सिंहदरवारभित्रको अर्धमृत आँपको रुख, २४ भदौको आगजनीको गवाह

थाहा छैन, सिंहदरवारमा भित्री चोकमा रहेको यो आँपको रुख श्री ३ चन्द्रकै पालामा रोपिएको हो वा २०३० को सिंहदरवार आगलागीपछि ।

सिंहदरवारको निर्माणकार्यताका रोपिएको हो भनेपनि यसले सिंहदरवार बिसं २०३० मा सिंहदरवारमा भएको आगलागीको कथा यसले भन्न सक्दैन । किनकी त्यो आगलागीका निशानी यसको शरीरमा कतै छैनन् ।

कुनै बहाना बनाएर यसलाई ढालिएन भने यसले अरु कैयौँ वर्षसम्म २४ भदौमा भएको सिंहदरवार आगजनीको कथा बताउन सक्नेछ । यसर्थ कि, सिंहदरवारको भित्री चोकमा रहेको यो आँपको रुख २४ भदौको आगजनीको प्रत्यक्षदर्शीमात्र होइन, पीडित–भुक्तभोगी पनि हो।

यो रुख आफैसँग २४ भदौमा भएको आगजानीका कहिल्यै निको नहुने चोटहरु छन् ।

बिसं २०३० को आगलागी सिंहदरवारको पछिल्लो भागमा भएको थियो। आधा दर्जन चोकहरुसहितको दरवारका पछिल्ला भागहरुलाई आगोले लपेट्दै लगेपछि अघिल्लो भाग जोगाउन बम प्रहार गरिएको थियो। बमका कारण जल्न बाँकी अघिल्लो खण्ड र जल्दै गरेको पछिल्लो खण्ड छुट्टियो र जल्दै गरेको पछिल्लो खण्डबाट जल्न बाँकी अघिल्लो खण्ड जोगाउन सजिलो भयो ।

यसरी २०३० को भयानक आगलागीबाट जोगिएको सर्वाधिक महत्वको अघिल्लो खण्ड २४ (२०८२) भदौको आगजनीमा जोगिन सकेन । तीन दिनसम्म सिंहदरवार

जलिरहँदा भित्रतर्फको चोकमा रहेको यो आँपको रुखको पश्चिमी पाटोलाई पनि आगोका लप्काहरुले पटक–पटक लपेटे । आगोका लप्काका कारण यो रुखको पश्चिमतर्फका पातहरु सुके ।

पूर्वतर्फका हाँगा र पातलाई भने आगलागीले असर पारेन । ती हाँगा र पात हरियै थिए ।

पूर्वतर्फको भाग जस्ताको तस्तै (हरियो यथावत) रहेकाले पश्चिमतर्फको भागका पातहरुमात्र सुकेका होलान्, आगोका कारण सुकेका ती पातहरु गएको हिउँदमा झर्लान् र त्यहाँ नयाँ पालुवा र पातपनि पलाएर रुख पूर्ववत हरियालीले ढाकिएला भन्ने लाग्थ्यो ।

यसपटक अलिक धेरै दिनपछि हिजो (३० बैशाख २०८३) म सिंहदरवारको त्यो जलेको खण्डमा पुगेँ । यतिन्जेलसम्म आँपका रुखका आगोले लपेटेर सुकेका पातहरु झरे होलान् र मुनाहरुका साथ नयाँ पातहरु पलाएर रुख पूर्णतः हराभरा भइसक्यो होला भन्ने सोचेको थिएँ ।

तर, मेरो अनुमान गलत सावित भयो ।

सिंहदरवार आगलागी हुँदा यो रुखको पश्चिमतर्फको हाँगाहरु बौरिन नसक्नेगरी नै सुकेका रहेछन्। सुकेका हाँगामा मुना र पात कसरी पलाउन् । यो आँपको रुख शरीरको एक पाटो नै नचल्ने गरी पक्षघात भएको मानिसजस्तो बनिसकेको रहेछ ।

आगलागीमा परेपनि उही रुप र आकृतिको कि नयाँ सिंहदरवार बन्ला, कि त जलेको सिंहदरवारलाई जिर्णाेद्वार गरेर पुरानै स्वरुपमा फर्काइएला । सम्भव छ, सिंहदरवारको आगजनी बिर्साउने गरी अझ भव्य र सुन्दर सिंहदरवार बनाइएला ।

नयाँ र अझ भव्य सिंहदरवार ठडिएछ भने मानिसहरुले सिंहदरवारमाथिको त्यो आगलागी बिर्सिएलान्, अझ भव्य सिंहदरवार बन्यो भने आगजनीका लागि उत्प्रेरकहरुलाई माफी पनि देलान् ।

नयाँ सिंहदरवारका कारण नेपालीहरुले सिंहदरवारमाथिको आगजनी बिर्सेछन् भनेपनि जीवित रहुन्जेल यो रुखले भने सिंहदरवारमाथिको आगजानी बिर्सनेछैन, अरुलाई पनि बिर्सन दिने छैन, आगजनीका उत्प्रेरकहरुलाई माफी पनि दिनेछैन ।

किनकी, सिंहदरवार आगजनीको सबैभन्दा ठूलो पीडित यही रुख हो । आगलागीको सबैभन्दा बढी चोट यसैले सहेको छ । बोल्न, चिच्याउन नसकेपनि आगजनीका लागि उत्प्रेरित गर्ने र आगजनी गर्नेहरुजस्तो ‘निर्जिव’ वस्तु यो होइन ।

झन् भव्य बनाएर सिंहदरवारको जीवन र सुन्दरता फर्काइएछ भनेपनि यो रुखले किन त्यो आगजनी बिर्सनु, उत्प्रेरक र संलग्नहरुलाई माफी दिनु । के नयाँ सिंहदरबार बन्दैमा २४ भदौअघि यो रुखको जीवन र सुन्दरता फर्काउने सामथ्र्य कोही कसैसँग छ र?