केही पश्चिममाहरु यस्तो कुरामा विश्वास गरिरहेका देखिन्छन् कि, मूल्य निर्धारणमा कुनै नयाँ प्रगति भए त्यसबाट महत्वपूर्ण खनिज आपूर्ति शृंखलामा लगानीको सवाललाई थप सहज बनाउन सघाउ पुग्छ।
तर पश्चिमी दुर्लभ माटो (रियर अर्थस्) उद्योगको वास्तविक समस्या मूल्य निर्धारणका नियमहरूको अभाव होइन। वास्तविक समस्या महत्वपूर्ण खनिजका लागि व्यावसायिक रूपमा व्यवहारिक औद्योगिक आधारको अभाव हो।
उद्योग विशेषज्ञ बर्न्ड शेफरले युरोपले चीनमाथिको निर्भरता कम गर्न तथा खानी र प्रशोधन क्षेत्रमा लगानी आकर्षित गर्न विशेष धातु तथा दुर्लभ माटो (रियर अर्थस्) का लागि आफ्नै मूल्य निर्धारण प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्। उनी युरोपेली संघद्वारा आंशिक रूपमा वित्तपोषित संस्था ‘इआटी र म्याटेरियल्स’ सँग आबद्ध छन्।
बुधबार (४ जेठ, २० मे) रोयटर्ससँग कुरा गर्दै यस्तो बताएका हुन्।
रोयटर्सका अनुसार, ‘इआटी र म्याटेरियल्स’ ले डिजिटल प्लेटफर्म ‘मेटलसव’ (Metalshub) सँग सहकार्य गर्दै युरोपेली संघभित्र नयाँ खनिज उत्खनन, प्रशोधन तथा पुनर्चक्रण परियोजनामा नवप्रवर्तनलाई प्रोत्साहन गर्न एक युरोपेली सूचकांक (इन्डेक्स) निर्माण गरिरहेको छ।
यो दृष्टिकोण दुर्लभ माटो (रिअर अर्थस्) उत्पादन बढाउन मूल्य निर्धारण संयन्त्र प्रयोग गर्ने पश्चिमी प्रयासहरूको लामो शृंखलाको पछिल्लो उदाहरण मात्र हो।
रोयटर्सले सेप्टेम्बर २०२५ मा एक रिपोर्ट प्रकाशित गरेको थियो। सो रिपोर्टअनुसार ‘जी सेभेन’ सदस्य राष्ट्रहरू तथा युरोपेली संघले उत्पादनलाई प्रोत्साहन गर्न न्यूनतम मूल्य (प्राइस फ्लोअर्स) निर्धारण गर्ने विषयमा विचार गरिरहेका थिए।
यसै वर्ष जनवरीमा जी-७ (G-7) राष्ट्रहरु तथा अन्य प्रमुख अर्थतन्त्रका वित्त मन्त्रीहरू वाशिङ्टनमा भेला भए र वैकल्पिक दुर्लभ माटो (रिअर अर्थस्) आपूर्ति निर्माण गर्न मूल्यको न्यूनतम सीमा तथा नयाँ साझेदारीबारे छलफल गरे।
यी सबै प्रयासहरूको उद्देश्य दुर्लभ माटो (रिअर अर्थ्स्) को उत्पादन बृद्धि गर्नु भएपनि पश्चिमा परियोजनाहरूले सामना गरिरहेको मुख्य समस्या वित्तीय सहयोगको अभाव होइन, बरु ती परियोजनाहरूको कमजोर आर्थिक व्यवहारिकता हो।
कुनै पनि मूल्य सूचकांक त्यसबेला मात्र प्रभावकारी रूपमा सञ्चालन हुन सक्छ, जब त्यसलाई पर्याप्त बजार तरलता तथा सक्रिय खरिदकर्ता र विक्रेताहरूको समुदायले समर्थन गरेको हुन्छ ।
उनीहरुबीचको कारोवारले वास्तविक मूल्य निर्धारणलाई सम्भव तुल्याउँछ। चीनको बजार मूल्य स्वभाविक रूपमा विश्वव्यापी औद्योगिक शृंखलाका सहभागीहरूका लागि सन्दर्भ विन्दु बनेको छ।
पश्चिमी देशहरूमा मूल्य निर्धारण प्रणाली वा न्यूनतम मूल्य निर्माण गर्न देखिएको तीव्र उत्साहले दुर्लभ माटो (रिअर अर्थस्) परियोजनामा अप्ठेरो सिर्जना गरिरहेको वित्तीय समस्यालाई स्पष्ट रूपमा उजागर गर्छ। दुर्लभ माटो विकासका लागि ठूलो पूँजी आवस्यक पर्छ भने उत्तिकै उच्च जोखिमयुक्तपनि हुन्छ। यही कारण यो उद्योगको प्रकृति दीर्घकालीन प्रकृतिको हुन्छ।
