काठमाडौं विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटले शुक्रबार (७ जेठ) राजधानीका विभिन्न विद्यालयमा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीहरुबीच चिनियाँ भाषा प्रतियोगिता गराएको छ।
इन्ष्टिच्युटले ललितपुरको धापाखेलस्थित रिजेन्ट रेसिडेन्सियल स्कुलमा अन्तर विद्यालयस्तरीय भाषा प्रतियोगिता सम्पन्न गराएको हो।
बढ्दो आकर्षण
सो प्रतियोगितामा राजधानीका विद्यालयमा चिनियाँ भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
इन्ष्टिच्युटको आयोजनामा यसअघि १ जेठमा सोल्टी होटलमा पनि विभिन्न विश्वविद्यालय र इन्ष्टिच्युटमा चिनियाँ भाषा अध्ययन गरिरहेका अध्ययनार्थीहरुबीच प्रतियोगिता गराइएको थियो।

सो प्रतियोगिता ‘एक संसार, एक परिवार’ नारासहित सांस्कृतिक उत्सवका रुपमा सम्पन्न गरिएको थियो।
विश्वविद्यालय र इन्ष्टिच्युटबाहेक विद्यालय तहका विद्यार्थीहरूमा समेत चिनियाँ भाषा र संस्कृतिप्रति आकर्षण बृद्धि हुँदै गएको शुक्रबार सम्पन्न विद्यालयस्तरीय चिनियाँ भाषा तथा कला प्रदर्शन प्रतियोगिताले दिएको छ।
सो प्रतियोगिताको अन्तिम चरणमा १२ विद्यार्थी सहभागी थिए। त्यसमध्ये प्राथमिक तहका ६ र माध्यमिक तहका ६ जना थिए।

ती विद्यार्थीहरु विभिन्न छनोट चरणमा पुगेका थिए। प्रतियोगीहरुले चिनियाँ भाषामा वक्तृत्वकला, गीत, सांस्कृतिक प्रस्तुति तथा कला प्रदर्शनमार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
गौरवान्वित इन्ष्टिच्युट
प्रतियोगितामा काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक ली सुआङ्छेङले सम्वोधन गरेका थिए। त्यसक्रममा उनले विद्यालय तहका बालबालिकामा चिनियाँ भाषा र संस्कृतिबारे ज्ञान विस्तार गर्न पाएकोमा गौरव महसुस गरेको उल्लेख गरे।
उनको भनाई थियो, ‘यस्ता गतिविधिले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाउनेछ।’
नेपाल ओभर्सिज चाइनिज एसोसिएसनका उपाध्यक्ष गु यङमिनले पनि कार्यक्रममा सम्बोधन गरेका थिए। भाषा, संस्कृति र शैक्षिक सहकार्य दुई देशबीचको सम्बन्धको दीर्घकालीन आधार बन्दै गएको उनको भनाई थियो।

‘नेपाली विद्यार्थीहरूबीच चिनियाँ भाषाप्रतिको रुचि बढ्नु नेपाल–चीन मित्रताको सकारात्मक संकेत हो’ उनले भने।
रिजेन्ट रेसिडेन्सियल स्कुलकी प्रिन्सिपल डा. विद्या पोखरेलले स्वागत मन्तव्य दिएका थिइन्। त्यसक्रममा डा. पोखरेलले नेपालमा चिनियाँ भाषा अध्ययनप्रति विद्यालयस्तरमा बृद्धि भइरहेको चासो सकारात्मक संकेत भएको उल्लेख गरिन्।