नेपाली कांग्रेसले औपचारिक रुपमै आगामी निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि पार्टी सभापति गगन थापाको वास्तविक परीक्षा र चुनौति सुरु भएको छ।
शुक्रबार सानेपास्थित केन्द्रयि कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय (प्रस्ताव) गरेको थियो।
पुष २७–३० मा काठमाडौँमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकबाट गगन प्रधानमन्त्रीको उम्मेदवार घोषित गरिएका हुन्।
केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव गरेका थिए। अर्की उपसभापति पुष्पा भूषालले शर्माको प्रस्तावमा समर्थन गरेकी थिइन्।
‘चामत्कारिक’ सफलता
केन्द्रीय कार्यसमितिबाट भएको यो निर्णय खासमा सभापति थापाले पार्टीभित्र पकड राख्ने सन्दर्भमा दुई हप्ताभित्र प्राप्त गरेको तेस्रो महत्वपूर्ण सफलता हो।
गगन उतिबेलापनि निरिह र कमजोर त थिएनन्। तर अहिले जसरी यति छिट्टै पार्टीभित्र पकड स्थापित गर्लान् भन्ने कल्पना दुई हप्ताअघिसम्म गर्न सकिदैनथ्यो।
उनको पहिलो सफलता जबर्जस्त रुपमा विशेष महाधिवेशन आयोजना र त्यसबाट सभापति निर्वाचित हुनु हो। तत्कालिन सभापति शेरबहादुर देउवाको अनिच्छा र अवरोधका बाबजुद थापा विशेष महाधिवेशन गर्न सफल भएका थिए।
दुई हप्ताभित्र उनले प्राप्त गरेको दोस्रो सफलता विशेष महाधिवेशनलाई निर्वाचन आयोगबाट मान्यता दिलाउनु थियो।
विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित (निर्विरोध) भए। उनी नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता प्रदान गर्छ, गर्दैन भन्ने संसय थियो।
सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दावीका साथ १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै बैधानिक हो भन्दै निर्वाचन आयोगको ढोका घचघच्याएको थियो।
फागुन २१ मा हुने आम निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गर्ने दिन थियो। तर, ४ माघ विहानसम्म कुन चाहिँ कार्यसमिति बैधानिक बन्ने विवाद कायमै थियो।
तर, निर्वाचन आयोगले ४ माघ अपरान्ह विशेष महाधिवेशनलाई मान्यता प्रदान गर्यो। निर्वाचन आयोगको यो निर्णयपछि गगन नेतृत्वको कार्यसमिति बैध हुन पुग्यो।
निर्वाचन आयोगले प्रदान गरेको मान्यतापछि नेपाली कांग्रेसका उम्मेदवार चयन गर्ने अधिकार पनि उनैले प्राप्त गरे।
निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै देउवा पक्षका कार्यबाहक उपसभापति पूर्णबहादुर खड्काले अदालतको ढोका ढकढक्याएपनि सर्वाेच्च अदालतले देउवा पक्षको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्यो।
त्यसपछि नै गगनले सानेपास्थित केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
यो परिस्थितिका बीच आयोजना गरिएको कार्यसमिति बैठकले गगनलाई सर्वसम्मत रुपमा प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। त्यसअघि नै गगनले पार्टीभित्र आफ्नो पकड स्थापित गर्दै अपेक्षाकृत विवादरहित ढंगले १६५ क्षेत्रमै उम्मेदवारी तय गर्न सफल भएका छनु।
लगत्तै उनी सर्वसम्मत रुपमै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका छन्।
तीन चुनौति
पार्टीभित्रको आन्तरिक द्वन्द्वमा दुई हप्ता यता गगन ‘विजेता’ त बनेका छन्। त्यहीकारण सर्वसम्मत प्रधानमन्त्री–उम्मेदवारका रुपमा प्रस्तुत गरिएका छन्।
