विदेशी राष्ट्राध्यक्षहरुको बढ्दो बेइजिङ भ्रमण र विश्वव्यापी सहकार्यबारे चिनियाँ दृष्टिकोण

हालैका दिनहरुमा चीनको कूटनीतिक सक्रियताले उल्लेखनीय गति लिएको छ। मे महिनायतामात्रै ताजिकिस्तान, संयुक्त राज्य अमेरिका, रुस, पाकिस्तान र सर्वियाका राष्ट्रप्रमुखहरूले चीन भ्रमण गरेका छन्। बितेका ६ महिनामा फ्रान्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य, जर्मनी, स्पेन, भियतनाम लगायत धेरै देशका नेता चीन आइपुगेका छन्।

चीनको यो सक्रिय कूटनीतिक गतिविधिले पश्चिमी शक्तिशाली राष्ट्र, ग्लोबल साउथका मुलुक, छिमेकी राष्ट्र र विश्वभरिका साझेदारहरूलाई समेटेको छ। चीनसँग सम्बन्धित यस्ता उच्चस्तरीय आदान–प्रदान अहिलेको अन्तर्राष्ट्रिय कूटनीतिमा सबैभन्दा प्रमुख प्रवृत्तिमध्ये एक बनेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘चीनले विश्वमञ्चमा तीन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन्। ती हुन्, विभिन्न पक्षलाई जोड्ने कूटनीतिक पुल, विकासका ढाँचा उपलब्ध गराउने शक्ति र विश्व रणनीतिक सन्तुलन कायम राख्ने स्थिरकर्ताको भूमिका।

केही महिनायता विश्वका नेताहरू निरन्तर बेइजिङ भ्रमणमा आइरहेका छन्। यी भ्रमणहरू व्यापारिक हितसँगै अनिश्चित विश्वमा भरपर्दो साझेदारको खोजीबाट प्रेरित छन्।

विदेशी सञ्चारमाध्यमहरूले बेइजिंगको यो कूटनीतिक सक्रियतालाई सहकार्यको दृष्टिकोणबाट हेरेका छन् र चीनलाई विश्वासिलो तथा स्थिर साझेदारका रूपमा चित्रण गरेका छन्।

यसरी व्यापक रुपमा निर्माण भएको मान्यता संयोग मात्र होइन। यसले अन्तर्राष्ट्रिय समुदायमा बढ्दो सामुहिक सहमति र ठोस उपलब्धिहरूको परिणाम झल्काउँछ।

सहकार्य गर्ने इच्छा महत्त्वपूर्ण हुन्छ, तर त्यसलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने क्षमता अझ बढी महत्त्वपूर्ण मानिन्छ। चीनको सबल ‘सहकार्य क्षमता’ यहाँनिर प्रतिविम्वित हुन्छ, जुन साझा आकांक्षालाई व्यवहारिक उपलब्धिमा बदल्नु हो।

विदेशी नेताहरूको निरन्तर चीन भ्रमणले फेरि एकपटक चीनको यही क्षमता पुष्टि गरेको छ।

यो क्षमता चीनको स्थिर विकासको गतिबाट आएको हो। यस वर्ष चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) सुरु भएको छ। ‘उच्च गुणस्तरीय विकास’ लाई अघि बढाउँदै चीनले उच्चस्तरीय खुलापनलाई अझ विस्तार गरेको छ र विश्व समक्ष अवसरहरूको स्पष्ट र फराकिलो सूची प्रस्तुत गरिरहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिंग र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको भेटमा राष्ट्रपति सीले ट्रम्पसँगै आएका अमेरिकी व्यवसायीहरूलाई चीनसँग सहकार्य बृद्धिका लागि प्रोत्साहित गरे। साथै चीनले आफ्नो ढोका अझ फराकिलो बनाउँदै लैजाने विषयमा जोड दिए।

चीनस्थित अमेरिकी च्याम्बर अफ कमर्सले सार्वजनिक गरेको ‘अमेरिकन बिजनेस इन चाइना’ श्वेतपत्रको पछिल्लो संस्करणअनुसार चीनमा सञ्चालनमा रहेका ५२ प्रतिशत अमेरिकी कम्पनीहरूले २०२५ मा नाफाको अपेक्षा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हुने अपेक्षा छ।

यस वर्ष विदेशी व्यापारिक नेतृत्वको चीन प्रवेशमा निरन्तर बृद्धि भएको छ भने देशभर ठूला विदेशी लगानीका परियोजना सुरु भएका छन्। धेरै विश्वव्यापी कम्पनीहरुले चीनमा गर्ने लगानी केवल ‘एक विकल्प’ मात्र होइन, बरु ‘रणनीतिक आवश्यकता’ बनिसकेको छ। स्थिर र निरन्तर विकासशील चीनले व्यवसायका लागि विश्वव्यापी रुपमा अझ धेरै अवसर सिर्जना गरिरहेको छ।

