चीन-अमेरिका शिखर सम्मेलन : चीनको ‘राष्ट्रप्रमुख केन्द्रित कूटनीति’ को उत्कृष्ट उदाहरण हाराल्ड ब्रुनिङ

राष्ट्रप्रमुख केन्द्रित चिनियाँ कूटनीतिको उत्कृष्ट उदाहरण थियो, गत साता बेइजिङमा चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको दुईदिने शिखर सम्मेलन। चिनियाँ विदेश नीतिको ‘एंकर’ (लंगुर, अर्थात् पानी जहाज बिसाउने ठाउँ)जस्तै हो यो, जसको उद्देश्य अशान्त र अनिश्चित विश्व परिवेशमा स्थिरता, निश्चितता र सन्तुलन प्रदान गर्नु हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका क्रममा ‘ग्रेट हल अफ द पिपुल’ मा दुई राष्ट्रप्रमुख तथा उनीहरूका प्रतिनिधिमण्डलबीच करिब तीन घण्टा लामो औपचारिक बैठक भयो। यसबाहेक अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिनिधिमण्डलका लागि आयोजना गरिएको स्वागत भोज र चिनियाँ दर्शकहरुले भरिएको टेम्पल अफ हेभेनको भ्रमण पनि राष्ट्रपति ट्रम्पको भ्रमण कार्यक्रममा समावेश थियो।

झोङनानहाइ परिसरको भ्रमणका क्रममा विश्वका सबैभन्दा ठूलो अर्थतन्त्रका राष्ट्रपतिहरूले सँगसँगै हिँडेर आपसमा कुराकानी गर्दै समय बिताए। यस्तो अवसर कुटनीतिमा भ्रमणरत राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूलाई विरलै प्रदान गरिने ‘दुर्लभ सम्मान’ का रुपमा लिइने गरिन्छ।

निस्सन्देह अमेरिका–चीन सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो। यसर्थ कि, यी दुई मुलुकबीचको सम्बन्धले विश्वको राजनीतिक, आर्थिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रमा भइरहेका लगभग सबै गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्दछ।

राष्ट्रपति ट्रम्पसँग वार्ताको सुरुआत गर्दै राष्ट्रपति सीले चीन र अमेरिकाले तथाकथित ‘थ्युसिडिड्स ट्र्याप’ पार गर्न सक्छन् कि सक्दैनन् र प्रमुख शक्तिहरूबीच सम्बन्धको नयाँ ढाँचा निर्माण गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठाए।

अपेक्षाकृत यो नयाँ शब्द (थ्युसिडिड्स ट्र्याप) सन् १९८० मा अमेरिकी उपन्यासकार हर्मन औकले एक व्याख्यानका क्रममा प्रयोग गरेका थिए। त्यसको दशकौँपछि अमेरिकी राजनीतिशास्त्री ग्राहम एलिसनले यसलाई थप चर्चित बनाए।

पछिल्लो एक दशकमा चीन–अमेरिका सम्बन्धको विश्लेषणका लागि विद्वान् र पत्रकारहरूले ‘थ्युसिडिड्स ट्र्याप’ शब्दको प्रयोग अक्सर गर्दै आएका छन्।

कतिपय अवस्थामा यसको गलत व्याख्यासमेत हुन गरेको छ।

तर वार्ताका क्रममा राष्ट्रपति सीले स्पष्ट र प्रभावशाली रूपमा भनेका थिए कि, जबसम्म चीन र अमेरिका पारस्परिक सम्मान र दुबै पक्षलाई लाभ हुने सहकार्यको भावनामा कायम रहन्छन्, तबसम्म उनीहरू अवस्यपनि ‘थ्युसिडिड्स ट्र्याप’ पार गर्न सक्षम हुनेछन्।

रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने विषयमा भएको सहमति नै दुई शीर्ष नेताबीचको भेटवार्ताको सबैभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धि हो।

