टिकटक र फेसबुकका रिल्समा देखिने ढोरपाटनको सुन्दरताले धेरैलाई मोहित बनाउँछन्। तर, सुन्दरता खोज्दै ढोरपाटन हिँडेका पर्यटकहरु भने त्यहाँ पुग्नुपर्दाको सास्तीले सम्झनपनि चाहँदैनन्।
बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै, अनेक सास्ती बेहोर्दै पर्यटकहरु जब ढोरपाटन पुग्छन्, त्यहाँको प्राकृतिक दृश्यले उनीहरुको कष्टकर यात्रा बिर्साउँछ।
दिनदिनै बढ्दै गइरहेको र सयौँथरिका बुकी फूलका कारण ढोरपाटने पर्यटकलाई लोभ्याउँछ। पर्यटकका कारण घरबास र होटलहरु फस्टाउँदै आएका छन्।
सिकार आरक्षले पनि राजश्व सङ्कलन गरिरहेको छ। महँगो मूल्यमा नाउर झारलको सिकार गर्न सकिने ढोरपाटनमा कतिपय विदेशी पर्यटक हेलिकप्टरबाट पुग्ने गरेका छन्।
पुग्न कठिन, पुगेपछि आनन्दित
खाल्टाखुल्टी, उकालो र हिलाम्मे सडक पार गर्दै दैनिक सयौँ सवारीसाधन ढोरपाटनमा पुग्ने गर्छन्। राष्ट्रिय प्राथमिकताको सडक भएरसमेत बुर्तिबाङदेखि ढोरपाटनको सडकको अधिकांश स्थानमा स्तरोन्नति हुन सकेको छैन।
ढोरपाटनको बुकीपाटन घुम्न आएका बुटवलका सिजन परियारले ढोरपाटन पुग्दाको दुख र त्यहाँ पुगेपछिको मनमोहक दृष्यको तुलना गरे।
‘ढोरपाटन उपत्यकामा मोटरसाइकल राखेर एक दिन हिँडेर बुकी पाटन पुगियो, दृश्यले निकै लोभ्यायो’ परियारले भने, ‘ढोरपाटन आएपछि ढोरपाटन आउने दुःख बिर्सदो रहेछ, यति धेरै पर्यटक आउने सडकस्तरीय हुन आवश्यक छ ।ु
यसअघि बागलुङबाट चार दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्थ्यो। तर, २०७१ सालमा सडक पुगेपछि ढोरपाटन यात्रा एक दिनमा छोट्टियो।
तर पनि स्तरीय सडक नहुँदा पर्यटकको सास्ती भने घटेको छैन। पाँच वर्षयता हिउँदमा जेनतेन मिनी बस पुग्न थाले पनि बर्खा उक्त सडकमा यात्रुलाई निकै सास्ती हुने गरेको छ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायत ढोरपाटन पुग्ने सडक कालोपत्र गर्नसके ढोरपाटनमा थेगी नसक्नु पर्यटक पुग्ने बताउँछन्।
आरक्षले राजस्व उठाउने मात्रै काम गरेको बताउने उनी पर्यटकलाई उचित सूचना पनि दिने नगरेको बताउँछन्।
पटकपटकको प्रयासपछि हिउँदमा मिनीबस ढोरपाटन पुग्ने स्थिति त सिर्जना भएको छ, तर बर्खामा उकालो सडक हिलाम्मे भएपछि साना सवारीसाधनसमेत जान कठिन हुन्छ, त्यहाँ अहिले जिप र मोटरसाइकल मात्रै जान सक्छन्’ कायत भन्छन्, ‘बर्खा सकिँनासाथ सालझण्डी–ढोरपाटन सडक आयोजनामार्फत् सडक स्तरोन्नतिको काम सुरु गर्ने सहमति भएको छ। बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक कालोपत्र भयो भने ढोरपाटनले थेग्न नसक्ने पर्यटक आउने देखिन्छ।’
ढोरपाटन भ्रमणका लागि बर्सेनि २० हजारभन्दा बढी आन्तरिक पर्यटक सडक मार्गबाट पुग्ने गरेका छन्। दुई वर्षअघिसम्म गुमनाम रहेको बुकीपाटन र जलजलाजस्ता क्षेत्रमा अहिले पर्यटक ह्वातै बढेको छ।
छ हजार रुपियाँ खर्च गरेपछि पोखराबाटै ढोरपाटन पुग्न सकिन्छ। पोखराको महाशिला एडेभेन्चरले अहिले दिनमा चार वटा स्कोरपियो गाडी ढोरपाटनका लागि सञ्चालन गदै आएको छ।
महाशिला एडेभेञ्चर पोखराका सन्तोष देवकोटाका अनुसार दुई दिन एक रातको रु छ हजार र बुकी पुगेको तीन दिन दुई रातको रु आठ हजारमा पोखराबाट पर्यटकहरु पठाइने गरेको छ।
देवकोटाका अनुसार प्याकेजमा जाने पर्यटकलाई बुकीसम्म घोडामा झोला समेत लैजाने व्यवस्था समेत मिलाइएको छ।
पर्यटक संख्यामा बृद्धि
नेपालको एकमात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि बृद्धि भइरहेको छ। ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा एक वर्षमै आठ हजारले बृद्धि भएको छ ।
कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१र८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ।
ढोरपाटनमा सिकार खेल्नमात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन्।
ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीका अनुसार ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको छ।
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ। समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्।
ढोरपाटनको आकर्षण
ढोरपाटनको मुख्य आकर्षण यहाँका वनपाखालाई रङ्ग्याने गरी बर्खामा फुल्ने अनेकथरी फूलहरु हुन्।
आठ किमी लामो ढोरपाटन उपत्यकामा फुलेका रातो, सेतो, पहेला रङ्गका फूल बर्खामा ढोरपाटनको मुख्य विशेषता हो। विभिन्न रङमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्छ।
सुन्दर उपत्यकाका अलावा प्रसिद्ध ढोरबारही मन्दिर, ढोरपाटन सिकार आरक्षको सङ्ग्रहालय, निसेलढोर, जलजला र बुकीपाटन ढोरपाटनका मुख्य घुम्न लायक ठाउँ हुन्।
बर्खाको समय अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः हुनेगर्छ। तर बागलुङको ढोरपाटन पर्यटकले यसपटक गुल्जार बनेको छ।
ढोरपाटन उपत्यकामा फूलेका रङ्गीविरङ्गी बन फूलसँगै चरेका घोडाको दृश्यले पर्यटकको मन लोभ्याएको छ।
कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरी बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाडौँबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए।
राजवंशीका भनाईमा, ढोरपाटनको सौन्दर्यता बयान गरेर सकिदैन।
पाटनैभरि फूल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ। अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चार सुविधाले यहाँ आउन निकै सहज भएको छ।
गोठालाको उत्पादन गोठमै खपत
ढोरपाटनमा पर्यटक बढेपछि भैँसी र भेडी गोठाला उत्साहित भएका छन्। बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्न थालेको छ ।
पदमार्ग आसपास र बुकीपाटनमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। बुकीपाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यु तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो।
भैँसीपालन गरी उत्पादित घ्यू बिक्री गर्दै आएका बुकी पाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए।
स्थानीय गुमानसिंह कुमाइका भनाईमा, बुकीपाटन उक्लनेले बीचबाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी भएको छ। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको उनी बताउँछन्।
‘गोठस्टे’ सञ्चालन
पर्यटकलाई लक्षित गरी बुकीपाटनमा दुई वटा गोठस्टे ९गोठमा हुने बसाइँ० सञ्चालनमा रहेका छन्। अस्थायी रुपमा सञ्चालन गरिने ‘गोठस्टे’ असारदेखि असोजसम्म सञ्चालन गरिने हाइअल्टिच्युट तथा टेन्टस्टेका सञ्चालक मेहेन्द्र घर्तीमगरले बताए।
उनका अनुसार चार हजार मिटर उचाइमा पर्यटकलाई लक्षित गरी अस्थायी रुपमा भए पनि खाने र बस्ने सुविधा दिइएको छ। त्यहाँ सादा खानाको रु ५०० र मासुसहितको खानाको रु ८०० लिने गरिएको छ।
बुकीपाटनमा जाने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले गर्पाछेडामा दुई वटा गोठस्टे सञ्चालनमा ल्याइएको छ।
सिकारमा रमाउछन् विदेशी सिकारी
सिकारले प्रसिद्धि कमाएको ढोरपाटनमा सिकार खेल्न महँगो मूल्य तिरेर विदेशी सिकारी आउने गरेका छन्। वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशका धनाढ्य सिकारी सिकारमा रमाउन हेलिकप्टरमार्फत आउने गर्छन्।
रेञ्जर सुवेदीका अनुसार दोस्रो याममा ११ नाउर र सात झारलको सिकार भएको थियो।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो।
सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले एक आर्थिक वर्षमा दुई याममा अनुमति प्राप्त गर्दै आएका छन्। १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार नभएको सुवेदीको भनाइ छ।
ढोरपाटनमा हरेक वर्ष असोज–मङ्सिरमा पहिलो र फागुन–वैशाखमा दोस्रो याममा सिकार हुने गर्छ। सिकारयाममा अमेरिका, अर्जेन्टिना, स्पेन, फ्रान्सलगायत देशबाट सिकारी आउने गरेका छन्।