‘विभिन्नता स्वीकार गर्दै मेलमिलाप खोज्ने’ दर्शनबाट पनि आएको हो चीनको सहकार्य क्षमता। ‘टेम्पल अफ हेभन’ स्थित ‘प्रेयर फर गुड हार्भेस्ट्स’ हलअगाडि उभिएर राष्ट्रपति सीले ट्रम्पलाई ‘आकाश गोलो हुन्छ र पृथ्वी चारकुने हुन्छ’ भन्ने चिनियाँ परम्परागत अवधारणा र चिनियाँ जनताको विश्वदृष्टि तथा मार्गदर्शक दर्शनबारे व्याख्या गरेका थिए।

दक्षिण–पश्चिम चीनको सिचुआनस्थित तुचिंगियानस्थित हुआइगु प्याभिलियनमा सी र भ्रमणरत फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याकोंनले बगिरहेको पानीको छेउमा बसेर चिया पिउँदै मानव र प्रकृतिबीच सन्तुलन कायम गर्ने चिनियाँ प्राचीन ज्ञानबारे चर्चा गरे र ठूला राष्ट्रहरूबीचको सम्बन्धबारे विचार आदान–प्रदानपनि गरेका थिए।

चीनले गुटगत टकरावको खोजी गर्दैन, न त वैचारिक विभाजनको रेखा कोर्छ। यसको साटो चीनको रुचि र भूमिका सभ्यताहरुबीचको संवादमार्फत् समझदारीको पुल निर्माणमा छ, जसले फरक खालका राजनीतिक प्रणाली र संस्कृति अवलम्बन गरेका मुलुकहरुलाई पारस्परिक सम्मानका आधारमा सहकार्य गर्न सक्षम बनाउँछ।

आपसी भिन्नतालाई पर राखेर साझा जीतमा केन्द्रित हुने यही दृष्टिकोण नै अहिलेको अशान्त विश्वमा चीनले दिने स्थिरताको मार्गचित्र हो।

चीनको सहकार्य गर्ने क्षमता बहुपक्षियताप्रतिको प्रतिबद्धता र ठूलो राष्ट्रका रूपमा उसको जिम्मेवारीबोधमा समेत झल्किन्छ। विश्वमा अस्थिरतामा बृद्धि भइरहेको छ। एकपक्षीयता र प्रभुत्ववादले गम्भीर चुनौती सिर्जना गरिरहेको छ। र, अन्तर्राष्ट्रिय सम्बन्ध ‘जसको शक्ति, उसकै शासन’ तर्फ फर्किने जोखिम बढेको छ। यस्तो अवस्थामा ऐक्यबद्धता र सहकार्य अन्तर्राष्ट्रिय समुदायको पहिलो आवश्यकता बनेका छन्।

विश्वलाई आज पहिलेभन्दा अझ बढी यस्ता ठूला मुलुकहरुको आवश्यकता छ, जसले समानता, कानूनी शासन, सहकार्य र विश्वासको रक्षा गरून्, तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्थाको दृढतापूर्वक संरक्षण गरून्।

चीन र रूसले हालै बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनबारे संयुक्त वक्तव्य जारी गरेका छन्। दुबै पक्षले अन्य क्षेत्रमा २० वटा सहकार्य सम्झौतासमेत गरेका छन्।

यसले विश्व रणनीतिक सन्तुलन कायम राख्ने र अन्तर्राष्ट्रिय सम्बन्ध प्रणाली सुधार्ने प्रतिबद्धता झन् स्पष्ट पारेको छ।

चीनले निरन्तर वास्तविक बहुपक्षीयताको अभ्यास गर्दै आएको छ, अन्तर्राष्ट्रिय व्यवस्थाको दृढ समर्थन गरेको छ र घरेलु (आन्तरिक) सुशासनमार्फत् विश्व शासन सुधारमा योगदान पुर्‍याएको छ।

विदेशी नेताहरूको चीन भ्रमणको लहरले चीनको स्पष्ट अडान र जिम्मेवार भूमिकाप्रति अन्तर्राष्ट्रिय मान्यता बढिरहेको देखिन्छ। यस्तो सहकार्यले द्विपक्षीय सम्बन्ध मात्रै होइन, विश्वलाई पनि लाभ पुर्‍याउनेछ।

विश्वभर ‘पूर्वतर्फ हेर्ने’ प्रवृत्ति साझा बुझाइ बन्दै गएको छ। सहकार्यका सन्दर्भमा चीनको क्षमता विश्वका लागि अत्यावश्यक स्रोत बन्दै गएको छ र सहकार्यमार्फत् चीनले ल्याउने अवसरहरू मूल्यवान् तथा दुर्लभ विश्वव्यापी सार्वजनिक सम्पत्ति बनिरहेका छन्।

तथ्यहरू आफैं बोल्छन्, .चीनसँग साझेदारी गर्नु भनेको अवसरलाई अँगाल्नु हो। स्थिरताको पक्षमा उभिनु भनेको इतिहासको सही दिशामा उभिनु हो। उथलपुथल र परिवर्तनले भरिएको यो युगमा चीन खुलापन, समावेशिता, पारस्परिक लाभ र साझा जीतको सहकार्यप्रति प्रतिबद्ध रहनेछ र आफ्नै स्थिर विकासमार्फत् विश्वलाई अझ बढी स्थिरता र सकारात्मक ऊर्जा प्रदान गर्नेछ।