो अन्तर्वार्तामा ओलीले के(के भनेका छन्!
धमला : विद्यादेवी भण्डारीले जुन किसिमले राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभयो, त्यसको तपाईंले प्रशंसा गर्नुभयो नि!
ओली : उहाँले अत्यन्तै देशभक्तिपूर्ण, अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकको हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो। गठबन्धनको त्यत्रो हमला, असहिष्णुताका बाबजुद राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैँ स्मरण गर्नेछ र प्रशंसा गर्नेछ।
धमला : विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गर्ने चर्चा पनि चलेको छ, तपाईं के भन्नुहुन्छ?
ओली : त्यो उहाँको खुसीको कुरा हो। हामी त पूर्वराष्ट्रपतिको हैसियतले उहाँ निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुस् भन्छौँ। या सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् भन्छौँ। ‘उहाँ राजनीतिमा सक्रिय हुनु हुँदैन’ भन्ने बेकारको कुरा हो। पोल्टिक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो।
धमला : त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटमलाइन होइन?
ओली : कसरी बटमलाइन हुन्छ? उहाँको खुसीको कुरा हो। राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन।
धमला : पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ?
ओली : पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ। अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। अर्को कुन पार्टी कसको के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ। समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ। त्यो त उसको व्यक्तिगत कुरा भयो। उसको ‘च्वाइस’ को कुरा भयो।
राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ भन्नेमात्र हो। राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुनसक्छ। राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउनसक्छ।
विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन्। अमेरिकामा ‘सेरेमोनियल’ भन्ने कुनै ढोङ्ग छैन। अमेरिकामा ढोङ्ग छैन, राष्ट्रपति सर्वोच्च कार्यकारी हुन्छ।
यहाँ (नेपालमा) ब्रिटिस सिस्टमअन्तर्गत संवैधानिक राजतन्त्र र राष्ट्रपति हुँदा सेरेमोनियल राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री बन्ने ब्रिटिस पार्लियामेन्टको नक्कल गरेर, संवैधानिक राजतन्त्रको नक्कल गरेर, ‘सेरेमोनियल मोनार्की’ को नक्कल गरेर सेरेमोनियल राष्ट्रपति बनाउने (गणतन्त्रमा पनि) त्यो उचित होइन, त्यो तरिका होइन ।
राष्ट्रपति भनेपछि कार्यकारी हुँदैन भन्ने कुरा होइन। राजा भनेको सामन्तवादको प्रतीक हो। जनताले त्योसँग सम्झौता गरेर सेरेमोनियल बनाएर आफूले शासन गर्ने एउटा कुरा हो। यहाँनेर जनताकै सर्वोच्च प्रतिनिधि, सर्वोच्च थलोको मान्छेचाहिँ कार्यकारी हुँदैन र सेरेमोनियल हुन्छ भन्ने नक्कलबाजीमात्रै हो।
धमला : त्यसो भए विद्यादेवी भण्डारी भोलि एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ, सम्भावना छ?
ओली : सक्नुहुन्छ, पाइन्छ। सम्भावना छ? छैन भन्ने उहाँको कुरा हो। आन्दोलनको कुरा हो त्यो। फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो। म अधिकारको कुरा गर्दैछु।
दुई वर्षअघि ओली पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने धारणा राख्थे। कतिसम्म भने, भण्डारीले एमालेको नेतृत्व गर्न पाउँछिन् भन्ने मनसाय समेत उनको थियो।
धमलासँगको त्यो अन्तर्वातामा ओलीले राष्ट्रपतिको हैसियतमा आफूमाथिका प्रहारलाई कमजोर बनाउन भूमिका खेलेको भन्दै प्रसंशासमेत गरेका छन्।
‘अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकको हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो’ अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘गठबन्धनको त्यत्रो हमला, असहिष्णुताका बाबजुद राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैँ स्मरण गर्नेछ र प्रशंसा गर्नेछ।’
ओलीले चाहँदा रहेछन्, आफ्ना जस्तासुकै हर्कतलाई साथ–समर्थनका लागि मात्र भण्डारी राजनीतिमा आउने हो, आफूलाई चुनौति दिने हो भने उनी सक्रिय राजनीतिमा आउनु हुँदैन।
एमाले केन्द्रीय कमिटीको बैठकबाट ओलीले गराएको निर्णयले यही कुरा बताउँछ।
साउन तेस्रो साता सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकबाट ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउने बाटो रोक्ने निर्णय गराएका थिए। केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला अन्तर्वार्ताको यो क्लिप सार्वजनिक भइदिएको भए ओली कति अप्ठेरोमा पर्दा हुन्?
