धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला ओझेलमा  

  • २०८२ श्रावण २४, शनिबार

पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्या गरिएको छ।

तर धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको यो क्षेत्र ओझेलमा परेको छ।

पूर्वाधार र प्रचारप्रसारको कमीले जलजला क्षेत्र ओझेलमा परेको हो ।

कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्रा डा जगन्नाथ रेग्मीका अनुसार, हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख छ।

‘पौराणिक वाङ्मयले मुक्तकण्ठले प्रशंसा गरेको कालञ्जरको मुख्य केन्द्र विकासका दृष्टिले अझै पनि पछाडि पर्नुमा प्रचारप्रसारको अभाव, दुर्गम भौगोलिक अवस्थिति, सडक यातायातको असहजता, मानव बस्तीदेखि टाढा रहनु, प्राकृतिक, भौगोलिक एवं पौराणिक पहिचानका अभिलेख र स्रोतबाहेक कुनै लिखित दस्तावेज नपाइनुलगायत कारण छन्’ प्रा. डा. रेग्मी भन्छन्, ‘यहाँका कतिपय प्राचीन मन्दिर, सत्तल गुफा र ओढारहरू संरक्षणको अभावमा नामशेष हुन लागेका छन्।’

उनका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ। यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ।

जलजलामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मोदी गाउँपालिका–४ लेसपारका टीका पुनले जलजलाको सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमै सीमित हुँदा पर्यटक तथा भक्तजनको आगमन हुन नसकेको बताउँछन्।

‘शरद र वसन्तयाममा फाट्टफुट्ट पदयात्री तथा महायज्ञ सञ्चालन भएको समयमा भक्तजनहरू आउने गरेका छन्’ उनले भने, ‘अन्य समयमा जलजला सुनसान हुन्छ।’

समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ। खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ।

दुई दशकअघिसम्म जलजला र मोदी गाउँपालिकाका बासिन्दाले यहाँ बर्खामा गाईभैंसीको गोठ लैजाने गर्दथे। पछिल्लो समय गोठ लैजाने चलन हराएको छ।

जलजलाबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने वाइफाई डाँडाबाट अन्नपूर्ण र ३० मिनेटको पदयात्रामा पुगिने माटेको लेकबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ।

कुश्माबाट जलजला घुम्न आएका गोविन्द शर्माका भनाईमा हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको मनमोहक दृश्यावलोकन गर्दा यात्राको थकान मेटिन्छ।

बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिम्मुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो। यहाँको पाखामा मृगको बथान भेटिन्छन्। डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पन्छी अवलोकन गर्न पाइन्छ।

पर्वतको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार, यहाँको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ’ उपाध्यक्ष दीपक आचार्य भन्छन्, ‘विद्युत् सुविधा पुर्याइएको जलजलाको धार्मिक महत्वको उजागर गराउन महायज्ञ सञ्चालन भएको छ।’

उनका अनुसार, सङ्घीय सरकारले जलजलाको पर्यटन पूर्वाधारका लागि रु तीन करोड बजेटको योजना कार्यान्वयनको तयारी गरेको छ।

बेनीबाट लेकफाँटसम्मको सडक हालै कालोपत्र भएको छ। लेकफाँटबाट शालिजा हुँदै जलजला जोड्ने सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग माग गरेको छ।

प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाइ डाँडामा आश्रयस्थल बनाएको छ। जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार मुस्ताङ र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई जलजलामा भित्र्याउने लक्ष्यसहित धाइरिङको भूमेथानमा पूर्वाधार निर्माण थालिएको, गौशाला सञ्चालन गरिएको छ भने त्यहाँदेखि जलजला, फलामेडाँडा, मल्लाज, राममन्दिरलाई समेटेर धार्मिक करिडोरको अवधारणा अघि सारिएको छ।

अध्यक्ष आचार्य भन्छन्, ‘सडकका कारण छोटिएको अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन घोडेपानी–मोहरेडाँडा–जलजला–माटे– मोदी र बनौ–कुश्मा जोड्ने पदमार्गमा पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जोड दिइएको छ।’

  • २०८२ श्रावण २४, शनिबार