विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर। २०७२ बैशाखको भूकम्पले कुमारी घरलाई पनि क्षति पुर्यायो।
यति महत्वपूर्ण सम्पदाको पुननिर्माण तत्काल गरिनुपर्ने हो। तर, अझैसम्मपनि पाल र टेकोको भरमा छ।
यस वर्षको वर्षात् सुरू भएसँगै कुमारी घरभित्र पानी छिर्न थाल्यो। त्यसपछि पुरातत्व विभागले पालले कुमारी घरमा ओत लगाएको हो।
विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई बताएअनुसार, गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने योजना बनाइएको छ।
प्रधानमन्त्रीको निर्देशनसमेत अटेर
इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन्।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार दश वर्षअघिको भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरेका थिए। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर प्रधानमन्त्री कोइरालाले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएको व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजा नै छ।
देशका कार्यकारी प्रमुखले दिएको निर्देशन समेत कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो।
कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरेका थिए।
तीनवटै निकायले एक–एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा समेत भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुननिर्माणमा चासो देखाएका छैनन्।
सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरूआत मल्लकालमा भएको थियो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको अध्यक्ष शाक्य बताउँछन्। त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन।
करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ। जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको हो।
भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ।
‘भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो’ शाक्य भन्छन्, ‘भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन।’
जीवित देवीका रूपमा पुजा गरिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू हुन सकेन।
काठमाडौँ महानगरपालिका–२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजिएको तर बजेट अपुग भएपछि काम सुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ।
महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो। पुनर्निर्माणका लागि रु तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसबेला पनि काम सुरू हुन सकेन।
पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन्।
वर्षमा १३ पटक निस्किन्छन् कुमारी
कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ। इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ।
बडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ। रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ।
चैते दसैँकै बेला हुने सेतो मच्छेन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ। माघ महिनामा हुने सेतो मच्छेन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छेन्द्रबहाल लैजाने परम्परा छ।
गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ। गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ।
माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ।
गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ।
आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ।
यसैगरी घोडेजात्राका क्रममा कुमारीलाई नेपाल वायु सेवा निगम भवनको तेस्रो तलामा लगेर राखी जात्रा देखाउने परम्परा रहिआएको छ।
स्मरणीय छ, विसं २०६५ मा कुमारी परम्परा सुरू भएको दुई सय ५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको थियो।