सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको पोखरा उपमहानगरपालिका, लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया। प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ।
महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ। गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकाल बताउँछन्।
किंवदन्तीअनुसार गुप्तवासका क्रममा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए। ढकालका भनाईमा, सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका पूजाआजा गर्न आउने गरेका छन्।
साढे दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो। नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो।
मन्दिर निर्माणका लागि विसं २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु ५० लाखको सङ्कलन गरिएको थियो। मन्दिर परिसरमा हवनकुण्ड, पुजारी आवास र कार्यालय छन्। मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ।
किंवदन्तीअनुसार पाण्डव एकवर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे। तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताए। त्यसक्रममा उनीहरूले देवीको आराधना गरे, त्यसक्रममा उक्त स्थानमा देवी उत्पति भई उनीहरूलाई शक्ति प्रदान गरिन्।
पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो। पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो।
विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी, र मनास्लु हिम श्रृङ्खलालाई एक साथ यहाँबाट अवलोकन गर्न सकिन्छ। यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिए।
बेगनास तालदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने पचभैया क्षेत्रबाट देखिने रमणीय हिमाली दृश्यका साथै तालतलैयाले यहाँको पर्यटकीय महत्वलाई अझै बढाएको थापा बताउँछन्।
यहाँ पछिल्लो समयमा होटेल तथा रेष्टुरेण्टलगायतका पूर्वाधार निर्माण भइरहेको छ। हाल यस क्षेत्रमा १४ वटा घरवास (होमस्टे) सञ्चालनमा आइसकेका छन् भने केही होटल पनि छन्।
जलपर्यटन सहित पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको यसै क्षेत्रमा निर्मित पचभैया प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो।
पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालका अनुसार बृहत पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र पछिल्लो समयमा यहाँको पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो।
गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो।
खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ।
केन्द्रमा आउने पर्यटकले चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउँछन्।
यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच अनुरुप युनाइटेड क्लबले विसं २०६७ देखि अभियान नै सुरु गरेको थियो। केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ। रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन्।
स्थानीय सचेतना अभिवृद्धिका लागि यहाँ सञ्चालित सिड फाउण्डेशन नेपालमार्फत् विभिन्न कार्यक्रम गर्दै आएको संस्थापक अध्यक्ष दामोदरभक्त थापा बताउँछन्।
हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारी भन्छन्, ‘पचभैया क्षेत्रको भौगोलिक अवस्थिति एवं यहाँबाट देखिने मनोरम दृश्यकै कारण यो पर्यटकीय रुपमा आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ।’