प्रधानमन्त्री बालेन्द्र शाहले विश्वमा शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (१२ जेठ) काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा शाहले उपरोक्त कुरा बताएका हुन्।
विश्वका विभिन्न भू–भागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको उल्लेख गर्ने क्रममा शाहले विश्व शान्तिका लागि संवाद, कुटनीति र अन्तर्राष्ट्रिय कानूनको पालनामा जोड दिएका हुन्।
नीतिगत निरन्तरताको वकालत
राजदूतहरुसँगको यो प्रधानमन्त्री शाहको दोस्रो संयुक्त भेटघाट हो। यसअघि २५ चैत्रमा उनले काठमाडौँस्थित विभिन्न मुलुकका आवासीय राजदूतहरुसँग संयुक्त भेटवार्ता गरेका थिए।
यसपटकको भेटवार्ताका लागि विभिन्न २९ मुलुकका आवासीय तथा गैरआवासीय राजदूतहरुलाई निम्त्याइएको थियो।
सामुहिक भेटमा प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको पनि बताएका थिए।
त्यसक्रममा प्रधानमन्त्री शाहले वर्तमानको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको उल्लेख गरे।
नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको उल्लेख गर्दै शाहले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे।
‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन’ उनको भनाई थियो, ‘नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।’

नेपालको सुशासन र अर्थतन्त्रको समावेशी बृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउँदै उनले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्ने प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दीगो विकास हासिल गर्न प्रतिवद्ध रहेको उल्लेख गरे।
नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिनेपनि त्यसक्रममा स्पष्ट पारे। उनको भनाई थियो, ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ।’
नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गरेका थिए। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको रहेको उनले स्पष्ट पारे।
के भने राजदूतहरुले?
भेटका लागि काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरु तथा काठमाडौँस्थित अन्य राजदूतहरू सहभागी थिए। उनीहरुले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए।
सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री शाहलाई राजदूतहरुले बधाई ज्ञापन गरेका थिए।
आर्थिक बृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि उनीहरुले उल्लेख गरे।