अमेरिकी शुल्कको मारपछि चीनमा झिँगे माछा बेच्ने योजना बनाउँदै इण्डोनेशिया

  • २०८२ श्रावण २२, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात शुल्कले वाशिङ्टन डीसीबाट १६ हजार किलोमिटर टाढा रहेको इन्डोनेसियाको जाभा टापुको दक्षिण–पश्चिमी भागमा रहेको झिँगे माछा उत्पादन फार्म विस्तार गर्ने डेनी लियोनार्डोको योजनालाई अस्तव्यस्त बनाइदिएको छ।

आफ्नो १ सय ५० पोखरी भएको फार्ममा लियोनार्डाेले थप १०० नयाँ पोखरी थप्ने योजना बनाएका थिए। तर अप्रिलमा ट्रम्पले थप शुल्क लगाउने धम्की दिएपछि अमेरिकी अर्डर घट्न थाल्यो, जसका कारण लियोनार्डाेले आफ्नो फार्म विस्तार गर्ने योजना पुनर्विचार गर्नुपर्‍यो।

यद्यपि सहमति अनुसार जुलाईमा लागु १९ प्रतिसत अतिरिक्त शुल्क पहिलेको ३२ प्रतिशत अतिरिक्त शुल्क भन्दा कम हो। तरपनि लियोनार्डोआफ्नो व्यापारमा परेको असरको हिसावकिताव गर्दैछन्।

‘अमेरिकाले इन्डोनेसियाको निर्यातमा दबाब दिँएकाले सबैले नयाँ अवसर खोजिरहेका छन्’ ३० वर्षीय च्याउरा किसान लियोनार्डोले जुलाईको घोषणापछि भने ‘अहिले सबैले अमेरिकी बजारमा निर्भरता घटाउने प्रयास गरिरहेका छन्।’

इन्डोनेसियाली झिँगे माछाको सबैभन्दा ठूलो बजार हो– संयुक्त राज्य अमेरिका, जसले गत वर्ष इन्डोनेसियाबाट निर्यात गरिएको १.६८ अर्ब डलरमध्ये ६० प्रतिसत अमेरिका गएको थियो।

इन्डोनेसियाको झिँगे माछा किसान संघका प्रमुख अन्दी ताम्सिलका अनुसार १९ प्रतिसत शुल्कले गर्दा २०२५ मा झिँगे माछा निर्यात ३० प्रतिसतले घट्न सक्छ। यसले गर्दा १० लाख कामदारको जीविकोपार्जन जोखिममा पर्नेछ।

इन्डोनेसियाली समुद्री उत्पाद व्यवसायीहरूको संघका प्रमुख बुधि विबोवोका अनुसार, यद्यपि जुलाईको सहमतिपछि केही राहत हुनेजस्तो देखिएपनि अधिकांश अमेरिकी ग्राहकहरूले झिँगे माछा खरिद कार्यलाई रोकेका छन्इ।

‘नयाँ अतिरिक्त शुल्क दरले इन्डोनेसियालाई इक्वेडरसँग प्रतिस्पर्धा गर्न कठिन बनाएको छ’ उनी भन्छन्, ‘झिँगे माछामा अमेरिकी शुल्क १५ प्रतिसत मात्र छ।’

चीन विश्वको सबैभन्दा ठूलो झिँगे माछा आयातकर्ता हो, तर राम्रो मूल्य पाइने भएकाले इन्डोनेसियाली निर्यातकर्ताहरू अमेरिका रोज्ने गर्थे।

अमेरिकाबाट अतिरिक्त शुल्क लगाइनुअघि चीनले इन्डोनेसियाबाट जम्मा २ प्रतिसतमात्र झिँगे माछा आयात गर्थ्यो।

अब भने एण्डोनेशियाको झिँगे माछा उत्पादन उद्योगले चीनका ग्राहकहरूसँग आफ्नो उत्पादन प्रवर्द्धन गर्न निकै प्रयास गरिरहेको छ।

किसान संघका प्रमुख ताम्सिलले गत जुनमा इण्डोनेशियाली उद्योग प्रतिनिधिहरूसँगै चीनको दक्षिणी शहर ग्वाङ्जाउ भ्रमण गरेका थिए। त्यसक्रममा आयातकर्ता, रेस्टुरेन्ट मालिक र कृषि(कमर्श प्लेटफर्महरूसँग भेटघाट भयो। आगामी दिनहरूमा थप भ्रमणको योजना बनाइएको छ।

‘चीनले झण्डै १० लाख टन झिँगे माछा आयात गर्छ’ उनी भन्छन्, ‘कल्पना गर्नुहोस्, यदि हामीले चीनको आयात बजारको २० प्रतिसतमात्र लिनसक्यौँ भने कति हाम्रा लागि कति ठूलो अवसर हुन्छ!’

समुद्री उत्पाद संघका बुधिका भनाईमा, इन्डोनेसियाले चीनबाहेक मध्यपूर्व, दक्षिण कोरिया, ताइवान र युरोपेली संघमा पनि निर्यात विस्तार गर्न सक्छ। विशेष गरी जकार्ताले ब्रसेल्ससँग मुक्त व्यापार सम्झौता गर्न लागेको यसको सम्भावना रहेको उनले बताए।

यो स्थितिमा चीनसँग व्यापार हुन सक्यो भने आफ्नो बुबाबाट पाएको व्यापारको विरासत टिकाइराख्न सक्नेमा लियोनार्डाे आशावादी छन्। तर, पहिलेजस्तो छिट्टै स्थिति सुध्रिहाल्ने आशा भने उनलाई छैन।

उनी भन्छन्, ‘तैपनि म विश्वस्त छु कि मेरो कम्पनी जोगिन सम्भव हुनेछ। किनकि माग र आपूर्तिको चक्र चलिरहन्छ। तर, फार्म विस्तार विषयमा भने म त्यति आशावादी छैन।’

  • २०८२ श्रावण २२, बिहीबार