स्रोतको खोजी तथा खानी उत्खननदेखि यसलाई खार्ने र उपयोगी तथा अनुपयोगी वस्तुहरु आपसमा छुट्याउनेसम्मको लामो औद्योगिक शृंखलाले दीर्घकालीन रुपमा निरन्तर पूँजी लगानीको माग गर्छ। साथै यस्तो उद्योग सञ्चालनमा उच्च जोखिमपनि हुन्छ।
तर बजारको पूँजी स्वभावतः नाफामुखी हुन्छ र अनिश्चितताको स्थितिबाट टाढा रहन खोज्छ। दुर्लभ माटो (रिअर अर्थस्) को आवस्यकता उन्नत उत्पादन, नयाँ ऊर्जा तथा रक्षा उद्योगका लागि रणनीतिक रूपमा अत्यन्त आवश्यक छ। तर बुझ्नुपर्ने तथ्य के हो भने यस्तो कच्चा पदार्थको बजार आफैंमा ठूलो भने छैन।
साथसाथै चीन विश्वका धेरै दुर्लभ माटो (रिअर अर्थस्) को प्रमुख स्रोत हो। चिनियाँ भन्सारका अनुसार २०२५ मा चीनको दुर्लभ माटो निर्यात ५११ मिलियन डलर पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले बढी हो।
यस्तो अवस्थामा पश्चिमा लगानीकर्ताहरूका लागि दुर्लभ माटो (रिअर अर्थस्) बजारको आकार तथा नाफाको सम्भावना दीर्घकालीन प्रतिफल सुनिश्चित गर्न पर्याप्त छैन।
यद्यपि केही पश्चिमी सरकारहरूले यसबारेमा सहयोग नीति तथा अनुदानपनि ल्याएका छन्। यी उपायहरूले छोटो अवधिमा लागतको केही भाग मात्र धान्न सक्छन्।
आजको परिस्थितिमा स्वतन्त्र पश्चिमी महत्वपूर्ण खनिज आपूर्ति शृंखला निर्माण गर्नु अत्याधिक घाटाजनक हुनसक्ने वास्तविकता यसले परिवर्तन गर्न सक्दैन। भू-राजनीतिक कारणले व्यावसायिक प्रतिस्पर्धात्मकता नभएको आपूर्ति शृंखलामा निजी पुँजी लगानी हुँदैन। यदि कुनै उद्योग खुला बजारमा आफ्नै खुट्टामा उभिन सक्दैन भने दीर्घकालीन सरकारी आर्थिक सहयोगमा भर पर्नु आजको अस्थिर विश्वमा स्पष्ट रूपमा जोखिमपूर्ण हुन्छ।
सैद्धान्तिक रूपले हेर्ने हो भने, न्यूनतम मूल्य निर्धारणले उत्पादकहरूलाई न्यूनतम प्रतिफलको ग्यारेन्टी दिन सक्छ, तर त्यसका दुष्प्रभाव पनि उल्लेखनीय हुनेछन्। अर्थात् मूल्य कृत्रिम रूपमा बढ्न सक्छ।
यसरी कच्चा पदार्थको मूल्य कृत्रिम रूपमा बढाइँदा प्रत्यक्ष रूपमा तल्लो तहका उत्पादकले गर्ने उत्पादको लागत बढ्नेछ र यसले विश्व बजारमा उनीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर बनाउनेछ।
त्यसैले, पश्चिमी पक्षहरुले ठानेजस्तो दुर्लभ माटो (रिअर अर्थस्) क्षेत्रको मूल समस्या मूल्य निर्धारण गर्ने नियमहरूको अभाव होइन, बरु समग्र औद्योगिक क्षमताको कमजोरी हो।
दुर्लभ माटो (रिअर अर्थस्) आपूर्ति शृंखलामा चीनको विशेष स्थान उसको पूर्ण औद्योगिक संरचना, परिपक्व प्रशोधन प्रविधि तथा दशकौँको औद्योगिक विकासबाट निर्माण भएको दीर्घकालीन लागत लाभमा आधारित छ।
यस्तो बलियो औद्योगिक प्रतिस्पर्धात्मकतालाई केही वित्तीय परिवर्तन वा मूल्य समायोजनले मात्र प्रतिस्थापन वा उल्ट्याउन सक्दैन।