तर, अहिले सार्वजनिक हुँदापनि ओली पक्ष कम्ति अप्ठेरोमा भने परेको छैन। विद्या भण्डारी : अ नेसनल आइकन को उपरोक्त पोष्ट र दुई वर्षअघि ओलीको त्यो भनाईबारे एमालेको मौनता हेर्दा भण्डारी पक्ष आक्रामक (अफेन्सिभ) र ओली पक्ष डिफेन्सिभ (रक्षात्मक) भएको प्रष्ट बुझ्न सकिन्छ।
चुनौति दिने भएपछि विद्यालाई रोक
२०८१ चैत्र अन्तिमसाता नेपालखबरसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउन लागेको मात्र बताइनन्, एमालेको नेतृत्वका लागि समेत आफू तयारी अवस्था (रेडी) भएको संकेत गरिन्।
लगत्तै इमेज च्यानलमा जगदीय खरेलसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउनुको उद्देश्य एमालेको नेतृत्व गर्नु रहेको बताइन्।
१४ असारमा राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित मदन भण्डारीको ७४ औँ जन्मदिनमा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरिन् र सक्रिय राजनीतिमा पुनरागमन घोषणा गरिन्।
ओलीले एमालेलाई मनोमानी ढंगले सञ्चालन गरिरहेका थिए, त्यसले पार्टीभित्र उनीप्रति असन्तुष्टि सिर्जना हुन थालेको थियो। एमालेका नेता–कार्यकर्ताहरुको ठूलो पंक्ति ओलीको नेतृत्वको विकल्प खोज्नुपर्ने पक्षमा उभिन थालेको थियो।
तर, ओलीलाई चुनौति दिनसक्ने नेतृत्वको अभाव थियो। यो स्थितिमा भण्डारीको सक्रिय राजनीतिमा प्रवेश र एमालेको नेतृत्व गर्ने घोषणाले एमालेभित्र तरङ्ग सिर्जना भयो।
त्यो तरङ्गले आफ्नो नेतृत्व र भविष्यमा खतरा उत्पन्न भएको ओलीले देखे। र, ३–५ साउनमा आयोजित एमाले केन्द्रीय कमिटीको बैठकबाट पूर्वराष्ट्रपति भइसकेकी भण्डारी सक्रिय पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने तर्कका साथ एमालेको ढोका नै बन्द गरिदिए।
राष्ट्रपति संविधानको संरक्षक, राष्ट्रिय एकताको प्रतिक, नेपाली सेनाको परमाधिपति रहेको लगायतका कारण उल्लेख गर्दै त्यस्तो व्यक्तित्व पार्टी राजनीतिमा सक्रिय हुन नहुने निर्णय एमाले केन्द्रीय कमिटीबाट ओलीले गराएका थिए।
ओलीले पार्टी राजनीतिमा आउने ढोका बन्द गरेपनि भण्डारी रोकिएकी छैनन्। आगामी वर्ष मनाइने मदन भण्डारीको हीरक जन्मोत्सवलाई आधार बनाएर ‘मदन भण्डारी फाउण्डेसन’ मार्फत् देशव्यापी राजनीतिक गतिविधि गर्दैछिन्।
भण्डारीको राजनीतिक सक्रियता नरोकिएपछि ओली झन् अप्ठेरोमा परेका छन्। त्यो अप्ठेरोमाथि, दुई वर्षअघि आफैले सक्रिय राजनीतिमा आउनु भण्डारीको राजनीतिक अधिकार रहेको अभिव्यक्तिसहितको अन्तर्वार्ता ‘भाइरल’ हुन पुगेपछि त्यसले ओलीमाथिको अप्ठेरो अझ थपिदिएको छ।
एमाले विधान महाधिवेशन २१–२२ भदौमा ललितपुरको गोदावरीमा हुँदैछ। त्यो विधान अधिवेशनमा पनि भण्डारीले गरेको एमाले सदस्यता नविकरण, उनलाई एमाले राजनीतिमा सक्रिय हुन दिने–नदिने विषयमा छलफल हुनेछ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्ने र एमालेको नेतृत्व समेत गर्नसक्ने आफ्नै अभिव्यक्तिले यसपटकको विधान अधिवेशनमा ओलीलाई डिफेन्सिभ (प्रतिरक्षात्मक) बनाउनेछ।
