कन्फ्युसियस इन्ष्टिच्युटको आयोजनामा सांस्कृतिक उत्सव, हजारौँ नेपाली चिनियाँ भाषामा दीक्षित

नेपाल–चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउन भाषा र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चाङ माओमिङले बताएका छन् ।

काठमाडौं विश्वविद्यालयस्थित ‘कन्फ्युसियस इन्स्टिच्युट’ ले शुत्रबार काठमाडौँमा आयोजना गरेको ‘एक संसार, एक परिवार’ नारासहित सांस्कृतिक उत्सव कार्यक्रममा बोल्दै राजदूत चाङ माओमिङले उपरोक्त कुरा उल्लेख गरेका हुन्।

ताहाचलस्थित होटल सोल्टीमा आयोजित सो सांस्कृतिक प्रतियोगितामा विभिन्न विश्वविद्यालयका चिनियाँ भाषा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।

कार्यक्रममा चिनियाँ भाषा अध्ययरत नेपाली विद्यार्थीहरुले चिनियाँ भाषामा जस्तो सांस्कृतिक प्रस्तुति प्रदर्शन गरे, त्यसले चिनियाँ भाषा अध्ययनप्रति नेपाली विद्यार्थीहरुमा चासो निकै बढ्दै गएको देखिन्थ्यो।

सहभागी विद्यार्थीहरूले चिनियाँ भाषामा नै सांगितिक प्रस्तुतिका साथ वक्तृत्व र अन्य सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

नेपाली विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्यापनका लागि नेपालमा पहिलो प्राज्ञिक निकायका रुपमा सनु २००७ मा काठमाडौं विश्वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थापना भएको थियो।

इन्ष्टिच्युटका अनुसार पछिल्ला वर्षहरूमा हजारौं नेपाली विद्यार्थीले चिनियाँ भाषा अध्ययन गरिरहेका छन्।

इन्ष्टिच्युटका अनुसार नेपाली युवा विद्यार्थीमाझ चिनियाँ भाषा र शिक्षाप्रतिको आकर्षण उल्लेखनीय रूपमा बृद्धि भएको छ र वार्षिक पाँच हजारभन्दा बढी विद्यार्थी चिनियाँ भाषा अध्ययन गरिरहेका छन्।

प्रारम्भिक तहदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थीहरू यसमा सहभागी हुँदै आएको इन्ष्टिच्युटले बताएको छ। 

कार्यक्रममा राजदूत चाङ माओमिङ, काठमाडौँ विश्वविद्यालय अन्तर्गत कन्फ्युसियस इन्ष्टिच्युटका निर्देशक ली सुयङछेङले लगायतले सम्बोधन गरेका थिए।