यो द्विपक्षीय सम्बन्धका लागि एक नयाँ दृष्टिकोणपनि हो।

चिनियाँ कूटनीतिमा ’रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण’ गर्ने विषय अपेक्षाकृत नयाँ अवधारणा भएपनि शिखर सम्मेलनका क्रममा यसले विशेष महत्व पायो।

यो शीतयुद्धकालीन ‘रणनीतिक स्थिरता’ को परिभाषाबाट विकसित भएको अवधारणा हो, जुन उतिबेला मुख्यतः ‘आणविक प्रतिरोध’ मा केन्द्रित थियो।

मेरो अपेक्षा छ, अन्य मुलुकहरुले पनि यो ऐतिहासिक शिखर सम्मेलनलाई गम्भीरतापूर्वक लिनेछन्, विशेष गरी ब्रसेल्स र युरोपेली संघका केही सदस्य राष्ट्रहरूले। र, सही निष्कर्ष निकाल्नेछन्– ताइवान चीनको अभिन्न हिस्सा हो भन्ने तथ्यलाई स्वीकार गर्नेछन् र ताइवानलाई चीनको आन्तरिक मामिला मान्नेछन्।

राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा दुबै मुलुकले आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि सकारात्मक उपलब्धि हासिल गरेका छन्। यसमा व्यापार तथा लगानी सहकार्यमा रहेका आ–आफ्ना चासो र मुद्दा सम्बोधन गर्न व्यापार तथा लगानी परिषद् स्थापना गर्ने निर्णय पनि समावेश छ।

यसबाट पुन प्रष्ट हुन्छ कि, चीन र अमेरिकाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध दुईतर्फी मार्ग हो र यसले नै निरन्तर परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय व्यापारको संसारमा दुबै पक्षलाई फाइदा पुर्‍याउन सक्छ।

सबैभन्दा महत्वपूर्ण कुरा दुबै मुलुकको भविष्य र समग्र विश्वका लागि समेत कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा उनीहरू निर्विवाद रुपमा अग्रणी हुनु हो। यो पंक्तिकार दृढ रूपमा विश्वास गर्छ कि ‘एआई’ मानव इतिहासकै सबैभन्दा महत्वपूर्ण आविष्कार हो। ‘एआई’ को विकासले मानव सभ्यतामा अहिलेसम्म सम्भव भएका औद्योगिक क्रान्तिमध्ये सबैभन्दा गहिरो प्रभाव पार्ने क्रान्तिको प्रतिनिधित्व गर्छ। यद्यपी हामी अहिले यसको सुरुआती विकासको चरणमा छौँ।

‘एआई’ को सन्दर्भमा अग्रपंक्तिमा रहेका मुलुकहरुले भविष्यमा लगभग सबै पक्षलाई आकार दिनेछन् भन्ने यो पंक्तिकारको अनुमान छ। यही कारण म दृढतापूर्वक विश्वास गर्छु कि, चीन र अमेरिका अझै लामो समयसम्म विश्व नेतृत्वमा रहनेछन्।

यो यस्तो क्षेत्र पनि हो– जहाँ चीन, अमेरिका र ‘एआई’ मा दक्षता हासिल गरेका विश्वका अन्य मुलुकहरुले सहकार्यलाई अझ बलियो बनाउनुपर्छ, ताकि मानवद्वारा आविष्कार गरिएको यो सबैभन्दा शक्तिशाली साधनबाट मानिसहरुले विना हानी लाभ प्राप्त गर्न सकुन्।

म ‘यथार्थवादी आशावाद’ का साथ यो पनि म भन्न सक्छु कि, चीन–अमेरिका सम्बन्धले नयाँ दिशा समातेको छ। तर दुबै पक्षले अपेक्षित सम्बन्धलाई सावधानीपूर्वक विकसित गर्नुपर्नेछ र त्यसका लागि पारस्परिक सम्मान र विश्वास अनिवार्य सर्त हुनेछन्।

(लेखक अन्तर्राष्ट्रिय मामिलाका पर्यवेक्षक हुन्, हामीले यो सामाग्री पिपुल्स डेलीको अनलाइन संस्करणबाट बाट लिएका हौँ।)