गगन बिजेता देखिएको कांग्रेसको आन्तरिक राजनीतिमा मात्र हो, राष्ट्रिय राजनीतिमा होइन। प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको उपरोक्त निर्णयसँगै राष्ट्रिय राजनीतिमा गगनको चुनौति सुरु भएको छ।
उनको पहिलो चुनौति चुनाव आउनुभन्दा डेढ महिना अघि नै बगिरहेको राजनीतिक हावालाई आफू अनुकूल बनाउनु हो।
यसअघिका निर्वाचनमा ‘जित्ने पार्टी’ को पक्षमा चुनावी लहर हप्ता–दश दिनअघिमात्र आएको देखिन्थ्यो। यसपटक भने स्थिति अलिक फरक देखिन्छ।
मनोनयन पत्र दाखिला अघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिन्ह घण्टी) ले कांग्रेस, एमाले, नेकपा जस्ता स्थापित राजनीतिक दलहरुमाथि दबाब सिर्जना गरेको छ। आफ्नो पक्षमा माहोल सिर्जना गरेको छ।
‘अहिलेको परिवर्तनको सम्बाहक जेनजी पुस्ताको प्रतिनिधि पार्टी र आगामी निर्वाचनको विजेता रास्वपा हो’ भन्ने भाष्य निर्माण गर्न ऊ सफल भएको छ।
रास्वपाको पक्षमा बग्न थालेको हावालाई छेकेर चुनावी माहोल रुख (नेपाली कांग्रेस) को पक्षमा फर्काउनु गगनको मुख्य चुनौति हो।
आफूलाई प्रधानमन्त्री बनाउने पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न गगनले पार्टीको पक्षमा माहोल सिर्जना गर्नसक्नु पर्छ। जेनजी पुस्ताको प्रतिनिधि पार्टी कांग्रेसपनि हो भन्ने भाष्य निर्माण गर्न सक्नुपर्छ।
गगन यो क्षमता राख्ने नेता त हुन्। तर, निकै नजिक आइसकेकाले नयाँ भाष्य निर्माण र घण्टीको पक्षमा बहन थालेको लहर रोक्न समय अलिक कम नै छ।
दोस्रो चुनौति वामपन्थी पार्टीहरु हुन्।
आजका मितिसम्म केपी ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल नेतृत्वको नेकपा अलग–अलग चुनावी मैदानमा छन्।
तर, चुनावमा रास्वपाको दबाब बढ्दै जाँदा प्रचण्डले शुक्रबार आयोजित एक कार्यक्रममा एमालेसँग एकताको प्रस्ताव राखिसकेका छन्। बालेन्द्र शाहले झापा–२ मा सिर्जना गरेको दबाबसँगै ओलीले पनि एकताको आवस्यकता महसुस गर्न थालिसकेका होलान्।
कांग्रेसको पक्षमा गगनले लहर सिर्जना गर्दै गए, चुनाव ‘रास्वपा भर्सेस कांग्रेस’ हुने भयो र एमालेमाथि ‘तेस्रो कि चौथो स्थानका लागि प्रतिस्पर्धा?’ भन्ने प्रश्न उठ्न थाल्यो भने एमाले–नेकपाबीच चुनावी तालमेल नहोला भन्न सकिन्न।
कांग्रेस–माओवादीको सरकार रहेका बेला २०७४ को चुनाव वा २०७९ को चुनावलगत्तै एमाले–माओवादी मिलेझैँ एमाले–माओवादी पनि मिलिदिन सक्छन्।
‘प्रतिबद्ध मतदाता’ अहिलेपनि धेरै वामपन्थीहरु नै छन्। गगनले पार्टीभित्र एकता कायम गरेर कांग्रेसको पक्षमा माहोल सिर्जना हुन्छ भने ओली–प्रचण्ड मिल्दा वामपन्थीहरुको पक्षमा पनि माहोल सिर्जना नहोला भन्न सकिन्न।
कांग्रेसको पक्षमा माहोल सिर्जना हुनै लाग्दा हुनसक्ने वामपन्थीहरुको एकता गगनका लागि दोस्रो ठूलो चुनौति हो।
तेस्रो चुनौति कांग्रेसभित्रैबाट हुने घात–अन्तर्घात हो, जो हरेक निर्वाचनमा पार्टीले भोग्दै आएको र त्यही नै पराजयको कारण भएको पार्टीका नेता–कार्यकर्ताहरुले गर्दै आएका छन्।
त्यस्तो अन्तर्घात यसपटक पनि नहोला भन्न सकिन्न। हो, शेरबहादुर देउवा मौन छन्। त्यो मौनताभित्र बदलाभाव नहोला भन्न सकिन्न। शेरबहादुरमा छैन भनेपनि आरजुमा त छ–छ, जो अक्सर देउवाको निर्णयमा हावी देखिन्छिन्।
अहिले मौनजस्तो देखिएपनि, संस्थापन इतर पक्षले जबर्जस्त पार्टी नेतृत्वमा आएका गगनलाई रोक्ने अस्त्र आगामी निर्वाचन बनाउन सक्छ।
देउवा पक्ष देशव्यापी रुपमा निस्कृय भइदियो वा मौन बस्यो भनेपनि त्यसको असर आगामी निर्वाचनमा पर्नसक्छ। यो जोखिम अहिलेपनि छँदैछ।