विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ। नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ।
तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ यसले गर्दा वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा भएको छ।
हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग सुरु भएको छ।
विद्युतीय सवारी ‘बिवाइडी’ को नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको छ।
साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ। ‘बिवाइडी’ ले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो।
उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताए।
सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उनको भनाइ छ।
‘सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ’ उनले भने, ‘हामी सधैँ दीगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो।’
एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन्। यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ।
निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उहाँको भनाइ छ।
‘विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो’ पाण्डले थपे, ‘तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको छ।’
पाण्डेका अनुसार सगरमाथाको छ हजार एक सय ३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको पनि उनले बताए।
‘हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरेका थियौँ’ पाण्डे भन्छन्, ‘यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर सङ्कलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहर सङ्कलनको योजना छ।’
एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर सङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ।
साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प–१ बाट ड्रोनको प्रयोग गरी दुई सय ८६ केजी फोहर सङ्कलन भइसकेको छ भने यस याममा थप फोहर सङ्कलन जारी छ।
‘एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो’ श्रेष्ठले भने, ‘यसपटक साइमेक्स इङ्क र एयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजी फोहर सङ्कलन सुरु गरेका छौँ।’
जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहर सङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको उल्लेख गरे। रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरिएको जानकारी पनि दिए।
नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाका भनाईमा, आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकाले समस्या भएको छ। सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकै सहज भएको उनी बताउँछन्।
‘आरोहीहरुसँग प्रत्येक पटक फोहरको शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमा राख्छ, पछि फिर्ता पनि दिन्छ’ आरोही शेर्पाले भने, ‘तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको छ।’
शेर्पाका अनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ।